ad
x
संगीतको कथा

जसले छोरा बितेको खबर सुन्दा पनि दर्शक नचाए

देव रानाः नेपालका ‘पहिलो ड्रमर’

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0

 


रकस्टार कर्ट कोबेनको मृत्युपछि उनकी आमाले भनेकी थिइन्, ‘कोबेन बुढो आत्मा भएका जवान व्यक्ति थिए ।’ तर हामीलाई यो कुरा सुनाउने व्यक्ति ‘जवान आत्मा भएका एक ज्येष्ठ नागरिक’ हुन् । त्यसैले त जीवनको ७० वर्ष पुग्नै लाग्दा पनि उनी जोसिला, रसिला, हँसिला र मिजासिला छन् । उनको अक्कल, आँट र जाँगर प्रशंसनीय छ । उनको लवाई, बोलाई र हिँडाई हेर्दा उनको वास्तविक उमेर सायदै कसैले सटिक रुपमा भन्न सक्ला । गोलो आकारको गगल्स, अघिल्तिर छोटो पारेर ठाडो पारिएका र पछिल्तिर पालेको लामो कपाल उनका पहिचान हुन् ।    



हुन त उनीे चकाचौंधले भरिपूर्ण साङ्गीतिक क्षेत्रमा सक्रिय छन् । उनी ग्ल्यामर, स्टाइल, लाइट, क्यामेरा, दर्शकजस्ता कुरासँग परिचित, अभ्यस्त र सहज छन् र त यति टाढासम्म आइपुगेका छन्, ‘लिभिङ लेजेन्ड’ को रुपमा आफूलाई स्थापित गराउन सफल भएका छन् ।

उनको काम यदि नेपाली साङ्गीतिक क्षेत्रमा नभएको भए सायद नेपालमा नाइन्टिजको रक भन्ने नै हुँदैनथ्यो होला, रक एण्ड रोल सङ्गीतले नेपालमा अहिले जति फड्को मारेको छ, सायद यो यति टाढासम्म आइपुग्दैनथ्यो होला । उनले जे जति गरे त्यसले रक सङ्गीतमा लाग्ने पछिल्ला पुस्तालाई मार्ग प्रशस्त गरिदियो, सहज बनाइदियो ।

नेपाली साङ्गीतिक क्षेत्रलाई आधुनिकीकरण गराउन भूमिका खेल्ने, नेपाली साङ्गीतिक आकाशका स्थापित र सम्मानित व्यक्तित्व साथै सर्वमान्य, जाज्वल्यमान नक्षत्र तथा अग्रज ड्रमर देव रानाले रातोपाटीसँग चित्तको दैलो उघारेर जिन्दगीको हिजो, आज र भोलिबारे बात मारेका छन् । 

मलेसिया, हङकङमै बाल्यकालः

देव राना तीन वर्षको हुँदा उनका बेलायती गोर्खा सैनिक बुवाले आमासँगै मलेसिया लिएर गए । बुवा जता जान्थे, परिवार पनि सँगै हुन्थ्यो । तसर्थ उनको बाल्यकाल धेरैजसो मलेसिया र हङकङमा बित्यो । बुवाले त्यहाँ उनलाई ब्रिटिश स्कूलमा पढाए । ‘राम्रो स्कूल पढ्नुपर्छ, अंग्रेजी बोल्नुपर्छ, डिग्री हासिल गर्नुपर्छ,’ बुवाको यस्तै मान्यता उनले अनुसरण गर्दै गए ।  स्कूल पढ्दै उनलाई सङ्गीतको तरङ्गले कताकता छोइसकेको थियो । विदेश हुँदा आफ्नो कोठाको भित्तामा बिटल्स, रोलिङ स्टोन्सका कभर फोटोहरु टाँस्थे । बुवालाई पश्चिमा सङ्गीतबारे खासै जानकारी नभएकोले कहिलेकाँही सैनिकका वरिष्ठ अधिकारी आउन लाग्दा ‘ए बाबु, को हो यो कपाल लामो लामो भएको, यिनीहरुलाई उता राख’ भन्ने गर्नुहुन्थ्यो ।

देव राना विदेश भए पनि उनको सोच भने नेपाल नै फर्कने थियो । उनले बुवालाई आफ्नो सोचबारे अवगत पनि गराएका थिए । बुवाले छोरालाई मनको कुरा पछ्याउन रोकेनन् ।

‘त्यतिबेला मसँग अध्ययन गर्ने साथीहरुमध्ये ७० प्रतिशत ब्रिटिश आर्मीमा जानुभयो । अहिले सबैजना अफिसर भएर, रिटायर्ड भएर बेलायत बस्न थाल्नुभएको छ । म राम्रै थिएँ, आर्मीका लागि म दक्ष थिएँ जस्तो लाग्छ । सायद म ड्रमर देव रानाको साटो क्याप्टेन देव बहादुर राना हुन्थेँ होला । तर कुनै अफिसर नभए पनि म खुसी छु,’ उनले बडो स्वादे स्वरमा भने ।

बुवाले सेनामा जाने दबाब दिनुभएन ?

जवाफमा उनले निधार मुजा पार्दै भने, ‘बुवाले ‘तिमी जान चाहन्छौ भने त्यो तिम्रो इच्छाको कुरा हो, चाहन्नौं भने तिमीलाई दबाब दिन्नँ,’ भन्नुहुन्थ्यो । उहाँले २८ वर्षको आर्मी जीवन बिताउँदा पनि मलाई दबाब दिनुभएन । यो कुरामा बुवाप्रति म असाध्यै आभारी छु ।’

पिताको मञ्जुरी पाएपछि उनी १९७० ताका १६–१७ वर्षको हुँदा नेपाल फर्किए । सोचे– बुवाले भनेको मान्नेछु । सिनियर केम्ब्रिज गर्नेछु, डिग्री हासिल गर्नेछु ।

तर भाग्यले उनलाई अर्कैतिर डो-यायो । त्यतिबेला कक्षा ११ मा सिनियर केम्ब्रिजको कोर्स हुन्थ्यो । तर विभिन्न कारणवश उनले कक्षा १० मा विद्यालय छोड्नुप-यो ।

१७ वर्षे किशोरमा हिप्पीजको प्रभाव र संगत

फर्किएपछि सुरुमा उनले विभिन्न क्लबका लागि फुटबल खेले । उनी १६–१७ वर्षको हुँदा काठमाडौंमा हिप्पीजहरुको उदय भइरहेको थियो । बौद्ध र स्वयंभुतिर ‘फूलमून पार्टी’ हुन्थे, जताततै साङ्गीतिक माहौल हुन्थ्यो । विदेशमा हुर्किएका र सङ्गीतमा रुची भएकाले उनी पनि हिप्पीजकै संगतमा लागे ।

कसैले गितार ल्याउँथे, कसैले के ल्याउँथे । सबैले ल्याएको बाजागाजा मिलेर बजाउँथे । त्यतिबेला काठमाडौंमा क्लब र सङ्गीतकर्मीहरु औँलामा गन्न सकिन्थ्यो ।

सोच्दा पनि अचम्म लाग्छ, ड्रम बजाउन थालेको ५० वर्ष बित्यो । विगत फर्केर हेर्दा मनमा उठेका आश्चर्य र आनन्दको भावलाई शब्दको धागोमा उनेर भन्न मुस्किल पर्छ ।

समूहमा कान्छो भएकोले ड्रम बजाउनुप-यो

उनीजस्तै बेलायती सैनिकका केही सन्तान काठमाडौं आए । एकदिन भेला हुँदा ‘हामी पनि रक एण्ड रोल बजाऔँ न त’ भनेर साथीहरूबीच छलफल भयो । सबैजना गितार बजाउँथे । ड्रम बजाउने त कोही पनि भएन । समूहमा सबैभन्दा कान्छा उनी नै थिए । दाइहरुले ‘देव ! यू प्ले ड्रम्स, हामीलाई त बजाउन पनि आउँदैन । हामी गितार बजाउँछौँ’ भने । उनलाई पनि बजाउन त कहाँ आउँथ्यो र ? तर कुनै हिचकिचाहट बिना सहमति जताए । १७ वर्षका ती किशोरले त्यसबेला थप ५० वर्षसम्म हात र मस्तिष्कको मितेरी साइनोमा ड्रम नै रहला भनेर सोचेका थिएनन् ।

‘गड ह्याज सेन्ट मी टु प्ले ड्रम्स’

सोच्दा पनि अचम्म लाग्छ, ड्रम बजाउन थालेको ५० वर्ष बित्यो । विगत फर्केर हेर्दा मनमा उठेका आश्चर्य र आनन्दको भावलाई शब्दको धागोमा उनेर भन्न उनलाई मुस्किल पर्छ । ‘अहिले पछाडि फर्केर हेर्दा कसरी म्यानेज गर्‍यौं होलाजस्तो लाग्छ । तर हामीले गर्‍यौं । त्यतिबेला गाह्रो त थियो तर मलाई कुनै सिकायत छैन,’ उनी भन्छन्, ‘म आफूलाई भाग्यमानी नै ठान्छु किनभने मैले त्यस्तो काठमाडौं देख्न पाएँ जसलाई प्रविधिले कहाँबाट कहाँ पुर्याइदियो । यद्यपि, म प्रविधिबारे खासै जानकारचाहिँ होइन ।’

उरन्ठेउलो उमेरमा रमाइलोका लागिमात्रै बजाए पनि साथीहरुबीचको ट्युनिङ निकै मिलेको राना स्मरण गर्छन् । ‘त्यतिबेला तारे होटलहरूमा भारतीय र विदेशी कलाकारको बर्चस्व थियो । हाम्रो समूहले उनीहरुलाई लगभग बिस्थापित नै गरिदियो,’ राना भन्छन्, ‘अनि बिस्तारै लाग्न थाल्यो भगवानले नै मलाई ड्रमसेट बजाउन पठाएका हुन् ।’

त्यतिबेला ड्रमसेट भन्ने नै हुँदैनथ्यो, तर अहिले उनलाई यस्तो लाग्छ कि भगवानले उनलाई ड्रमसेट नै बजाउन पठाएका हुन् । उनी भन्छन्, ‘गड ह्याज सेन्ट मी टु प्ले ड्रम्स, मेरो भाग्यमा ड्रम बजाउने लेखिएकै भएर होला, सबैतिरबाट उत्कृष्ट ड्रम बजाउने मेलोमेसो मिल्दै गयो । ९० को सुरुवाती दशकमा अमेरिकी व्यवस्थापन भएको लिंकन स्कूलमा सङ्गीत शिक्षकको रुपमा पार्टटाइम काम पाएँ । यसरी बिस्तारै मेरो प्यासन पेसामा परिणत हुन गयो ।’

स्टाइलिस ड्रमर

उनलाई धेरैले नेपालका प्रथम ड्रमर मान्छन् । तर यसमा उनको भद्र असहमति छ । ‘ड्रमसेटलाई स्टेजमा लगेर ग्ल्यामराइज गरेकाले होला मैले यो टाइटल छातीमा बोकेर हिँड्नुपरेको छ । हामीले सन् १९७२ मा सिटी हलमा ड्रम पड्काउँदा मानिसहरु निकै उत्साहित थिए,’ उनले भने, ‘उनीहरुलाई ड्रमर भनेको यस्तो हुन्छ भन्ने भयो होला । ड्रम भन्ने कुरा त यसरी बज्दोरहेछ भन्ने फिल पनि धेरैलाई भएको त्यो पहिलो अवसर थियो कि जस्तो लाग्छ । यसपछि बिस्तारै माया गरेर कतिपयले मलाई नेपालकै पहिलो ड्रमर भन्न थाल्नुभयो ।’

युवा पुस्ताले गरेको सम्मानप्रति भने उनी निकै आभारी छन् । ‘मैले गरेको त केही पनि छैन, खाली ड्रममात्र बजाउँदै आएको त हो, तर त्यो लेगेसी, सानो चिनारीचाहिँ बस्दो रहेछ,’ उनले भने, ‘मलाई लाइफटाइम अचिभमेन्ट अवार्ड नै तीनवटा मिलिसक्यो । योभन्दा ठूलो सम्मान अरु के नै होला र ?’

तर आफूलाई नै पहिलो ‘ड्रमर’भन्दा सिनियर दाइहरू प्रति अन्याय हुन्छ कि भन्ने ठान्छन् उनी । उनले भने, ‘किनकी मभन्दा पहिले पनि ठूल्ठूला तारे होटलमा दाइहरुले ड्रम बजाउनु हुन्थ्यो । सायद उहाँहरु कोही पनि अहिले हुनुहुन्नँ होला । यद्यपि, उहाँहरुप्रति मेरो सम्मान यथावत् छ ।’

युवा पुस्ताले गरेको सम्मानप्रति भने उनी निकै आभारी छन् । ‘मैले गरेको त केही पनि छैन, खाली ड्रममात्र बजाउँदै आएको त हो, तर त्यो लेगेसी, सानो चिनारीचाहिँ बस्दो रहेछ,’ उनले भने, ‘मलाई लाइफटाइम अचिभमेन्ट अवार्ड नै तीनवटा मिलिसक्यो । योभन्दा ठूलो सम्मान अरु के नै होला र ?’

यत्तिका वर्षसम्म ड्रम खेलाउन के कुराले प्रेरणा दियो ?

अंग्रेजी बोल्न सहज मान्ने उनले भनिहाले, ‘लभ फर म्युजिक एण्ड द ह्याप्पिनेस द्याट  म्युजिक ह्याज गिभन मी । मलाई सङ्गीतले यस्तो आमोद दियो कि, त्यसबाट म पहिला त अलग्गिन सकिनँ, अब झन् कसरी सक्छु ! यदि गरिहालेँ भने पनि त्यो व्यर्थ हुन्छ किनभने म अब जवान पनि रहिनँ । म प्रत्येक दिन बुढ्यौलीतिर प्रवेश गर्दैछु । सङ्गीतमा लागेपछि शान्ति पाएँ, खुसी पाएँ, दीर्घायु पाएँ, आशीर्वाद पाएँ । मलाई अरु के नै चाहियो र ?’

ब्रुस ली र रिङ्गो स्टारको फ्यूजन

बिटल्सका ड्रमर रिङ्गो स्टारलाई आफ्नो प्रेरणाको स्रोतका रुपमा लिने राना हलिउड अभिनेता स्वर्गीय ब्रुस लीका पनि ठूला फ्यान हुन् । करियरको सुरुवाती समयदेखि अहिलेसम्म उनले रिङ्गो स्टारलाई पछ्याइरहेका छन् । उनी भन्छन्, ‘सुरुमा नबुझी रिङ्गो स्टारको फ्यान भइयो, जब उनको कला बुझ्न थालेँ अनि झनै मन पर्न थाल्यो । अहिले ८० वर्षको भइसक्दा पनि उनी उत्तिकै उत्कृष्ट छन् ।’

रानाले अगाडि भने, ‘मेरो अर्को आइडल ब्रुस ली हुन् । उहाँको पर्सोना, आभा, अदाय, मार्सल आर्टस्मा उहाँको नान्चा प्लेइङ, इमोसनल, प्रोग्रेसन त्यो सबै मलाई ड्रम्समा ल्याउन मन प¥यो । एउटै मान्छेमा यी सबै गुण कहाँ हुन्छ ? उहाँले नान्चाले मान्छेलाई हिर्काउनुहुन्छ, मचाहिँ स्टिक्सले ड्रम्सलाई हिर्काउँछु ।’

भेट भएको दुई हप्ताभित्रै विवाह

सङ्गीतकर्म झैं आफ्नो विवाहलाई पनि उनी संयोग मान्छन् । सन् १९७४–७५ मा धरानको पहिलो रक ब्यान्ड ‘इम्याजिनेसन’ ले ड्रमरको रुपमा उनलाई प्रस्तुति दिन बोलाएको थियो । उक्त कन्सर्टमा साथीको करकापमा परेर उमा राई पनि कन्सर्टमा पुगेकी थिइन्, जो उनको जीवनसंगिनी नै बनिन् ।

विगत केलाउँदै उनले भने, ‘उनले मैले ड्रम बजाएको हेरिछन् । मन परेछ । यत्तिकैमा हाम्रो भेट भयो । म त्यतिबेला २२ वर्षको थिएँ, उनी २१ वर्षकी । युवावस्थाको प्रेम भएकोले होला हामीले भेट भएको दुई सातामै विवाह गर्ने निर्णय गर्‍यौं​ । त्यसको झण्डै डेढ वर्षपछि छोरा डेनिसको जन्म भयो ।’

सन् २०१० मा सत्यको सेतो चादर ओढेर श्रीमती उमा​ पञ्चतत्वमा विलिन भइन् । ‘छोराले उमालाई ‘आमा ! तपाईं जानुस्, हामी पछि आउँछौं, बाबालाई म नै हेर्छु, भनेर अन्तिम समयमा बचन दिएको रहेछ । आमाको अन्तिम सास शान्तसँग जाओस् भनेर उसले यस्तो गरेको रहेछ,’ यति भनिरहँदा रानाको आँखाको चमक कतै अलप भयो । 

छोरासँगको त्यो अँगालो

सन् २०१७ मा झापा उर्लाबारीमा महाशिवरात्रिको कार्यक्रमका लागि देवले सम्झौता गरिसकेका थिए । छोरा अस्पतालको शैय्यामा भएकोले उर्लाबारी जाने कि नजाने भनेर उनले सटिक निर्णय लिन सकेनन् । तर उनलाई छोराले नै जान करबल गरे । ‘बाबा, तपाईं जानै पर्छ, म बिरामी हुनुभन्दा अघि नै यस कार्यक्रमका लागि तपाईंले कमिटमेन्ट गरिसक्नुभएको थियो । त्यसैले उर्लाबारीमा गएर बजाउनुपर्छ’ भन्यो । पिता न हुन् ! छोरालाई त्यो हालतमा छाडेर पाइला कहाँ सजिलै अघि बढ्छ र ? उनले छोरालाई पुनः सोधे, ‘म जाऔँ त बाबु ?’

जीवनको त्यो कठिन पल सम्झँदै उनी भन्छन्– उसले मलाई ‘आई विल बी ओके’ भन्यो अनि अँगालो मार्‌यो । कठिन पल, जाडोको दिन अनि छोराको त्यो कसिलो अँगालो । नियतिले यतै कतै झटारो हान्छ भन्ने उनले पत्तो नै पाएनन् । तर छोरासँगको अँगालो त्यो नै अन्तिम रहेछ ।

उनी भन्छन्, ‘दिमागले राम्रोसँग काम गरेन । सबै स्तब्ध भए । के गर्ने ? के गर्ने ? त्यसपछि मैले नै म कार्यक्रम गर्न आएको हुँ, मेरो छोराको मृत शरीर काठमाडौंमा भएपनि आत्मा यतै वरिपरि होला र छोराले नै मलाई कार्यक्रममा जानु भनेकाले उसको आत्मालाई बुवाले ड्रम बजाउँदा शान्ति मिल्छ होला भनेँ ।’

‘अस्पतालबाट निस्कँदा मैले उसलाई एकपल्ट फर्किएर हेरेँ, उसले मलाई हेरिरहेको रहेछ, त्यसपछि मैले बुढी औंला देखाएर बाबु म आउँछु है त भनेँ । त्यसपछि उसले बोलेन, खाली टाउको हल्लाएर इशाराले हुन्छ भन्यो,’ चमक फिका भएका उनका आँखा हेर्दाहेर्दै रसिला भए, गला अवरुद्ध भयो ।

बिहान ५ बजे छोरासँग बिदा भएर हिँडेका उनी बेलुका ६ बजे उर्लाबारी पुगे । उनीहरुलाई उर्लाबारीमा असाध्यै ठूलो स्वागत भएको थियो । रात्रिभोज चलिरहेका बेला साढे ७ बजेतिर टेकु अस्पतालमा छोरा बितेको खबर कानमा पर्यो । 

उनी भन्छन्, ‘दिमागले राम्रोसँग काम गरेन । सबै स्तब्ध भए । के गर्ने ? के गर्ने ? त्यसपछि मैले नै म कार्यक्रम गर्न आएको हुँ, मेरो छोराको मृत शरीर काठमाडौंमा भएपनि आत्मा यतै वरिपरि होला र छोराले नै मलाई कार्यक्रममा जानु भनेकाले उसको आत्मालाई बुवाले ड्रम बजाउँदा शान्ति मिल्छ होला भनेँ ।’

भोलिपल्ट कार्यक्रममा दर्शकको ओइरो लाग्यो । तर उनलाई अन्य समयभन्दा त्यतिबेला ड्रम बजाउँदा थोरै भिन्न महसुस भयो । उनले  आँधी उठेको छातीसहित भने, ‘दर्शकहरुले भरपुर रमाइलो गर्नुभयो । ड्रम पछाडि बसेको मैले थुप्रैजना नाचिरहेको देखेँ तर शारीरिक हिसाबले नर्मल नै भएपनि मानसिक रुपमा कताकता हराएको थिएँ । ड्रम बजाइराख्दा मैले सोचिरहेको थिएँ कि मेरो भरोसा त अब सिद्धियो । कार्यक्रमपछि थाहा भयो फ्यानहरुले मेरा लागि रकम संकलन गरिदिनुभएको रहेछ । उहाँहरुले त्यस्तो कठिन समयमा देखाउनुभएको मायाप्रति म सधैं आभारी रहनेछु,’ उनले भने ।

ड्रम नै साथी

‘सायद त्यही मायाले नै होला मलाई आजीवन सङ्गीतमा तल्लीन हुन ऊर्जा मिल्यो । तर फेरि कताकता लाग्छ भगवानले नै मलाई ड्रम बजाउन पठाएका हुन्,’ उनी भन्छन्, ‘म जतिबेला पनि ड्रमको पछाडि बस्छु तब भित्रैबाट अलग ऊर्जा आउँछ । दुःख तनाव सबै बिर्सन्छु ।’

‘जीवन के हो त ?’ उनको अनुभव जान्ने हेतुले सोधिएको प्रश्नमा उनले भने, ‘मेरो अनुभव अनुसार जीवन अमूल्य छ । तपाईं एकपटक मात्रै बाँच्नु हुन्छ । म मेरो जीवनको प्रत्येक क्षणलाई महत्व दिन्छु । विगतलाई परिवर्तन त गर्न सकिँदैन । भोलि के हुन्छ, त्यो पनि थाहा छैन । तर हामीले आफ्नो जीवनलाई स्टाइलिस, आर्टिस्टिक र क्रिएटिभ रुपमा अघि बढाउनै पर्छ ।’

युवापुस्तालाई उनको सुझाव छ, ‘अलिकति सोचेर, सम्हालिएर हिँड्नुहोस् तर कहिल्यै विचलित नहुनुहोस्, भगवानको आशीर्वाद सधैं तपाईंसँग छ । रातपछि बिहान अवश्य आउँछ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।