मोरङका १७ पालिका प्रमुख भन्छन्– फेरि चुनाव लड्ने हो !
विराटनगर । मोरङ जिल्लामा बिराटनगर महानगरपालिकासहित १७ स्थानीय तह छन् । ०७४ मा चुनाव जितेका १७ वटै तहका प्रमुखहरु पुनः उम्मेदवार बन्ने दौडधूपमा लागेका छन् । दोहोर्याउने ईच्छा नभएका पालिका प्रमुखहरु मोरङमा एकजना पनि भेटिएनन् ।
०७४ को चुनावमा मोरङका १७ पालिकामध्ये नेपाली काँग्रेसले ९ र एमालेले ५ वटा पालिका प्रमुख जितेका थिए । माओवादी, लोकतान्त्रिक फोरम र मधेसी जनअधिकार फोरम (हालको जसपा) ले एक–एक स्थानमा जितेका थिए ।
माओवादीबाट जितेका रंगेलीका मेयर एमालेमा प्रवेश गरिसकेका छन् भने लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भइसकेको छ । यो हिसाबले हाल मोरङका १७ पालिका प्रमुखमध्ये काँग्रेसका १०, एमालेका ६ र जसपाका एक छन् । उपप्रमुखतर्फ एमालेले ९, काँग्रेसले ४ लोकतान्त्रिक फोरमले २ र माओवादी तथा जसपाले एक–एक स्थान जितेका थिए ।
नेपाली काँग्रेसले बिराटनगर महानगरपालिकासहित उर्लाबारी, लेटाङ, केराबारी, कटहरी, धनपालथान, सुन्दर हरैंचा, रतुवामाई र सुनबर्सीका स्थानीय तहमा प्रमुख पद जितेको थियो । त्यस्तै एमालेले कानेपोखरी, ग्रामथान, मिक्लाजुङ, पथरी र बेलबारीका प्रमुख पदमा जित हात पारेको थियो । माओवादीले रंगेली, फोरम लोकतान्त्रिकले बुढीगंगा र जसपाले जहदाको स्थानीय तहमा जित हात पारेको थियो ।
मोरङका १७ स्थानीय तहमा दलको प्रतिनिधित्व
सबै पालिका प्रमुखको दोहोरिने इच्छा
मोरङका १७ वटै स्थानीय तहका प्रमुखलाई रातोपाटीले फोन गरेर सोध्दा सबैले आगामी चुनावमा दोहोर्याउने इच्छा प्रकट गरेका छन् । आगामी चुनावमा उठ्नुहुन्छ कि विश्राम लिनुहुन्छ भनेर रातोपाटीले सोधेको प्रश्नमा १७ जनाले नै पुनः उठ्ने बताए । यसका लागि पार्टीले निर्णय गर्नुपर्छ भन्ने १० जना छन् भने टिकट लिएरै छोड्छु भन्ने पालिका प्रमुखहरुको संख्या सात छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विगतमा भनेजति काम गर्न नसकेको र अब फेरि जितेर धेरै काम गर्ने आत्मबल आफूसँग भएको बताए । उनले भने, ‘जति धेरै काम गर्नुपर्थ्यो त्यो भएन । कोरोनाले डिस्टर्ब गर्यो । संघ सरकार र प्रदेश सरकार हामी अनुकूल भएन । संघ र प्रदेश सरकारको बजेट देख्न पाइएन ।’
त्यस्तै सुन्दर हरैँचाका प्रमुख शिव ढकालले आउँदो चुनावमा आफू पुनः उम्मेदवार बन्ने बताए । उनको पनि पराजुलीको जस्तै तर्क छ । ‘सीमित स्रोत, साधनकाबीच उत्कृष्ट काम गरेको छु,’ उनले भने, ‘आगामी चुनावमा जनताले जिताए पुनः धेरै काम गर्न सक्छु ।’
पथरी शनिश्चरेका प्रमुख दिलीपकुमार राईले पनि पार्टीले टिकट दिएको खण्डमा आफू फेरि उठ्ने बताए । ‘विगतमा भनेजस्तो काम गर्न पाइएन, पार्टीबीचको टुटफुट, तथा कोरोनाका कारण यस्तो भयो,’ उनले भने, ‘अब चुनावमा उठेर जितेँ भने ५ वर्षे अनुभवका आधारमा धेरै काम गर्न सक्छु जस्तो लाग्छ ।’
१० जना सन्तुष्ट, ७ जना आंशिक सन्तुष्ट
जिल्लाका सबै पालिका प्रमुखहरु आफ्नो विगत ५ वर्षको काममा सन्तुष्ट भने छैनन् । १७ वटै पालिका प्रमुखलाई सोधिएको थियो, ‘तपाईको कार्यकालमा आफूले गरेको कामबाट कति सन्तुष्ट हुनुहुन्छ ?’ जवाफमा १० जनाले काममा सन्तुष्ट छु भनेका छन् भने ७ जनाले ‘आंशिक सन्तुष्ट छु’ भनेका छन् ।
पहिलो कार्यकालको काममा आंशिक सन्तुष्ट हुनेहरुले कोभिडका कारण काम गर्न नपाएको बताएका छन् । त्यसैगरी संघीय सरकार तथा प्रदेश सरकारले पर्याप्त बजेट नदिएको गुनासो पोखे । साथै, कानून तथा कार्यविधि नभएको जस्ता समस्या देखाए । काममा सन्तुष्ट छु भन्नेहरुले साधन स्रोतको अभावका बाबजुद पनि उल्लेखनीय काम गरेको दाबी गरे ।
तपाईले कुन क्षेत्रमा उत्कृष्ट काम गर्नुभयो भन्ने प्रश्नमा कृषि क्षेत्रमा एकजनाले र सडक पूर्वाधारमा ९ जनाले उत्कृष्ट काम गरेको दाबी गरे । त्यस्तै, शिक्षा र स्वास्थ्यमा १–१ जना पालिका प्रमुखले उत्कृष्ट काम गरेको दाबी गरे । सबै क्षेत्रमा उत्कृष्ठ काम गरेको छु भन्ने पालिका प्रमुखहरुको संख्या ५ रहेको छ ।
तर मार्ने चाहना : विश्लेषक
पालिकामा दोहोरिने इच्छा गरिरहेका प्रतिनिधिले राज्यको स्रोत र साधनमा ‘तर मार्न’ चाहेको विश्लेषकको आरोप छ । शिक्षा, स्वास्थ्य र कृषि आधारभूत तहका जनता लक्षित कार्यक्रम भए पनि उक्त क्षेत्रमा काम कम हुनु र सडक पूर्वाधारमा मात्रै काम थोपरिनु कमिसनको चलखेल भएको वामपन्थी विश्लेषक दिनेश श्रेष्ठले रातोपाटीलाई बताए ।
‘नवीन एवं सिर्जनशील ढंगले आधारभूत जनताको हितमा काम गर्ने भनेको शिक्षा, स्वास्थ्य र कृषिमा नै हो, तर यसमा कसैले पनि काम नगरेको देखियो । यो किन भयो भन्दा सडक पूर्वाधारमा कमिसन पाइने भयो’ श्रेष्ठले रातोपाटीसँग भने, सडक भनेको चाहिँ स्वाभाविक विकासको प्रक्रिया मात्र हो ।’
देशभरका स्थानीय तहमा अत्यधिक भ्रष्टाचार भएको तथ्यांक भएकाले पनि पुनः ‘तर मार्ने’ दाउका साथ उनीहरु चुनावमा पुनः उठ्न खोजेको बताउँदै श्रेष्ठले भने, ‘अहिले पनि केही पालिकाका प्रमुख तथा अध्यक्ष असन्तुष्ट किन छन् भने उनीहरुको महत्वाकांक्षा हो । तर, काम गर्न नपाएको महत्वाकांक्षा भने होइन जस्तो मलाई लाग्छ ।’
श्रेष्ठ अगाडि थप्छन्, ‘उनीहरुले तर मार्ने अवसर र सुख सुविधा पाए । जुन ढंगले आफ्नो शक्तिलाई प्रयोग गर्न पाए, त्यसैले उनीहरु फेरि उठ्न चाहन्छन् । तर यसो गर्दैमा सबै स्थानीय तहका मानिसले त्यस्तो नराम्रो गरेको भन्ने होइन, केहीले राम्रो काम पनि गरेका छन् । उनीहरुलाई चाहिँ पार्टीले फेरि उठाउनुपर्छ ।’
कतिपय स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले विगतमा आफूमाथि भएको लगानी उठाउन नसकेका कारण पनि पुनः चुनाव लड्न चाहेको एक अध्ययनले देखाएको विश्लेषक श्रेष्ठले रातोपाटीलाई बताए ।
‘धेरैजसो स्थानीय सरकारमा भएका मानिसहरु प्रमुख तथा अध्यक्षहरुले पुनः चुनाव लड्ने कुरा भनेको आफूले गरेको र उनीहरुमाथि लगानी गरिएको खर्च तथा लगानी उठाउन हो भन्ने अध्ययनले देखाउँछ,’ उनले भने, ‘उनीहरुमाथि ठेकदार, व्यापारी तथा विभिन्नखालका मानिसले लगानी गरेका छन्, त्यो रिटर्न गर्नका लागि पुनः लड्ने इच्छा देखाएका हुन् ।’
स्थानीय तहमा भ्रष्टाचार बढी देखिएको बताउँदै श्रेष्ठले यस्तो देखिनु भनेको काम कम हुनु भएको दाबी गरे । उनले भने, ‘भ्रष्टाचार देखिनु भनेको काम नहुनु पनि हो । भ्रष्ट्राचार कम भए काम हुन्छ । मूलतः स्थानीय निकायमा भएका पदाधिकारी मेयर तथा अध्यक्षले आफैंले स्वार्थ र भ्रष्टाचारमा बिताए, सुविधा बढाउन बिताए, कामको लागि स्वास्थ्य, शिक्षा, कृषिमा धेरै काम गर्न चाहेनन् गरेनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना