एक सङ्गीतकर्मीको समाजसेवा
झापा जाँदा राजु चौधरीलाई निरन शाहीले एकपटक मात्रै भेटेका थिए । यी दुईलाई एउटा कुराले जोडेको थियो– सङ्गीत कर्म । बिर्तामोडको रेडियम ब्यान्डका गायक चौधरी उदीयमान सङ्गीतकर्मी थिए । यता शाही भने काठमाडौँको चर्चित ब्यान्ड अनुप्रस्थका फ्रन्टम्यान । सङ्गीत दुवैको प्यासन थियो । यही प्यासनले यी दुईलाई एउटै धागोमा उनेको थियो ।
निरन काठमाडौं फर्किएको केही समय भइसकेको थियो । कसैले उनलाई फोन गरेर राजुलाई ब्लड क्यान्सर भएको खबर सुनाए । ‘ल म अस्पताल आउँछु’ यति भन्दै उनी तत्काल राजुलाई भर्ना गरिएको अस्पताल पुगे । उनको स्वास्थ्य अवस्था नाजुक थियो । त्योभन्दा नाजुक उनको घरको आर्थिक स्थिति देखे । रोग लागेको थियो त्यस्तै अत्यासलाग्दो ।
अब के गर्ने होला ? उनको बाउँडिएको मनमा एकाएक बबन्डर आँधी चल्यो । ‘जसरी पनि सहयोग गर्छु’, एक प्रकारको हुटहुटी जाग्यो । तर कसरी गर्ने, के गर्ने ? अनभिज्ञ ।
कहिलेकाहीँ फेसबुकको वाल स्क्रोल गर्दा सहयोगको अपिलसहितको पोस्ट देख्थे । ‘ओहो, यस्तै पो गरूँ कि ?’ असमञ्जसपूर्ण स्थितिमा आशाको टुकी बल्यो ।
सहयोगको अपिल गर्दै राजुको स्थितिबारे बेलिबिस्तार गर्दै उनको फेसबुकमा पोस्टियो । यसको प्रतिक्रिया उनले असाध्यै राम्रो पाए, सहयोग रकम पनि जुट्न थाल्यो । त्यसपछि उनको मनमा आशाका तरङ्ग चल्न थाले । उनको नेतृत्वमा भएको सहयोग अभियानमा पछि द स्याडोज नेपालका गायक स्वप्निल शर्मालगायतका अन्य थुप्रै सङ्गीतकर्मी सम्मिलित भए ।
उपचारमा कुनै कमी नहोस् भनेर निरन, स्वप्निललगायत सङ्गीतकर्मीले झापालगायत नेपालको धेरैजसो शहरमा बस्किङ (स्वेच्छिक चन्दाका लागि सडक वा अन्य सार्वजनिक स्थानमा सङ्गीत बजाउने गतिविधि) गरे । त्यसमार्फत् पनि राम्रो रकम उठ्यो । उता राजु ब्लड क्यान्सरसँगको युद्ध लडिरहेका थिए, यता निरन, स्वप्निललगायतका सङ्गीतकर्मी राजुका सेनानी बने । धेरैले निरनलाई फोन गरेर उनको अकाउन्टमा रकम पठाइदिन्थे । सहयोगी मन देखेर निरन कतिपल्ट भावुक पनि हुन्थे । एउटा सङ्गीतकर्मीलाई समस्या पर्दा अन्य सङ्गीतकर्मीले आफ्नो दिलोज्यान दिएर सहयोग गरेको देख्दा उनलाई एक प्रकारले आफ्नो पेशामा गर्व पनि लाग्यो ।
उनीहरुको जोडबलमा राजुको उपचार अघि बढिरहेको थियो तर स्थिति सुध्रिनुको साटो थप नाजुक बन्दै गयो । सास रहुञ्जेल आश भनेझैँ फुल्न नपाई कलिलो कोपिला छँदैमा रोगको कुल्चाइमा परेका राजुलाई कसै गरी ब्लड क्यान्सरको पञ्जाबाट लुछेर उनीहरू उम्काउन चाहन्थे ।
तर राजु ढिलो गरी अस्पताल पुगेका रहेछन् । उनले किमो नै सहन सकेनन् । किमो चढाउँदै गर्दा उनको आँखाको ज्योति गुम्यो । निरनलगायतको समूहले राजुलाई ‘बोन म्यारो ट्रान्सप्लान्टेसन’का लागि भारत लैजाने निर्णय गरे । विभिन्न समस्याका बाबजुद उनलाई नाजुक अवस्थामा नै भारत पुर्‍याइयो । तर त्यहाँ पुगेको एक साता पनि बित्न नपाउँदै उनको निधन भयो । यो खबर सुनेपछि एकछिन अघिसम्म ‘के गर्ने, कसो गर्ने ?’ भनेर अतासिएको निरनको मनमा एकाएक शून्यता छायो ।
उनी कल्पिन्छन्, घुटुक्क थुक निल्छन्, निराश हुन्छन्, मुन्टो निहुराउँछन् र गहभरी आँसु पार्छन् ।
उनको बिथोलिएको चित्त फेरि एकपटक बलियो हुन खोज्छ र अब के त ? भनेर प्रश्नको जवाफ खोज्न थाल्छ । राजुको उपचारमा करिब ६० लाख जति उठेको थियो । जीवन त रहेन तर जीवन बचाउन गरिएको प्रयास महँगो थियो । आधा रकम यसैमा खर्च भयो । त्यसपछि भारतबाट राजुको शव नेपाल ल्याउने तयारीमा यी सङ्गीतकर्मी जुटे । शव आएपछि निरनलगायत राजुको घर पुगे । राजुको घर जाँदा उनीहरूले जे देखे, त्यसले उनीहरुको भक्कानिएको आँतलाई थप जलायो ।
अनि, घर बनाइ दिने सङ्कल्प
राजुको घर भन्नु जस्ताको टहरो मात्रै थियो । खासमा उनीहरूले राजुको सहयोगार्थ जुटेको रकम क्यान्सर बिरामीका लागि नै डोनेट गर्ने सोचेका थिए । तर निरनलाई राजुको सपनाको चिन्ता पर्यो । उनले भने, ‘राजुको सपना थियो होला नि, उनले सङ्गीत रोजे, सङ्गीतमा केही पाउने आशा पनि पक्कै थियो । त्यो आशालाई हामीले मर्न नदिने निर्णय गर्यौँ ।’
सङ्गीतकर्मी होउन् वा अन्य विभिन्न कर्ममा लागेका जो कोहीलाई पनि आफ्नो एउटा घर होस् भन्ने सपना हुन्छ । कतिलाई यही सपनाले नै डोर्याएको हुन्छ । यद्यपि, सबैको आफ्नै घरको सपना पुरा हुँदैन । राजुको परिवारलाई पनि सहयोग हुने र एक सङ्गीतकर्मीको पनि सपना साकार हुने । निरनलगायतले राजुको एउटा पक्की घर बनाइ दिने निर्णय गरे । भन्छन्, ‘भोलि सङ्गीतकर्ममा लाग्नेहरुलाई पनि ‘मरेर गएपनि सङ्गीतले सपना चाहिँ साकार बनाउँछ है’ भन्ने सन्देश पनि होस् भनेर यस्तो गर्ने निर्णय गर्यौँ ।’
राजुको जीवन बचाउन नसकेपनि जीवन पर्यन्त उनको सपना साकार बनाउन भने आफूहरु सफल भएको निरन बताउँछन्, ‘राजुको घर बन्न सुरु भइसकेको छ । उनको घर बनाउन पैसा बाँकी जोगिए त्यो चाहिँ हामीले क्यान्सरका बिरामीका लागि दान गर्नेछौँ ।’
एकजना सङ्गीतकर्मीले आफ्नो सबै ऊर्जाशील समय सङ्गीतमा खर्चेको हुन्छ । त्यसको सट्टामा उसले केही पाउन निकै नै सङ्घर्ष र मिहिनेत गर्नुपर्दछ । आफ्नो प्यासनबाट केही रिटर्न आउँदा त आफू र घर परिवारका लागि राम्रै होला तर केही रिटर्न आउनु अगावै संघर्षकै बेला परलोकमा ‘रिटर्न’ हुनुपर्ने अवस्था सिर्जित भए के होला ?
ऊसँग न त जीवन जोगाउन प्रयासका लागि आफैँले रकम खर्च गर्ने हैसियत हुन्छ, न घर–परिवारको भविष्य सुनिश्चित गरिदिने माध्यम । राजु चौधरी एक प्रतिनिधि पात्र हुन् । सङ्गीतलाई कर्म ठानेर निरन्तर यसैमा लागिरहने यस्ता हजारौँ राजु चौधरी छन्, जसलाई केही पर्दा संसारभरि छरिएका सङ्गीतप्रेमीको माया र सहयोगको खाँचो हुन्छ । राजुलाई यिनै सङ्गीतप्रेमीले सहयोग गरे, उनको सपना साकार पारे । उनका लागि राज्य कहिँ कतै देखिएन । सङ्गीत विधामा लाग्ने धेरैलाई सरकारले चिन्दैन, त्यसमाथि रक जनरा अँगाल्ने सङ्गीतकर्मीलाई त सरकारले मान्छे नै गन्दैन ।
राजु चौधरीलाई क्यान्सर भएको बेला निरनले क्यान्सर बिरामीका लागि सरकारले के गर्छ भनेर सर्च गरेका थिए । त्यतिबेला उनले क्यान्सर सोसाइटीमा फोन गरेर पनि बुझे । त्यहाँबाट उनले थाहा पाए कि बिरामीलाई सुरुमा सरकारी अस्पतालमा राख्नुपर्ने रहेछ । एकदेखि डेढ लाख जति सरकारले सहयोग गर्दो रहेछ । सुरुवातमा सरकारले दिने त्यही रकम पनि उनलाई असाध्यै धेरै लागेको थियो । ‘तर सरकारी अस्पतालमा बेड नै छैन रे,’ उनले पछि थाहा पाए । बेड पाउन पनि पावर चाहिन्छ भन्ने उनले गाइँगुइँ सुनेँ ।
निरन भन्छन्,‘राज्यले केही गर्ला भनेर कुर्न सक्ने राजु चौधरीको अवस्था थिएन र हामीलाई आश पनि थिएनँ । त्यसैले हामी सङ्गीतप्रेमीहरुले नै गर्नुपर्छ, हामीले सक्छौँ भनेर अग्रसर भएका हौँ ।’
आमाको आशीर्वचन
यसरी निरनका लागि सामाजिक क्रियाकलापमा लाग्न यो घटना नै कोसेढुङ्गाको रुपमा उभियो । हुन त उनले कोभिडको पहिलो लहरमा आइसीयुको बेडका लागि, अक्सिजनका लागि आफूले चिनेका व्यक्तिलाई फोन घुमाएर धेरैलाई सहयोग गरेका थिए । ‘त्यो बेलामा चाहिँ ह्वाइ नट, चिनेको मान्छेलाई फोन गर्ने त हो नि भन्ने भएको थियो । यत्ति गर्नाले पनि धेरैलाई सहयोग भएको थियो,’ उनले सुनाए ।
यता निरनकी आमालाई छोराले कलेज पढ्दा देखाउने व्यवहारले उनी समाजसेवामा नै जान्छन् भन्ने पक्का लागिसकेको थियो । कुनै व्यक्तिलाई आफ्नी आमाभन्दा अरु कसैले पनि राम्रो तरिकाले बुझेको हुँदैन ।
‘साथी भनेपछि घरको सम्पत्ति पनि बाँडेर हिँड्ने खालको स्वभाव निरनको । अरूलाई अति नै सेवा गर्ने । बरु आफूले गाली खान्छ तर उसले ‘मेरो साथी’ भन्न कहिले पनि छोड्दैन । सबैलाई सहयोग गर्ने, बाँडेर खाने, लुगासमेत किनेर दिने गर्दथ्यो । पहिला त खासै त्यसबारे थाहा थिएन तर पछिपछि मैले सबै थाहा पाएँ । ’ उनकी आमाले मधुर मुस्कानसहित भनिन् ।
‘१५–१६ वर्षदेखि नै उसले यस्ता खालका व्यवहार गर्दथ्यो । कलेजमा त साथीहरूले फी तिर्न नसक्दा अघि सर्दथ्यो । दुःखी मान्छेको सहयोग गर्ने । त्यति बेलादेखि नै यो समाजसेवामा जान्छ भन्ने लागेको थियो । मैले गाली गरिनँ । त्यो राम्रो पनि हो । सेवा गरेको धर्म हो नि,’ स–साना वाक्य जोडेर उनकी आमाले भनिन् ।
निरनकी आमा हामीसँग कुरा भएको अघिल्लो दिन मात्रै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । हामीले कुरा गर्न इच्छा व्यक्त गर्दा उनी क्यामरामा देखिनुपर्छ भनेर कोरीबाटी गरेर, उज्यालो अनुहारसहित प्रस्तुत भएकी थिइन् । जबकि उनी अक्सिजन सपोर्टमा थिइन् ।
सामाजिक सेवामा छोरा लागेपछि उनलाई निकै राम्रो लागिरहेको छ । ‘एकजनालाई मात्रै होइन, सकेसम्म धेरैजनालाई सहयोग गर्न सकोस् भन्ने लागेको छ । कत्ति होलान् गरिब, आमाबुवा कस्ता होलान् । मेरो बाबुले सबैलाई हेर्न सकोस् । आफूसँग छ भनेर धेरै खानु हुँदैन नि । भोलि पनि त खानु छ, चाहिन्छ । समाजसेवा भोलि पनि गर्नुपर्छ भन्ने सोच्नुपर्छ,’ आमाले सल्लाह दिइन् ।
हो, आमाले भनेजस्तै निरनले आफ्नो समाजसेवालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समय उनले इभाञ्जेली नामक १४ वर्षीया किशोरीको क्यान्सर यात्राको सहयात्री बने । इभाञ्जेलीलाई ल्यूकेमिया नामको एक प्रकारको ब्लड क्यान्सरले गलाएको थियो । उनको सहयोगका लागि निरनले रकम संकलन गरे । सङ्कलित एक एक रुपैयाँ सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे । अहिले इभाञ्जेली
क्यान्सर मुक्त भइसकेकी छिन् । निरनले उनलाई आर्थिक सहयोग मात्रै गरेनन्, उनलाई अस्पतालमा गएर भेट्ने, उनका डाक्टरहरूसँग स्वास्थ्यबारे जानकारी लिने, कुरुवा बसेकी एकल आमालाई हौसला प्रदान गर्ने काम गरे ।
निरनले आफ्नो सामाजिक क्रियाकलापबारे खासै केही योजना नबनाएको बताउँछन् । ‘साधारण तरिकाले भन्ने हो भने मैले त्यस्तो केही पनि दिमागमा राखेको छैन । तर दुःख परेकाहरूलाई सहयोग गर्ने सङ्कल्प चाहिँ छ । ’
उनले हालै अनुप्रस्थ फाउन्डेशन नामको एउटा संस्था खोलेर आफूले कुनै पनि कार्यक्रमबाट आर्जन गरेको रकमको १० प्रतिशत सामाजिक क्रियाकलापका लागि खर्च गर्ने घोषणा भने गरिसकेका छन् ।
सन् २००८ को स्प्राइट ब्यान्ड च्यालेन्जको विजेता ब्यान्ड भएको नाताले र समाजमा केही प्रोफाइल भएकाले पनि पैसा उठाउन केही सहज भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई सङ्गीतप्रेमीहरुले देखिरहनु भएको हुन्छ । उहाँहरूले विश्वास गर्नुहुन्छ । त्यसैले पनि पैसाका लागि विश्वास गर्नुहुन्छ होला ।’
नेपाली शब्दकोशमा अनुप्रस्थको अर्थ लेखिएको छ, ‘सितार, गितारजस्ता तारवाद्यमा औँलाले तारलाई रगड्दा पहिलोपटक निस्कने कम्पन, तार आदिबाट पहिलोपल्ट आउने स्वर । क्षितिजसँग सम्बन्ध रहेको, आकाशसँग सम्बन्ध रहेको ।’
उनलाई पहिचान दिलाउने अनुप्रस्थको अर्थ झैँ उनको सामाजिक क्रियाकलापबाट निस्किएको पहिलो मात्रै होइन, निरन्तरको कम्पनले धेरैलाई प्रभावित पुर्याउन सकोस् । यो क्षितिजसम्मै वेग मार्न सफल होस्, आकाशजस्तै फराकिलो होस् ।