आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले विराटनगरलाई ‘कामत’ बनायो : ढकाल

मोरङमा पहिलेको भन्दा बढी सिट जित्ने एमालेको दाबी
शुक्रबार, २७ फागुन २०७८, ०८ : ५२
शुक्रबार, २७ फागुन २०७८

नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकाल २०७४ सालको चुनावमा विराटनगर महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । चुनावमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले जिते । यसपालि पराजुली दोहोर्याउने पक्षमा छन् भने एमाले नेता ढकालचाहिँ मेयरमा नउठ्ने निर्णयमा पुगेका छन् । उनी मोरङबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा छन् । 

ढकालको परिचय मेयरको पूर्वउम्मदेवारका रुपमा मात्रै छैन, उनी नेकपा एमालेका केन्द्रीय नेता एवं मोरङ जिल्लाका इञ्जार्चसमेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र मानिने उनी मोरङमा एमालेका शक्तिशाली नेता मानिन्छन् । एमालेबाट मोरङका १७ वटा स्थानीय तह, १२ वटा प्रदेशसभा सदस्य अनि ६ वटा संसदीय सिटमा कसले टिकट पाउने, नपाउने ढकालको हातमा छ । 

यसअघि बिराटनगर महानगरपालिकाको नेतृत्व गर्न नपाएका ढकाल नेपाली काँग्रेसले बिराटनगरको विकासमा केही पनि काम गर्न नसकेको आरोप लगाउँछन् । काँग्रेसले बिराटनगरलाई कामत (जमिन्दारको खेत) जस्तो बनाएको उनको आरोप छ । 

नेकपा एमाले विभाजित भए पनि जिल्लामा बलियो रहेको र आगामी स्थानीय चुनावमा विगतको भन्दा राम्रो परिणाम आउने ढकालको दाबी छ । विराटनगरमा पनि एमालेले जित्ने पालो आएको उनले दाबी गरे । 
मोरङमा एमालेको चुनावी तयारी, अनि बिराटनगरको अवस्थाबारे एमाले नेता ढकालसँग रातोपाटीले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ–  
  

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दैछ । नेकपा एमालेले मोरङमा चुनावको तयारी कसरी गरिरहेको छ ?

संगठन निर्माण, जनपरिचालनको अभियानमा हामी छौं । चुनावको कार्यक्रम चाहिं घोषणा गरिसकेका छैनौं । चुनावको पूर्व तयारीको रूपमा हामी काम गरिरहेका छौं । विशेष गरी संगठन निर्माणमै केन्द्रित छौं । 

उम्मेदवार चयनको विषयमा के हुँदैछ ? यसअघिको निर्वाचनमा तपाईले विराटनगरको मेयरमा प्रतिस्पर्धा गर्नुभएको थियो, यसपालि पनि उठ्नुहुन्छ ? 

व्यक्तिगतरुपमा मैले अघिल्लो पटक पनि चुनावमा उठ्ने तयारी गरेको थिइँन । मैले उम्मेदवार होइन भनेर मिडियामा, पेपरमा बोलेको पनि थिएँ । परिस्थितिले त्यसबेला मेयरको उम्मेदवार बन्नुपरेको थियो । यसपटक म मेयरको उम्मेदवार हुन्नँ । 

फेरि पहिलेजस्तै परिस्थिति बनेर पार्टीले टिकट दियो भने नि ?

यसपटक त्यस्तो नहोला (हाँस्दै) । सँधै त्यस्तो हुँदैन पनि जस्तो लाग्छ । 

विराटनगरमा एमालेले जित्छ त ? यहाँको अवस्था के हो ?

विराटनगरको इतिहास हेर्ने हो भने ०४४ सालमा जनपक्षीय उम्मेदवार भनेर हामीले उठाएका ध्रुवनारायण श्रेष्ठले चुनाव जित्नुभयो । बहुदल आएपछि भएको ०४८ सालको चुनावमा हामीले हार्यौं । त्यो चुनावमा हाम्रो आफ्नै अनुभवको कमीले हार्यौं । हामीले सबै बुथहरु बहिष्कार गर्ने भनेर हारेका हौं । काँग्रेसको सरकार थियो उसले त्यसबेला बुथ कब्जा गरेको थियो । तथापि केही ठाउँमा हामीले जित्यौं ।

त्यसपछि ०५४ सालको चुनावमा रमेशचन्द्र पौडेल हाम्रो उम्मेदवारले चुनाव जित्नुभयो । त्यसपछिको ०७४ सालको चुनावमा हामीले हार्यौं । ०७४ को चुनावमा आन्तरिक कारणले पनि र केही टेक्निकल कुराहरु पनि थिए ।
त्यसपछि अब चुनाव हुँदैछ । विराटनगरको कस्तो छ भने पहिलो जित्यौं, दोस्रो हार्यौं, तेस्रो जित्यौं फेरि चौथो हार्यौं । अब अर्को आउँछ भनेपछि हामी जित्ने समय हो । समग्र जनमतको हिसावले हेर्ने हो भने पनि हाम्रो जनमत राम्रो छ । विराटनगरको सत्तापक्षले काम गरेको मूल्यांकनका आधारमा गएको ५ वर्षको अवस्था हेर्ने हो भने पनि जनताले राम्रोसँगले मूल्यांकन गरेका छन् ।

जनप्रतिनिधिले ५ वर्षमा के गरे त ? भन्ने प्रश्न छ । त्यसकारण यसपटक नेतृत्व परिवर्तनको सम्भावना छ । स्थानीय सरकारको टे«ण्ड पनि के हो भने ५ वर्षका जनप्रतिनिधिको मूल्यांकन गर्ने । यहाँका जनताले परिवर्तन चाहेको छ । अघिल्लो पटक पनि हामी दोस्रो स्थानमा थियौं । त्यसकारण हामीले विराटनगर महानगरपालिकाको चुनाव जित्ने आधार सुनिश्चित छ । 

०७४ सालको निर्वाचनमा चाहिँ एमालेले किन हार्यो जस्तो लाग्छ ? 

विगतको हामीले समीक्षा गरेका छौं । त्यतिखेर एक त म चुनावमा उठ्ने तयारीमा थिइनँ । मैले चुनावमा उठ्ने गरी तयारी पनि गरेको थिइनँ । अन्तिम समयमा उठेको हुँ । पार्टीको जिल्ला समितिको अध्यक्ष पनि म आफैं थिएँ । टिकट वितरणको जिम्मा पनि मेरो नै थियो । अनि आफैं उम्मेदवार बनेपछि टिकट पाउनेहरु त खुसी नै भए, नपाउनेहरुले ‘रियाक्सन’ गरे । आफैं भान्से भन्ने कुरा पनि आयो ।

त्यसबाहेक पार्टीभित्रको अन्तरविरोध पनि तीब्र गतिमा थियो । चुनावमा घात–अन्तरघात पनि देखिने गरी नै प्रकट भयो । जहाँ–जहाँ काँग्रेसको प्रभाव थियो, त्यहाँ हामीले राम्रो मत ल्याएका छौं । जहाँ हाम्रो प्रभाव बढी थियो, त्यहाँ हार्ने अवस्था बन्यो । त्यो कारणले गर्दा पनि हामीलाई चुनावमा परिणाम अनुकूल भएन ।

दोस्रो कुरा, चुनावको क्याम्पेनिङ गर्ने समय पनि कम भयो । जिल्लाको चुनावी प्रचारको कमाण्डर पनि आफैं हुनुपर्यो, उम्मेदवार पनि हुनुपर्ने, चुनावको संयोजन पनि गर्नुपर्ने भएकाले समस्या भयो र पराजय भोग्नुपर्यो । 

यसपटक चाहिँ एमालेभित्र घात–अन्तरघात नहोला त ? 

योपटक पहिलेको समीक्षा गरेका छौं, सिकेका छौं । पार्टीभित्र धेरै ठूलो अन्तरविरोध छैन । पार्टी एकतावद्ध छ । हामीसँग चुनावमा जाने प्रशस्त इस्युहरु छन् । वास्तवमा विराटनगर भनेको आदिवासीको ठाउँ हो । राणाहरुकै पालादेखिको आर्थिक राजधानी हो ।

विराटनगरबाटै औद्योगिक सुरुवात भएको हो । विराटनगरमा मुलतः काँग्रेसले पटकपटक अवसर पाएको हो । राष्ट्रिय राजनीतिमा त गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री हुनुभयो । महेश आचार्य अर्थमन्त्री हुनुभयो । उहाँहरुले पटकपटक संघीय संसद र सरकारमा प्रतिनिधित्व गरेका छन् । काँग्रेसले विराटनगरलाई कामत जस्तो बनायो । बाली उठाउने, खाने । ‘कामत’ चाहिँ जस्ताको त्यस्तै हुनेजस्तो भएको छ । विराटनगरमा काँग्रेसले ध्यान दिएन ।

एमालेले चाहिँ के गर्यो त ?

हाम्रो पार्टीले सरकारमा रहँदा विराटनगरको समग्र विकासका लागि पार्टी सत्तामा हुँदा पर्याप्त ध्यान दिएका र्छौं । केही काम गर्ने प्रयास पनि गरेका छौं । जस्तो– कोशी अस्पताल ठूलो र आधुनिक अस्पताल बनाउने गरी बजेट विनियोजन गरेका छौं ।

विराटनगर एयरपोर्ट क्षेत्रीयस्तरको बनाउनका लागि बजेट विनियोजन गरेर काम अगाडि बढेको छ । अहिले रोकिए पनि त्यो कामको सुरुवात भएको छ । खेलकुदको केन्द्र भएको विराटनगरलाई प्रदेश सरकारमा हाम्रो पार्टी हुँदा फ्लड लाइन जडान गर्ने काम गरेर रात्रीकालीन खेल हुने अवस्था बनेको छ ।

विराटनगरमा अहिले भएको विकासको काम एडीबीको योजनामा भएको काम पनि हाम्रै पालामा सुरुवात भएको हो । पहिले नै हाम्रो पार्टीबाट निर्वाचित रमेशजी मेयर भएका बेला अगाडि बढाएको प्रोजेक्ट हो । यहाँको ढल निकासलगायतको अनेक काम छ नि यो ५ वर्षमा चाहिँ काँग्रेसले केही गर्न सकेन ।

त्यतिकै समय बितायो । हामीसँग थुप्रै इस्युहरु छन् । विराटनगरको जुन परम्परा र लिगेसी छ नि त्यो काँग्रेसले बचाउन सकेन भन्ने म्यासेज पनि जनतामा गएको छ, जसले गर्दा हामीले विराटनगर महानगरपालिकामा चुनाव जित्ने आधार तयार भएको छ र हामी त्यही तयारीमा छौं । 

यहाँले एमालेभित्रको अन्तरविरोध हल भयो, अब घात–अन्तरघात हुँदैन भन्नुभयो । तर, हिजो अन्तरविरोध राख्नेहरु पार्टी छाडेर माधव नेपालतिर गएका छन् । पार्टी फुटेको छ, यस्तो अवस्थामा एमालेको अवस्था सध्रिएको छ भनेर कसरी मान्ने ?

फुट विभाजनको त्यस्तो असर छैन । विराटनगरमा केही मानिसहरु अलग भएका छन् । तर, विराटनगरमा धेरै असर छैन । जतिले पार्टी छोड्नुभएको छ, त्योभन्दा धेरै साथीहरु अन्य पार्टीबाट हाम्रो पार्टीमा प्रवेश गरेका छन् । माओवादी, काँग्रेस, राप्रपा, मधेसवादी दलबाट एमालेमा प्रवेश गरेका छन् ।

हामीले यो बीचमा टोलटोलमा गएर संगठन विस्तार पनि गरेको छौं । एमालेको सोसियल इमेज पनि विगतमा भन्दा बढेर गएको छ । फुट विभाजनका कारणले स्थानीयदेखि कुनै पनि चुनावमा प्रभाव पर्ने सम्भावना कम छ । 

०७४ सालको चुनावमा अन्तरघात गर्नेहरु नै फुटेर गएका हुन् ? 

अहिले म त्यो पंक्तिको विषयमा धेरै टिप्पणी गर्न चाहन्नँ । तर, पावर सेन्टरहरु धेरै हुँदा त्यसको रिफ्लेक्सन धेरै थियो । पावर सेन्टरहरु बाहिर गएका कारण पार्टीभित्र चलखेल हुने सम्भावना कम भएको छ । 

तर, एमालेका महेश रेग्मीजस्ता पुराना नेताहरुले पार्टी छाडेर जाँदा समस्या पर्दैन ? 

महेशजीहरुबारे धेरै टिप्पणी गर्न त म चाहन्नँ । मभन्दा सिनियर नेता हुनुहुन्छ । तर, उहाँको व्यक्तिगत प्रभावले एमालेलाई हराउनेखालको अवस्था होइन । हामी जित्नेगरी तयारी गरिरहेका छौं । 

गठबन्धनको तयारी के–कसरी अगाडि बढिरहेको छ ? एमाले एक्लै लड्छ कि विगतमा जस्तै गठबन्धन गर्छ ? 

विगतमा हामीले विजय गच्छदारको पार्टीसँग गठबन्धन गरेका थियौं, त्यति राम्रो रिजल्ट देखिएन । त्यसले गर्दा हामी योपटक आफ्नै शक्ति र तागतमा चुनाव लड्नुपर्छ भन्नेमा छौं । तालमेलका लागि बाटै बन्द गरेको चाहिँ होइन । 

गठबन्धनको विषयमा अहिलेसम्म हामीले छलफल गरेका छैनौं । हामी त्यसमा खुल्ला नै छौं । अहिलेसम्म हामी एक्लै चुनाव लड्ने तयारीमा छौं । भोलि छलफल भयो, अरू पार्टीसँग सम्वाद हुने भयो भने हामीले बाटो बन्द गरेका छैनौं । 

यसपालि लोसपा र राप्रपासँग एमालेको गठबन्धन होला कि नहोला ? 

विराटनगरमा लोकतान्त्रिक समाजवादीको त्यति प्रभाव छैन । बरु जनता समाजवादी पार्टीको प्रभाव देखिन्छ । राप्रपाको ठूलो पंक्ति हामीसँगै आइसकेको छ । पार्टी प्रवेश गरिसकेको अवस्था छ । त्यो लेबलमा हामीले उनीहरुसँग छलफल गरेका छैनौं । तपाई एमाले मोरङको इञ्चार्ज हुनुहुन्छ ।

समग्र मोरङमा चाहिँ एमालेले स्थानीय चुनावको तयारी कसरी गरिरहेको छ ? 

मोरङमा हामीले यसअगाडिको भन्दा उल्लेखनीय सिट जित्छौं । पहिले हामीले तीनवटा पालिका अध्यक्ष तथा दुईवटा नगरपालिकामा प्रमुख जितेका थियौं भने ९ वटामा उपमेयर जितेका थियौं । यसपटक हामी उल्लेखनीय सिटमा विजय हासिल गर्ने तयारीमा छौं । 

पार्टी फुटेको समयमा मानिसहरुले यो कुरा पत्याउलान् र ? 

त्यो त चुनावको परिणामले देखिन्छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप