ad
x
भ्यालेन्टाइन डे

यमबुद्धका​ आमाबुवाको प्रेमकथा : ‘सँगै मर्न पाइयोस्’

person explore access_timeफागुन २, २०७८ chat_bubble_outline0

अनुशासनको हिसाबले ३०–४० वर्ष अघिको समय उनलाई राम्रै लागेता पनि जमाना त अहिलेकै मनपर्छ । कसरी ? बगलमै रहेकी श्रीमती प्रश्न गर्छिन् । उनको खुल्दुली मेटाउँदै भन्छन्, ‘अहिले त एक अर्कासँग विवाह अघि नै कुरा गर्न पाइन्छ । सुरुमै माया गर्न पाइन्छ । मन जित्न पाइन्छ ।’


पूर्णचन्द्र जस्तो मुहार भएकी उनले श्रीमान्‍लाई जिस्काउँदै भन्छिन्, ‘कति भित्रभित्रै उकुसमुकुस भा’को रैछ है ?’ प्रत्युत्तर आउँछ, ‘त्यो बेला कति गाह्रो थियो । कोठामा श्रीमती कति बेला आउँछिन् भनेर कुरेर बस्नुपर्थ्यो । दिउँसो श्रीमान्‍–श्रीमती कोठाभित्र बस्न लाज र अफ्ठेरो हुन्थ्यो । त्यो समयमा एक किसिमको निरंकुशता जस्तो थियो,’ पुराना दिनका आफ्ना निस्सारतालाई उनले छताछुल्ल पोखे ।  



तर त्यतिबेला उनले समाजसँग विद्रोह गरेरै भएपनि श्रीमतीप्रति प्रेम र स्नेह देखाए, खुसी दिन विभिन्न जुगाड गरे । श्रीमतीलाई माया गरेकै कारण आलोचना खेपे तर वास्तै गरेनन् । गायक छोरा यमबुद्धको युवावस्थामै अनायास निधनपछि श्रीमतीलाई अझ माया दिए । सुख–दुःखमा उत्तिकै साथ दिए । त्यसैले त श्रीमती उर्मिला अधिकारी भन्छिन्, ‘उहाँ नभएको भए त म बाँच्दिनँ थिएँ होला ।’

हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अम्बिकाप्रसाद अधिकारी र राप्रपाकी महिला नेतृ उर्मिला अधिकारीको जोडीलाई धेरैले परेवाको जोडी, चखेवाको जोडी भन्छन् । थुप्रै वर्ष भइसक्यो, यो जोडी एकछिन पनि नछुट्टिएको । ३८ वर्षअघि विवाह गर्ने बेला यो जोडीबीच जति माया थियो, त्यो एक दिनपनि कम भएन, उल्टै दिन दुगुना, रात चौगुना भएर बढ्दै गयो । 

यत्रो रहरले खिचेको फोटो घरमा देखाउँदा के भन्ने हो भन्ने उनीहरुलाई फसाद पर्‍यो । फोटो धुलाएर ल्याए तर लुकाएर राखे । तीनजना छोराछोरी जन्मिसकेपछि मात्रै उक्त फोटो निकाल्ने आँट आयो । यो फोटो देखेर उनीहरुका छोराछोरी पनि अचम्म मान्छन् रे ।

मुटुले रोजेको मनले खोजेको जीवनसाथी

मुटुले रोजेको र मनले खोजेको जीवनसाथी पाउँदा को पो खुसी नहोला र ? एकैछिनको बसाइँमा पनि स्फटिकजस्तो प्रस्ट देखिने यी दुईबीचको माधुर्यताले यो कुरा छर्लङ्गै पार्छ ।  

अम्बिकाप्रसादले आफ्नो र उर्मिलाको घर निकै नजिक भएकोले उर्मिलालाई सानैदेखि देखिरहेको र देख्दा मनपर्ने र माया लाग्ने गरेको बताए । जसै उर्मिला हुर्कंदै गइन् अम्बिकाप्रसादको मनको ढक उनीतिरै लत्किने क्रम पनि बढ्दै गयो । अम्बिकाप्रसाद उर्मिलाभन्दा अलि सिनियर थिए । हाइस्कूलमा हुँदा उर्मिला अम्बिकाप्रसादको भाञ्जीसँगै पढ्थिन् । साथी भएकोले केही कार्यक्रम हुँदा उर्मिला अम्बिकाप्रसादको घरमा आउजाउ गर्थिन् । 

अम्बिकाप्रसादलाई विवाहको प्रस्ताव आउन थालिसकेको थियो । महेन्द्र मोरङ कलेजमा पढ्दा उनलाई विभिन्न युवतीहरुको प्रेम प्रस्ताव पनि आउन थालिसकेको थियो । उनी भन्छन्, ‘म अलि राम्रो थिएँ कि के थिएँ खोई, कलेजमा हुँदा धेरैले ‘आइ लभ यू’ भन्ने गर्दथे । तर धेरैले मनपर्छ भन्दा खेरी मनले खाएको कोही पनि देख्दिनथेँ ।’

उनको कुरा भुइँमा पोखिन नपाउँदै उर्मिला ठट्यौली पारामा  भन्छिन्, ‘कहाँ यत्ति राम्रो मान्छे भेट्नु पर्ने रहेछ, अनि जो पायो त्यही कहाँ मनपर्छ र होइन ?’

त्यसपछि अम्बिकाप्रसाद भनिहाल्छन्, ‘तर उनलाई चाहिँ भित्रभित्रै मनपराउन थालिसकेको थिएँ । मलाई उनीसँग बोल्न चाहिँ गाह्रै हुन्थ्यो । दुई वर्ष जति चाहिँ नबोलीकन कुरेँ ।’

दुई वर्षसम्म एकतर्फी माया गर्नुभयो, के ले रोक्यो त ? भन्छन्, ‘म भाञ्जीको गार्जियनजस्तो मान्छे, त्यसमाथि भाञ्जीको साथीलाई विवाहको प्रस्ताव राख्दा कुनै किसिमको दुर्घटना हुने हो कि भन्ने डर थियो । फेरि अहिलेको जस्तो समय कहाँ थियो र ।’

पुराना दिन स्मरण गर्दै उनले भने, ‘धेरै इज्जत गर्नुपर्दथ्यो, ठूला बडाहरुको अनुमतिबिना डेग चल्न पाइँदैनथ्यो । आधा घण्टाकै लागि सामान्य रुपमा बाहिर जान पनि अभिभावकलाई सोध्नुपर्दथ्यो । जोडाजोडी यसरी बसेर, गीत गाएर, रमाइलो गर्ने जमाना नै थिएन ।’

तर एकदिन आँट गरेरै उनले उर्मिलालाई भने, ‘मलाई त तिमीसँग विवाह गर्न मन लागिरहेको छ, खुब राम्री देखेको छु, अब तिमीले हुन्छ भन्यौ भने म मेरो बुवासँग कुरा गरेर, विवाहको कुरा गर्न तिम्रो बुवासँग पठाउँछु ।’

अम्बिकाप्रसाद भन्छन्, ‘यसो भन्दा उनी अलिकति लजाइन् । केही बोलिनन् ।’ त्यसपछि उनले पुनः आफ्नो कुरा राख्दै ‘होइन तिमीले भन्नै पर्छ, म मन पर्छु कि पर्दिनँ ?’ भनेर कर गरे । उनको वचनले उर्मिलाको कुन नरम तन्तुलाई छोइदियो, उनी ‘मनपर्छ’ भनेर भागिन् । 

‘ग्रीन सिग्नल’ पाएपछि अम्बिकाप्रसादको हौसला बढ्यो । ‘मैले उसँग त कुरा गरेँ, मलाई आत्मविश्वास थियो कि मेरो कुरा मेरो बुवाले टार्नुहुन्नँ । तर अब उनको बुवाले के हो के हो ? त्यो चाहिँ डर लागिरहेको थियो । कुरा फिक्स नहुञ्जेलसम्म हात खुट्टा कामेजस्तो डर लागेको जस्तो अनुभूति हुन्थ्यो । तर अब उनले ‘हँ’ भनेपछि मेरो जीवन सफल भयो भन्ने त्यतिबेलै लागेको थियो ।’

उता ‘मनपर्छ’ भनेर दौडिएकी उर्मिलाको भने मुटुको वेग बढ्न थालेको थियो । अब उनलाई घरका सदस्यदेखि डर लागेको थियो । घरमा बुवाआमाले नदिने हुन् कि ? भन्ने शंकाले उनलाई घेर्न थाल्यो । ‘त्यतिबेला हामी बुवासँग सिधा कुरा गर्न सक्दैनथ्यौँ । दाइ हाम्रो घरको एकदमै कडा गार्जियन, उहाँको पनि डर लाग्यो । मैले मन त पराउँछु भनेँ, तर घरमा कसरी भन्ने होला भनेर गोडा कामे ।’

तर दुई परिवारका प्रमुख सदस्यबीचको दोस्तीले उनीहरुको विवाहको प्रक्रियालाई थप गोडमेल गरिदियो । यी दुईका बुवाहरुले बैशाखमा विवाह गर्ने कुरा फागुनमा फिक्स गरे । घर नजिक थियो, त्यसैले उर्लाबारीको कृष्ण मन्दिरमा वि.सं २०४१ साल बैशाख २७ गते विवाह भयो । विवाहअघि यी दुईको दुई–तीनपटक कुराकानी पनि भयो । 

अम्बिकाप्रसादलाई धेरैले छोरी दिन आए तर उनले अस्वीकार गरे । भन्छन्, ‘एउटा कुरा भन्दा चाहिँ  मलाई बडा आनन्द आउँछ । होइन, स्वर्गकै परी ल्याउँछु भनेर भन्थ्यो, आखिर त्यही प्रसाईँकी छोरी त विवाह गरेको रहेछ सम्म भने । तर, मलाई त्यो स्वर्गकी परीभन्दा यो प्रसाईँकी छोरी अत्ति मनपर्छ, अहिले पनि,’ आनन्दी हाँसोको अर्को खहरे उर्लियो । 

विवाहलगत्तै खिचेको त्यो फोटो...

यी दुईको बेडरुम छिर्ने भित्तामा एउटा श्यामश्वेत तस्विर झुण्डिएको छ । फोटो हेरेर यो ‘त्यो’ जमानाको हो भनेर आँकलन गर्न गाह्रो हुँदैन । पुरानो भए पनि निकै स्टाइलिस यो तस्बिरबारे जान्ने इच्छा भयो । यसबारे अम्बिकाप्रसाद सबिस्तार बताउँछन्, ‘विवाह भएको दुई–तीन दिनपछि यो फोटो खिचेको हो । हामी फोटै खिच्न भनेर गएका थियौँ । त्यतिबेला फोटो खिच्नु ठूलो कुरा थियो । फोटो खिच्नु मेरो शौख थियो ।’ 

यस्तै शौख पछि छोरा अनिल अधिकारी (यमबुद्ध) मा पनि देखिएकोबारे उनले भने, ‘आमाबुवाको केही गुण छोराछोरीमा पनि सर्दो रहेछ, पछि बाबुमा पनि मेरो गुण सरेको थियो ।’

उक्त फोटोबारे रोचक कुरा त उर्मिलाले खुलाइन् । भनिन्, ‘फोटो खिच्न जाँदा यो लुगा ब्यागमा बोकेर गएँ । खासमा साडी लगाएर घरबाट निस्किएको थिएँ । स्टुडियोमा गएर यो लुगा चेन्ज गरेँ ।’ 

उनले थपिन्, ‘विवाह गरेपछि यस्तो लुगा लगाएर हिँड्ने अनुमति पनि थिएन नि । मैले टिसर्ट र फरर्र परेको फ्रक लगाएकी थिएँ ।  त्यतिबेला यो फ्रक असाध्यै चलेको थियो । धरानको स्टुडियोमा यो फोटो खिचेको हो । सिन्दुर, पोते सबै मिलाएँ, अनि फोटो खिच्यौँ । ’

‘खासमा उहाँले मलाई विवाह अघि यही ड्रेसमा देख्नुहुन्थ्यो नि त । अनि उहाँलाई त्यो ड्रेसमा सँगै बसेर फोटो खिच्ने असाध्यै रहर,’ उनले युवावस्थाको कुरा खुलाइन् । 

अम्बिकाप्रसाद नहुँदा पनि उनको आभाष महसुस गर्न उर्मिलाले त्यतिबेला श्रीमान्‍ले लगाएको एकजोर लुगा नधोइकन राखेकी थिइन् । फोटो नजिकै भइहाल्थ्यो । त्यो लुगाचाहिँ  राती सुत्नेबेलामा सिरानीमा राख्थिन् । लुगाबाट बास्ना आउँदा उनलाई श्रीमान्‍ पनि समिपमै छन् जस्तो भान हुन्थ्यो ।  

तस्बिरको पोज र स्टाइल पनि अम्बिकाप्रसादले अमिताभ बच्चनको फिल्मबाट प्रेरित भएर खिचाएको बताए । 

तर, यत्रो रहरले खिचेको फोटो घरमा देखाउँदा के भन्ने हो भन्ने उनीहरुलाई फसाद पर्यो । फोटो धुलाएर ल्याए तर लुकाएर राखे । तीनजना छोराछोरी जन्मिसकेपछि मात्रै उक्त फोटो निकाल्ने आँट आयो । यो फोटो देखेर उनीहरुका छोराछोरी पनि अचम्म मान्छन् रे । उर्मिला भन्छिन्, ‘बाबु (यमबुद्ध) ले त जिस्काउँथ्यो हामीलाई । बाबुले यो फोटो देखेर आफूले पनि बुहारीसँग यस्तै स्टाइलले ब्ल्याक एन्ड ह्वाइट फोटो खिचाएको थियो ।’

फिल्म हेर्न जान पेट दुखेको बहाना

त्योबेलामा सिनेमा हलमा गएर सिनेमा हेर्ने, घुम्न जाने छुट आफूहरुलाई नभएको अम्बिकाप्रसाद बताउँछन् । तर पनि उनीहरुले फिल्म हेर्न जाने योजनाका लागि बहाना बनाउँथे ।  

अम्बिकाप्रसादले भने, ‘फिल्म हेर्न जाने दिन, उनलाई अबेरसम्म सुत्न भन्थेँ । होइन आज सानी दुलही कता छ भनेर आमाले सोधेपछि, आमाको छेउमा गएर ‘उसलाई सञ्चो छैन, रातभरी सुतेकै छैन, अहिले बिहान भर्खर यस्सो निदाउन खोज्दै थिइन्, अहिले के गर्दैछिन् कुन्नी निदाइन् होलिन्’ भन्थेँ ।’

यसो भन्दा उनकी आमाले ‘लैजा लैजा, हस्पिटल लैजा’ भन्थिन् । आमाको बचनले घरबाट निस्कने बाटो खुल्थ्यो । कता अस्पताल जानु, लाग्थे फिल्म हलतिर । फिल्म हेरेर घर फर्किने बेला घरमा के भन्ने होला भनेर उर्मिलालाई तनाव हुन्थ्यो । तर अम्बिकाप्रसादको जुक्तिले उनको तनावलाई मुक्ति दिन्थ्यो । 

अम्बिकाप्रसादका औषधी पसल भएका एक–दुईजना साथी थिए । उनीहरुलाई जँचाएको प्रमाणित गर्ने एउटा कागज बनाउन लगाउँथे । ‘खास केही रहेनछ भनेर त्यही कागज घरमा देखाउँथेँ । त्यसरी पनि सिनेमा देखाउँथे मैले ।’ कहिलेकाँही ग्यास्ट्रिकको औषधी दिएको छ भनेर सेतो झोल किनेर पनि देखाउँथे । 

उर्मिला भन्छिन्, ‘फारवेसगञ्ज भारतमा लगेर राम तेरी गंगा मैली भन्ने फिल्म देखाउनुभयो । माइतीमा हुँदा पनि हामीलाई फिल्म हेर्न जाने छुट थिएन । नजिकै थिएन नि त फिल्म हल, त्यही भएर पनि बहाना बनाउनुपर्दथ्यो । त्यसरी बहाना बनाएर हामीले  तीन चारवटा फिल्म हेर्यौँ ।’

सिनेमा हेर्दा पनि आफूले उर्मिलाको असाध्यै जतन गर्ने गरेको अम्बिकाप्रसादले स्मरण गरे । ‘त्यो सिनेमा हामीले हेर्न योग्य छ कि छैन ? त्यसले उनलाई खुसी बनाउँछ कि बनाउँदैन ?’ भन्ने ख्याल गरेर उनी सबैभन्दा पहिला एक्लै फिल्म हेर्थे, श्रीमतीलाई देखाउन योग्य छ भनेमात्र उनलाई लिएर जान्थे । 

‘जस्तै, ‘प्यार झुक्ता नहीँ’, ‘लभ स्टोरी’, ‘राम तेरी गंगा मैली’, ‘नदिया के पार’ लगायतका फिल्म मैले हेरिसकेर, अनि कहाँ लागेको छ, त्यहाँ लगेर देखाउँथे । नयाँ फिल्म उनले र मैले एकैपटक हेरेको रेकर्ड छैन,’ उनले थपे । 

पछि १४ इन्चको टिभीमा ब्याट्री राखेर घरमै फिल्म हेर्ने सुविधा आएपछि भने उर्मिलाको पेट दुख्न पनि कम हुँदै गयो । 

श्रीमान्‍को जुठो खानैपर्ने ?

श्रीमान्‍को जुठो खानैपर्ने र श्रीमतीको चाहिँ खान नहुने भन्ने कुराको आफू पहिलादेखि नै विरोधी भएको अम्बिकाप्रसाद बताउँछन् । श्रीमान्‍को जुठो खानुपर्ने चलन उनको घरमा पनि नभएको होइन । उर्मिलाका लागि त्यो कुरा नौलो थियो । उनी भन्छिन्, ‘भान्साको चुलो नजिकको साइडमा बुवा, आमा, ठूलो दाइ, उहाँ (अम्बिकाप्रसाद), सानो बाबु (देवर) लाइन मिलाएर लस्करै बस्ने । सबैभन्दा पहिला खाना खाएर उठ्ने चाहिँ उहाँ नै  । सुरु सुरुमा थालमा अलिकति खाना छोडेको हुन्थ्यो । अनि त्यही थालमा हामीले पछि पस्केर खानुपर्ने । मलाई त्यो असाध्यै अप्ठेरो लाग्थ्यो ।’

उर्मिलालाई बुझ्न निकै नजिकबाट नियालिरहेका अम्बिकाप्रसादले उनको त्यो हिच्किचाहट बुझेपछि त पछि सबै खाना खाएर उठ्न थाले । 

तर जब उनीहरुको एकल परिवार भयो, उनीहरुबीचको खाना अगाडि पछाडि कहिल्यै भएन । ‘र अहिले पनि म बिरामी छु भने उनलाई एक्लै खान गाह्रो हुन्छ, म छेउमा गएर बस्छु । उसको ब्रत छ भनेपनि म खाना खाने बेलामा मेरो छेउमा बसिनन् भने मलाई खाना रुच्दैन,’ एक अर्काप्रतिको निर्भरतालाई उनले बयान गरे ।  

यी दुईले खाना खाँदा एकअर्कालाई मनपर्ने नपर्ने खानेकुरा साटासाट गरेर खान्छन् । तर उनीहरुको यस्तो बानीलाई उनका एकजना भाइले खिसी गरेको अम्बिकाप्रसाद स्मरण गर्छन् । उनी भन्छन्, ‘एक ठाउँमा  मेरो भाइले बडो  खिसी गरेको छ, मेरो दाइ धेरै आधुनिक भयो भनेर । यो निकै वर्ष अघिको कुरा हो । त्यतिबेला मेरी आमा हुनुहुन्थ्यो । अब दुईवटा थालमा डाइनिङमा खाना खाइरहेका बेला तिमी यो लैजाऊ, म यो लिन्छु भनेर साटासाट गरेर खाँदाखेरी उसलाई नौलो लागेछ ।’

‘हामी त्यसैभित्र माया भेट्छौँ, त्यसैभित्र सद्भावना भेट्छौँ, त्यसैले हामीलाई यस्ता कुराले केही फरक पार्दैैन,’ उनले मनको खसखस पोखे ।

श्रीमान्‍ श्रीमती भइसकेपछि सबै कुराहरु चल्ने तर जुठो खाने कुरालाई चाहिँ नौलो मान्न नहुने उर्मिलाको तर्क छ । 

सासूको माया 

विवाह गरेर गएपछि अरुको जस्तो व्यवहारमा आफू बस्नु नपरेको उर्मिलाको भनाइ छ । ‘मेरी जेठानी पनि घरमा नै हुनुहुन्थ्यो, घर ठिकै थियो तर आमाबुवा असाध्यै संस्कारी । मेरो माइती पनि संस्कारी नै हो । मेरो माइतीमा बुवाआमा बैष्णव र यताको परिवार प्रणामी । हामीचाहिँ माछा मासु खाने ।’

त्यसैले पनि उनलाई ‘नयाँ’ घरमा खासै फरक परेन  । विहे गरेपछि पनि खानाहरु पकाउनै पर्ने, बुहारी नै भएर बस्नुपर्ने खालको सोच कसैको पनि नभएकोले आफूलाई धेरै नै सजिलो भएको उर्मिला स्मरण गर्छिन् । ‘आमाले हाम्रो असाध्यै ख्याल गर्ने । बुहारी भएर डाडु पन्यु नै गरिराख । यस्तो गर, उसो गर दकसमा राख्न कहिल्यै पनि खोज्नुभएन । उहाँसँग गफ गरेर बसिराखे मात्रै पनि उहाँ खुसी ।’

यसमा अम्बिकाप्रसाद थप्छन्, ‘मेरो परिवार बुहारीलाई काम लगाउनै पर्छ भन्ने किसिमको थिएन । मेरी आमाले उनलाई साह्रै माया गर्ने । यिनले पनि साह्रै सम्मान गर्ने । मलाई कहिले काँही लाग्थ्यो कि मेरी आमा हो, तर मभन्दा पनि बढी उनले माया गर्छिन् ।’

यसमा उर्मिलाले साउती गरे जसरी भनिन्, ‘आरिस गर्ने के । मैले आमालाई माया गर्दा मभन्दा बढी माया गर्यौ भनेर आरिस गर्ने ।’

‘मलाई नै फिल हुने गरेर उनले माया गर्थिन् । माया त एकोहोरो हुँदैन । आमाले यिनलाई माया गर्ने अझ छोराछोरीहरुलाई त अति नै माया गर्ने,’ अम्बिकाप्रसादले खुसी हुँदै भने । 

विवाहपछि श्रीमतीले घर गृहस्थी नै सम्हालेर बस्नुपर्छ भन्ने धारणा थियो कि ? जवाफमा उनले भने, ‘मैले विवाह गर्दा हाम्रो घरमा राइस मिल थियो । उनलाई त्यो घरको चार दिवारीबाट बाहिर निकाल्नका लागि मैले उनलाई ‘हेर तिमीले पनि काम गर्नुपर्छ’ भन्थेँ । सबैकुराहरु सिक्नुपर्छ, तिमीले यो मिलको भुक्तानीहरु लिने, पैसाको रेखदेख गर्नुपर्छ भनेर काम दिन्थेँ ।’ त्यतिबेला उनको उद्देश्य श्रीमतीले पनि धेरै कुरा सिकून् भन्ने थियो । 

प्रणामीका घरमा मासु

प्रणामीको घरमा मासु पकाउन मिल्दैन । अम्बिकाप्रसादका बुवा आमा माछा मासु नखाने तर उनीहरु भने खान्थे । ‘म त राजनीति गर्ने मान्छे, बाहिर हिँड्यो, साथीभाइसँग होटलमा गयो, मासु, सेकुवा खान्थेँ तर त्यो खाँदा उनलाई सम्झिन्थेँ, घरमा पकाउन मिल्दैन, उनलाई पनि त खान मन लाग्यो होला नि भनेर मलाई असाध्यै माया लाग्थ्यो,’ बीचमै उर्मिलाले ‘यो कुरा आज खोलिँदैछ है, सबैको सामुन्ने’ भनेपछि उनले यस्तो कुरा लुकाएर पनि राख्नुहुँदैन भनेर थुम्थुम्याए । 

आफूले मासु खाएका बेला सेकुवाहरु प्याक गर्न लगाएर गोजीमा हालेर घर ल्याउँथे । तर प्रणामीको घरभित्र मासु ? घर छिर्दा मासु गन्हाउँछ कि भनेर त्यो लुकाउँथे । तर बिरालोले भेटेर पो खाइदिन्छ कि भन्ने डरले पनि सताउँथ्यो । बडो मुश्किलले सबैले खाना खाएपछि बुवा आमा सुतिसकेपछि खुसुक्क गएर, कसैले सुन्छ कि भनेर साउती मारेर मासु  कोठामा ल्याउने अनि श्रीमतीलाई ख्वाउँथे । 

पुरानो दिनको माया सम्झेर उर्मिलाले भनिन्, ‘उहाँले मलाई पहिलादेखि नै असाध्यै माया गर्नुभएको, यस्तो पाउनलाई पहिलादेखि नै लिएर आउनुपर्छ ।’

बिछोडका ती पत्र

अम्बिकाप्रसाद विवाह गरेर पहिलो पटक २०५० सालमा काठमाडौं आउँदा उर्मिलाको गर्भमा कान्छी छोरी थिइन् । अम्बिकाप्रसाद कान्छी छोरी जन्मिँदा श्रीमतीसँग हुन पाएनन् । न्वारन पनि आमाले नै गरिदिइन् । त्यतिबेलाको प्रत्येक क्षण उनको मानस्पटलमा ताजै छन् । उनी भन्छिन्, ‘त्यतिबेला उहाँ काठमाडौंमा हुँदा सलकपुरमा फोनको सुविधा पनि थिएन । फोन गर्नलाई इटहरी पुग्नु पर्दथ्यो । त्यतिबेला म उहाँलाई असाध्यै सम्झिन्थेँ ।’

पत्र पनि लेख्नुहुन्थ्यो होला नि ? उनी मुस्कुराउँदै भन्छिन्, ‘हो, चिट्ठी लेख्थेँ र चिनेको मान्छेलाई गाडीमा काठमाडौंसम्म लगिदेउ है भनेर आग्रह गर्थेँ । तर चिट्ठी लेख्दा  मेरो आँसुले प्रायः  चिट्ठी भिजिसकेको हुन्थ्यो ।’

‘त्यतिबेला बैंक पनि थिएन । चिट्ठीको जवाफ आउँथ्यो र भित्र पैसा पनि राखिएको हुन्थ्यो । उहाँको चिट्ठी हेर्दा फेरि त्यतिखेरै भिज्थ्यो । ’

तर त्यतिबेलाको क्षण अहिले सम्झिँदा उनलाई अहिलेको समयका लागि त्यो समय रहेछ भन्ने उनलाई लाग्छ । ‘म त्यहाँ तीनजना छोराछोरी लिएर बस्दा पलपल उहाँको आवश्यकता महसुस हुने । धेरै पनि होइन, ६ महिनाको लागि । अनि म अहिले सोच्छु है, विदेश श्रीमान् पठाएर श्रीमतीहरू कसरी बस्न  सक्छन् होला ?’ 

कम्तीमा हप्ता दिनमा एउटा पत्र उनी पठाउँथिन् । ती पत्रमा श्रीमान्‍ र आफ्नो आत्मीयता, माया प्रेमकै कुराहरु कोर्थिन् । ती पत्र पढ्दा तपाईंलाई चाहिँ कस्तो महसुस हुन्थ्यो त ? यसबारे अम्बिकाप्रसाद भन्छन्, ‘त्यो पत्रमा यिनले माया जोडेकी छिन् भन्ने मलाई थाहा भइहाल्थ्यो । खाली पेपर मात्रै पनि पठाएको भए उनको भावना मैले बुझिहाल्थेँ ।’ उनी थप्छन्, ‘मैले लेखेको चिट्ठी उनले अहिले पनि सम्झिइन् भने उनलाई भक्कानो फुटिहाल्छ नि, मेरो त चिठीको स्टार्टिङ नै डेन्जर भइहाल्थ्यो । ’

‘‘मेरी हृदयकी रानी, तिमी बिनाको बियोग मेरो यो आत्माले सहन सकेको छैन,’ सुरुवात नै मेरो यसरी आउँथ्यो अनि त्यो चिट्ठी पढ्दा उनी नरुने भन्ने त कुरै भएन । रुन्छिन् भन्ने पनि थाहा हुन्थ्यो, तर पनि दिल खोलेरै रोऊन् न भनेर लेख्थेँ ।’

यस्तै अम्बिकाप्रसाद नहुँदा पनि उनको आभाष महसुस गर्न उर्मिलाले त्यतिबेला श्रीमान्‍ले लगाएको एकजोर लुगा नधोइकन राखेकी थिइन् । फोटो नजिकै भइहाल्थ्यो । त्यो लुगाचाहिँ  राति सुत्नेबेलामा सिरानीमा राख्थिन् । लुगाबाट बास्ना आउँदा उनलाई नजिकै नभएका श्रीमान्‍ पनि समिपमै छन् जस्तो भान हुन्थ्यो ।  

राप्रपाका नेतासमेत रहेका यी दुईजना कुनै पार्टी, कार्यक्रममा गए भने ‘ल यो परेवाको जोडी आयो, यिनीहरुलाई ठाउँ छोडिदेऊ, यहाँ राखिदेऊ’ भन्ने गर्छन् । उर्मिला भन्छिन्, ‘हामीलाई जसले पनि एकै ठाउँमा राख्ने चलन छ । धेरैलाई थाहा भइसकेको छ कि हामीहरु अलग अलग बस्दैनौँ, छुट्टिदैनौँ । 

दुःख, सुखको साथी

छुट्टिएर बस्न गाह्रो भयो, सँगै काठमाडौं जाऔँ न भन्दा उर्मिलाले सुरुमा मानिनन् । ‘गाह्रो हुने हो कि, फेरि केही समस्या आयो भने फर्कनुपर्ने हो कि’ भन्ने लाग्थ्यो उनलाई । त्यतिबेला अम्बिकाप्रसादले उनलाई के भन्थे भने, ‘यतिचाहिँ विश्वास गर, एउटा ट्याक्सी त किन्न सकिन्छ होला, मान्छेले कसैको भाडामा लिएर त परिवार पालिरहेका हुन्छन् । एउटा ट्याक्सी किनौँला, पाँच सय रुपैयाँ जसरी पनि कमाएर तिम्रो हातमा राखिदिउँला । तिमीले घर चलाइहाल्छौ ।’ त्यतिबेला पाँच सयले पनि आरामले घर चल्थ्यो । त्यति ग्यारेन्टी गरेर उर्मिलालाई काठमाडौं ल्याउन उनी सफल भए । 

विवाह भएको ९ वर्षपछि उनीहरु छोराछोरीसहित काठमाडौं आए । एउटै लोभ थियो, छोराछोरीलाई राम्रो शिक्षा । काठमाडौंमा आफूले अधिक मिहिनेत गरेको उनी स्मरण गर्छन् । ‘म सातामा एक दिन एउटा खुट्टा टेकेर काम गर्ने हो । मेरो मिहिनेत उनको साथ, आज हामी यो ठाउँमा छौँ । उनी मेरो दुःखको पनि साथी हुन् । कुनैबेला साइकल चलाएर हिँड्ने अम्बिका अधिकारी अहिले कार चढेर हिँडेको छ, यता गए पनि घर, उता गए पनि घर भन्नेहरु धेरै छन् । तर, यसका लागि मैले कति दुःख गरेको छु, त्यो कि मलाई थाहा छ कि उनलाई । त्यो दुःखमा पनि साथ दिएको भएर अहिले हामी सुखमा हासिरहेका छौँ ।’

हप्ताको ६ दिनसम्म एउटा खुट्टा टेकेर काम गरेता पनि सातौँ दिन उनी आफ्नो समय परिवारका लागि दिन्थे । अलि लामै समय हुन्थ्यो भने पोखरा, चितवन घुम्न जान्थे । तर, शनिबार मात्रै बिदा हुँदा नगरकोटलगायतका स्थानमा जान्थे ।

उर्मिला भन्छिन्, ‘काठमाडौंको कुनै पनि ठाउँ बाँकी छैन, हामीले नघुमेको । फिल्म हेर्न जाने, घुम्नेलगायतका काम हामी सधैँ गर्थ्यौँ, गर्छौँ र गर्नेछौँ  ।’

छोरा बितेपछि...

‘मलाईभन्दा उनलाई बढी दुख्यो भन्ने मलाई लाग्दो रहेछ । उनलाई पनि सहन सकुञ्जेल मलाईभन्दा उसलाई बढी दुख्यो भन्ने लाग्दो रहेछ के,’ अम्बिकाप्रसादले आफ्नो मुटुको टुक्रालाई गुमाउनु पर्दाको समयलाई स्मरण गर्दै भने ।

सँगै उर्मिला थप्छिन्, ‘हामी त छोरी मान्छे, जतिखेर पनि पिलपिल आँसु त बगाइहालिन्छ ।  उहाँको भित्र त मभन्दा बढी दुखेको हुन्छ नि । उहाँले पो रोएर मेरो अगाडि, आफन्तहरुको अगाडि देखाउनु हुन्न । म मेरी आमाकोमा गएर ह्वाँह्वाँ रोएर भएपनि दुःख व्यक्त गर्न सक्छु । उहाँलाई गाह्रो भइरहेको होला भन्ने छटपटी हुन्थ्यो ।’

‘त्यो विषम परिस्थितिमा पनि उहाँले मेरो सोच्ने, मैले उहाँको सोच्ने, त्यही भएर अहिलेसम्म बाँचेका छौँ, त्यो पीडामा अलिकति भएपनि मलम पट्टी लगाउन सकिएको छ, उहाँले दिएको मायाले नै यहाँसम्म आइ पुगेको छु । बाँचेको छु,’ उनले सुस्केरा हाल्दै भनिन् । 

‘उहाँले माहौल रमाइलो बनाउने, रमाइलो कुरा गर्ने, घुम्न लिएर जाने, म अलिकति सिरियस भएँ भने कतै घुम्न जाने कि ? रोयो भने हग गर्ने । उहाँको यस्तो व्यवहारले अलिकति भएपनि सहज छ,’ उनले थपिन्, ‘अहिले त छोरी पनि दुबैजना बाहिर । बाबु पनि त्यस्तो भयो । उहाँलाई आफू एक्लो फिल नहोस्, मलाई एक्लो फिल नहोस् भनेर अलि बढी नै हामी एकअर्काप्रति निर्भर छौँ । केयर, माया, एकअर्कालाई दिने समय बढेको छ,’ श्रीमान्‍को बढिरहेको मायाबारे उनले बेलिबिस्तार लगाइन् ।    

कोभिड होइन, बरु क्यान्सरै लागोस्

दोस्रो लहरमा उनीहरु मोरङमै हुँदा कोभिड भयो ।  यी दुई भिन्न भिन्न कोठामा आइसोलेशनमा बसे । अम्बिका भन्छन्,  ‘उनी अलि परको कोठामा बसेकी थिइन् । उनी पाँच दिनसम्म सुतिनन् । म पनि निदाउन सकिनँ । डाइनिङमा आएर उनलाई हेरेर बस्थेँ ।’

त्यतिबेला उनीहरुको छिमेकमा एउटा घटना भयो । खोप हालेर आएकी एक महिला टिभी हेर्दा हेर्दै बितिन् । बल्लबल्ल निदाएकी श्रीमतीलाई परबाट हेर्दा सास फेरेको हो कि नफेरेको हो देख्न सक्दैनथे । उनलाई फसाद, ‘बोलाउँ भने बल्ल बल्ल पाँच दिनपछि निदाएकी छिन् कसरी बोलाऊँ ? छेउमा जाउँ भने त्यो छुनै नहुने रोग ।’

त्यसदिन उनलाई महसुस भयो, ‘हैट यो चाहिँ रोग कसैलाई पनि नलागोस्, बरु क्यान्सर लागोस् । किनभने माया गर्न पाइन्छ नि त ।’ उनकी आमालाई पनि क्यान्सर भएको थियो । उनले भने, ‘आमाको अन्तिम अवस्थामा मैले गएर माया गर्न  पाएँ नि त । ’

‘मायामा अवरोध चाहिँ मैले त्यस दिन महसुस गरेँ । भोलिपल्टदेखि चाहिँ उनी निदाउँदा पनि जे सुकै होस् भनेर डबल मास्क लगाएर अलि नजिकै गएर हेर्न थालेँ । त्यतिबेला मलाई ठूलो एक्लोपन महसुस भयो । आँखाले देख्दा पनि म उनीबाट धेरै टाढा छु भन्ने महसुस भयो । ’

हे, अनिल माई !

साधारणतया छोराछोरीले जसरी बोलाउँछन्, उनीहरु एकअर्कालाई त्यसै गरी बोलाउँछन् । ‘म उनलाई मामु भन्छु, उनी मलाई बाबा भन्छिन्,’ अम्बिकाप्रसादले भने । 

उर्मिलाले थपिहालिन्, ‘आजकाल त उहाँले मलाई ‘माँ’ पो भन्न थाल्नुभएको छ त ।’ यसबारे अम्बिकाप्रसादले भने, ‘अरुले पनि सुनुन् भनेर, गाउँमा पनि माँ भन्ने मान्छे छन् नि त । कहिले काँही त्यो पनि शब्द राम्रो लाग्छ । ’

कहिलेकाँही त अम्बिकाप्रसाद तराईकै भाषामा ‘हे अनिल माई’ भनेर बोलाउँछन् । यसरी बोलाउँदा कस्तो लाग्छ ? उनी भन्छिन्, ‘छोराको नाम लिएर बोलाउँदा खुसी त लाग्छ नै । पहिला पनि असाध्यै मनपर्दथ्र्यो तर अहिले झसङ्ग हुुन्छु । ’

‘एकपल्ट मैले छोरीहरुको नाम लिएर बोलाउँदा मलाई त बरु त्यही नामले बोलाउनु भनिन्,’ अम्बिकाप्रसादले भने । ‘यसरी बोलाउँदा पीडा हुने हो कि भनेर छोरीको नाम लिएर बोलाउन थाल्नुभयो, तर मैले पछि मलाई पहिला जसरी बोलाउनुहुन्थ्यो त्यसै गरी बोलाउनु भनेँ,’ उनले भनिन् । 

खानाको डाइरेक्टर

अम्बिकाप्रसादलाई खाना बनाउन असाध्यै शौख छ । उनी भन्छन्, ‘खाना बनाउने कुरामा त यो घरमा डाइरेक्टर नै मै । हाम्रो घरमा जोसुकैले खाना बनाओस्, स्वाद एउटै हुन्छ । किनभने यी सबैको डाइरेक्टर एउटै हो । खाना बनाउँदा आफूले एउटा आइटम थप्न पाइनँ भने मजा लाग्दैन । केही न केही आफूले थपौँ, आफू पनि लागौँ भन्ने हुन्छ । ’

तर उर्मिला भने किचेनको काममा लाग्दिनन् । भन्छिन्, ‘म त पाकेको खाने मात्रै हो । उहाँले बनाएको सबै कुरा मीठो हुन्छ ।’ अम्बिकाप्रसादले पनि थपिहाले, ‘यिनले कबाब राम्रो बनाउँछिन्, पुलाउ मीठो हुन्छ ।’ 

‘म त माइतीमा चिया पनि नपकाएको मान्छे हो । एकैचोटी विवाह गरेर गएपछि मात्रै पकाउन खोजेकी थिएँ । विवाह गरेको भोलिपल्ट बेहुलीले बनाएको हातको खानुपर्छ भन्ने नियम रहेछ । रोटी बनाउन खोज्दा कसै गरी आएन । पछि जेठानी दिज्यूले बनाउनुभयो, बुनियाँहरु बनाउनुपर्दा पनि साह्रै गाह्रो भयो । जेठानी दिदी र उहाँले सिकाएपछि बिस्तारै सिकेँ । श्रीमान्‍ मेरो सबै कुराको डाइरेक्टर । जीवनकै डाइरेक्टर । ’

अधुरो कहानी पूरा गर्दैछौँ

मान्छेका रहर असीमित हुन्छन् । रहरले नै मानिसलाई बाँच्न अभिप्रेरित गर्दछ ।  यो जोडीले उतिबेला धक फुकाएर घुम्न पाएनन्, नाच्न पाएनन्, गाउन पाएनन्, माया गर्न पाएनन् । त्यतिबेला पुर्याउन नसकेको अधुरो कथा अहिले पूरा गर्दैछन् ।

त्यसैले यो प्रेमिल जोडी यात्रामा बाहिर निस्कँदा मज्जाले सेल्फी खिच्छन् । उनीहरु कुनै पार्टी भोजमा जाँदा एउटै प्लेटमा खाना खान्छन् । सबैले उनीहरुलाई हेर्छन् तर उनीहरुलाई वास्तै हुन्नँ । अम्बिकाप्रसाद भन्छन्, ‘अरु सबै मान्छेहरु आफू आफू प्लेट लिएर खान्छन् नि, हामी त्यसो गर्दैनौँ, सकभर म लाइन लाग्दिनँ । ’

यसमा उर्मिला थप्छिन्, ‘जसको भोजमा जाऔँ, कुनै कार्यक्रममा जाऔँ, प्लेट बोकेर लाइनमा बस्नु हुन्न । आधी आधी प्लेट खाने, सँगै खाने । अनि हामी जहाँ गएपनि म प्लेट लिने, दुईवटा चम्ची लिने, एउटै प्लेटमा दुईजना खान्छौँ । अनि हामीलाई सबैजनाले हेर्छन् । त्यसभित्रको माया, त्यसभित्रको सद्भाव हुन्छ नि, त्यो भिन्नै मजा हुन्छ । ’

परेवाको जोडी 

राप्रपाका नेतासमेत रहेका यी दुई कुनै पार्टी, कार्यक्रममा गए भने ‘ल यो परेवाको जोडी आयो, यिनीहरुलाई ठाउँ छोडिदेऊ, यहाँ राखिदेऊ’ भन्ने गर्छन् । उर्मिला भन्छिन्, ‘हामीलाई जसले पनि एकै ठाउँमा राख्ने चलन छ । धेरैलाई थाहा भइसकेको छ कि हामीहरु अलग अलग बस्दैनौँ, छुट्टिदैनौँ । कुनै विवाह ब्रतबन्ध वा कुनै पनि पार्टीमा समारोहमा उनलाई मात्रै बोलाइएको छ वा मलाई मात्रै बोलाइएको छ भने हामी दुबैजना जाँदैनौँ । हामी दुबैजनालाई बोलाउनुपर्छ नभए जादैनौँ । ’

अम्बिकाप्रसादले भने, ‘उनी मोरङको साजिलाल माध्यामिक विद्यालयमा पढिन् । त्यो स्कूल पढ्ने र काठमाडौं बस्ने विद्यार्थीहरुले पिकनिकको आयोजना गरेछन् । त्यो पिकनिकमा मलाई  साजिलालको ज्वाईं भनेर निमन्त्रणा पठाइन्छ । हामी जान्छौँ, रमाइलो गर्छौँ । साजिलालको ज्वाईंभन्दा मलाई त्यो जिस्काएको जस्तो लाग्दैन, मलाई बडो प्रेम गरेर मेरा सासु ससुराले मात्रै उर्मिला प्रसाईँ दिएको होइन, यो साजिलालले पनि आफ्नी राम्री विद्यार्थी मलाई दिएका रहेछन् भन्ने गर्वको अनुभूति हुन्छ क्या । यस्तो कुराले बडो मन छुने गर्छ । ’

उहाँ मेरो ऐना

अम्बिकाप्रसादलाई केही भएको छ भने उनले व्यक्त नगरेपनि उर्मिलालाई आफैँ थाहा हुन्छ । ‘तपाईंलाई आज सञ्चो छैन । ल नाप्नु त ज्वरो, तपाईं थाक्नुभएको छ, तपाईंको हिँडाईंमा फरक परेको छ,’ श्रीमतीका यस्ता कुरा उनलाई मनपर्छन् ।  

उर्मिला भन्छिन्, ‘उहाँ बिरामी भएको कुरा त हेरेर नै थाहा हुन्छ । उहाँले मलाई भन्नै पर्दैन । उहाँको अनुहारले नै बताइसकेको हुन्छ । खाना खाँदा पनि थाहा हुन्छ । बोलीबाट पनि थाहा हुन्छ । यति लामो यात्रा गरिसकेपछि अलिअलि त थाहा पाउनु पर्यो नि ।’

सबै राम्रो बानी मात्रै छ, नराम्रो बानी के छ त भनेर मैले प्रश्न गरेँ । यसबारे अम्बिकाप्रसादले हाँस्दै भने, ‘नराम्रो बानी त खासै छैन । आजकाल सुत्नेबेलामा घुर्छिन्, त्यही नै नराम्रो हो । ’

उर्मिलाले पनि श्रीमान्‍को नराम्रो बानीबारे कुरा गर्दै भनिन्, ‘खाना पाकेपछि खानलाई समयमा नआउँदा उहाँ रिसाउनुहुन्छ । एकछिन ढिलो गरेँ भने, म फूल लिएर आऊँ कि ? म गेट बनाऊँ कि भन्नुहुन्छ ।’ खाना आफैंले बनाएपनि पस्किने बेलामा चाहिँ उनलाई उर्मिला नै चाहिन्छ । 

पछिल्लो समय आफूहरु बीचको माया झन् प्रगाढ हुँदै गइरहेको यी दुबै स्वीकार्छन् । यसबारे अम्बिकाप्रसाद भन्छन्, ‘म उनको असाध्यै केयर गर्छु, त्यो आफैँ पलाएको माया हो । मैले उनको हरेक कुरामा केयर गर्नुपर्छ भन्ने लाग्छ । ’

आफूहरुले गरेको माया देखेर सबैजना छक्क पर्ने अम्बिकाप्रसाद बताउँछन् । ‘कहिँ गयो छोरी मान्छेहरुको खाएपछि लिपिस्टिक बिग्रिन्छ नि, कसैले हेरिरहेको छ भने पनि मलाई लाज लाग्दैन, नभए के को माया ? के को बूढी ? म मिलाइदिन्छु ।’ उर्मिला थपिहाल्छिन्, ‘त्यसैले म भन्छु, मेरो ऐना हो उहाँ ।’ 

तपाईंहरुको यो आदर्श जोडीको अंश तपाईंका छोराछोरीले पनि लिनुभएको छ कि ? अम्बिकाप्रसादले भने, ‘मेरो ज्वाईंहरुले मेरा छोरीहरुलाई माया गरेको देख्दा मैले पो श्रीमतीलाई कम माया गरेको छु कि जस्तो लाग्छ ।’

‘मेरा दुबै बाबुहरुले (ज्वाईं) छोरीहरुलाई हामीले सोचेको भन्दा पनि बढी माया गर्नुहुन्छ । हामी त्यसमा सन्तुष्ट छौँ,’ उर्मिलाले थपिन् । 

दुबैको माया बराबर 

प्रेमलाई यत्तिका वर्षसम्म टिकाइराख्न केही फर्मुला पनि छ होला नि ? यसमा दुबैले समझदारीलाई शीर्ष स्थानमा राखे । अम्बिकाप्रसादले भने, ‘सबैभन्दा पहिला दुबैमा समझदारी हुनुपर्यो । दिनचर्या बिहानबाट सुरु भएदेखि बेलुका नसुतुञ्जेलका हरेक कुरामा एक–अर्कामा ज्ञान हुनु पर्यो । कुनै पनि कुरा लुकाउनु भएन । एउटा अपराध लुकाउन अरु थप अपराध जन्मिन्छ भनेजस्तै एउटा सानो कुरा लुकाएर राख्ने भयो भने त्यसले दिनैपिच्छे दूरी बढाउँदै लैजान्छ र त्यसले प्रेममा आघात पुग्न सक्छ ।’ 

उर्मिला जोडीबीच सबै कुरा सेयर हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘मनभित्र कुराहरु राखेर गुम्सिनुभन्दा क्लियर गरेर दुईजनामा प्रस्ट भयो भने सजिलो हुन्छ । सबै कुरा ओपन हुनुपर्छ, माया दुबैजनाको बराबर । सबै कुरामा सहज तरिकाले अघि बढ्यो भने अवश्य पनि सबैजना सफल हुन सकिन्छ । ’

आफूहरुबीच कहिल्यै पनि झगडा नभएको पनि अम्बिकाप्रसाद बताउँछन् । सुरुमा त उनले श्रीमतीसँग झगडाको परिभाषा नै खोज्छन् । कहिलेकाहीँ केही विषयमा छलफल भएपनि झगडा भने नभएको यी दुबैको जिकिर छ । 

३६५ दिन नै भ्यालेन्टाइन्स डे !

भ्यालेन्टाइन्स डे मनाउनु हुन्छ ? अम्बिकाप्रसादले हाँस्दै भने, ‘हामी मनाउँछौँ । फेसबुकमा स्टाटस हालिहाल्छौँ । गिफ्ट हामी एक अर्काका लागि सँगै गएर किनिहाल्छौँ । यसलाई मनाउदिनँ त भन्नै मिलेन ।’

उर्मिलाले भनिन्, ‘अरु त वर्षमा एकदिन मनाउलान् तर हामी त ३६५ दिन नै मनाउँछौँ । खासमा हामीलाई भ्यालेन्टाइन्स डे आउनै पर्दैन । दिनैपिच्छेजस्तो हुन्छ । हामी त सधैँको दिन नै भ्यालेन्टाइन्स डे होस् भन्ने चाहन्छौँ ।’

नेपाली ¥याप जगतमा अमिट छाप छोड्न सफल छोरालाई २९ वर्षको उमेरमा गुमाएपछिको यी जोडीको जीवन  कठिनतम अवश्य छ । तर यी दुईमा दुःख आत्मसाथ गर्ने शक्ति छ, सबैभन्दा ठूलो त यी दुईबीच गहिरो स्नेह छ । त्यसैले त आ–आफ्ना चित्तमा आनन्दी हाँसोको फुल फुलाउन सक्षम छन् । संसारलाई प्रेम र सौन्दर्यको एकछत्र राजमा परिणत गर्न यी दुईले उडान भरिरहेका छन् । 

हाँसो–रोदनयुक्त वार्तालापपछि छुट्टिने बेला यो जोडीलाई ‘सधैँ यस्तै देख्न पाइयोस् है’ भनेर निस्कनै लाग्दा उर्मिलाले भनिन्, ‘हाम्रो मृत्यु पनि सँगसँगै होस् भन्ने हाम्रो चाहना छ । किनभने एउटा पीडामाथि अर्को पीडा थपिँदा हामी दुबैले सहन सक्छौँ जस्तो मलाई लाग्दैन । त्यसैले एकैदिन मर्न पाऔँ, सकेसम्म एउटा चितामा जल्न पाऊँ । ’

यति भनिसक्दा उनका आँखाहरु अस्वाभाविक रुपमा द्रवित भएका थिएँ, म भने अवाक्, यो जोडीसँग विशेष अनुगृहित भएर बाहिरिएँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।