बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको मेयरमा उठ्न तयार छु : महेश रेग्मी

हामी एमालेजस्तो दहीचिउरे होइनौँ, एमसीसी जस्ताको त्यस्तै पास गरेनौँ
मङ्गलबार, २४ फागुन २०७८, १० : ४१
मङ्गलबार, २४ फागुन २०७८

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक सोमबार बस्यो । बुधबारदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले स्थानीय चुनावको रणनीति बनाउने पार्टीको तयारी छ । खासगरी दलहरूको ध्यान देशका ६ वटा महानगर र ११ वटा उपमहानगरतर्फ केन्द्रित देखिन्छ । 

देशभरिका ६ महानगरमध्ये विराटनगर महानगरपालिका काठमाडौँपछिको दोस्रो चर्चाको सहर हो । मुलुकको आर्थिक केन्द्रसमेत रहेकाले यहाँको मेयर पदमा ठूला नेताहरूको आकर्षण देखिन थालेको छ । काठमाडौँ महानगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय नेता भीमसेनदास प्रधानले चासो देखाएजस्तै विराटनगरमा पनि ठूला नेताहरूले मेयरमा लड्ने इच्छा देखाउन थालेका छन् । 

 प्रदेश मन्त्रीसमेत भइसकेका नेकपा एमालेका नेता जीवन घिमिरेले विराटनगरको मेयरमा उम्मेदवारी दिनका लागि आन्तरिक गृहकार्य अगाडि बढाएका छन् । यसै सन्दर्भमा नकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले पनि पार्टीले निर्णय गरेको खण्डमा आफू मेयरमा उठ्न तयार रहेको रातोपाटीलाई बताए । 

विराटनगरलाई कर्मभूमि बनाएर विगत लामो समयदेखि नेकपा माले, एमाले हुँदै वामपन्थी आन्दोलनमा सक्रिय रहेका रेग्मी मोरङको वामपन्थी आन्दोलनका परिचित नेता हुन् । हाल एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यका साथै प्रदेश नम्बर एकका सचिवसमेत छन् ।

पार्टीको पोलिटब्यूरो सदस्य भए पनि लामो समयदेखि विराटनगरकै भूगोलमा कार्यरत रेग्मी भन्छन्, ३८ वर्ष भयो । मलाई केन्द्रमा जाने कुरा पनि धेरैपटक आएको हो । तर, मैले यहीँ विराटनगरमै भूगोलमै पार्टी काम गर्छु भनेर यहाँ आएको हुँ । यहीँ छु ।  

स्थानीय चुनावको माहौलका साथै एमालेबाट गरेको विद्रोह लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ,  

तपाईं पार्टीको बैठकमा भाग लिन विराटनगरबाट काठमाडौँ पुग्नुभएको छ, सोमबारको पोलिटब्यूरो बैठकले के निर्णय गर्‍यो ?

हिजोको पोलिटब्यूरो बैठकमा अध्यक्ष कमरेडले राख्नुभएको प्रतिवेदनमाथि छलफल भइरहेको छ । समसामयिक विषयहरू चुनाव लक्षित सांगठनिक अभियान, एमसीसीलाई प्रष्ट पार्ने, प्रष्ट हुने विषयमा छलफल भइरहेको छ । मूलतः संगठनलाई व्यवस्थित तथा सुदृढीकरण गर्ने विषय नै प्रतिवेदनमा रहेको छ । त्यही प्रतिवेदनमाथि हामीले छलफल गरेर आवश्यक सल्लाह सुझावलाई व्यवस्थित गर्दै भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने प्रतिवेदनलाई पूर्णता दिने निर्णय भयो ।   

केन्द्रीय समितिको बैठकको खास एजेण्डा के हो ? 

चुनाव, राष्ट्रिय राजनीतिको विषय पनि हुने भयो । एमसीसीको कुरा पनि भयो । थप संगठन निर्माणको अभियानको विषयमा पनि छ । 

एमसीसीको विषयमा त प्रचण्ड र माधव नेपाल पनि एमालेकै लाइनमा जानुभयो होइन ? 

होइन । एमालेको भन्दा धेरै ठूलो आकाश जमिनको फरक छ । एमालेले जस्ताको तस्तै पास गर्ने भनेको थियो । त्यसलाई हामीले छेक्यौँ । कांग्रेसले पनि जस्ताको तस्तै पास हुनुपर्छ भन्ने थियो । तर, हाम्रो आन्दोलन र बलका कारण व्याख्या गरेर पास गरेको हो । कसरी एमालेले भनेजस्तो एमसीसी पास भयो ? यो जस्तोको तस्तै होइन संशोधन गरेर व्याख्यात्मक घोषणालाई एमसीसीको अंग पास गरेर गरेका छौँ । यो त नेपालको आधिकारिक लाइन हो नि । यदि समाजवादी र माओवादीले त्यो कुरा उठायो र पुष्टि गर्‍यो । एमालेजस्तो राष्ट्रिय पार्टी यस्तो राष्ट्रिय मुद्दामा पनि मौन बस्ने दहीचिउरे, दोधारे र अवसरवादी चरित्र हामीले देखाएनौँ ।

अहिले के चर्चा छ भने माधवकुमार नेपालको पार्टी चुनावमा सोत्तर हुन्छ । सबैतिर एमाले नै छ भन्ने भाष्य छ काठमाडौँमा । जिल्लातिरको अवस्थाचाहिँ कस्तो छ तपाईंको पार्टीको ? 

तपाईंले भनेको कुरा एमालेबाहेक अरूले भनेको भए गम्भीर हुनुपर्थ्यो । तर, जुन पार्टीले कम्युनिष्ट आन्दोलनलाई धुजा धुजा पारेर, जनताको दुई तिहाइ मतमाथि मजाक गरेर दक्षिणपन्थी अवसरवादमा फसेको पार्टीले भनेको कुराको खासै अर्थ राख्दैन ।

एमालेका इमान्दार र त्यागी नेताहरूलाई निकालेर एकलौटी ढंगले अगाडि जान खोजेपछि हामीले विद्रोह गरेका हौँ । दोस्रो कम्युनिष्ट पार्टीको अधिवेशनको क्रममा १४ सालमा पनि केशरजंग रायमाझीले दरबारमा लगेर बुझाएपछि पुष्पलालले पनि विद्रोह गर्नुभएको थियो । शत्रुको पाउमा लगेर बुझाएको पार्टीलाई विद्रोह गर्दै गर्दै नै अहिलेसम्म हामी आएका हौँ ।

एकीकृत समाजवादीको मुल उद्देश्य पुष्पलाल, मनमोहन र मदन भण्डारीले लिएको कम्युनिष्ट नीति र सिद्धान्तको निरन्तरतामा रहेको हुँदा विचारको दृष्टिकोणले हामी सही छौँ । तर, त्यही भएको कारण विचारको पछि मानिसहरू लाग्ने भए भन्ने लागेर अब सकिन्छ, एक सिट पनि जित्दैन भनेर ओलीवालाहरूले भनिरहेका हुन् त्यसको कुनै अर्थ छैन । त्यो त आगामी चुनावमा परिणाम देखिन्छ । जनता पटमूर्ख छैनन् । हामीले विचार र कम्युनिष्ट आन्दोलनप्रति आकर्षित गरेको सचेत मतदाता छन्, कार्यकर्ता छन् । विवेकहीन निर्णय गर्छन् जनताले भन्ने हामीलाई लाग्दैन । 

तपाईंहरूले एमालेबाट विद्रोह गर्नुभयो । त्यसपछि धेरै समय लाग्न नपाउँदै धेरै छिटो चुनाव आयो । त्यसकारण अलि अप्ठ्यारो परेको हो कि ? 

हामीले विचार गलत लिएका छैनौँ । हामी शून्यबाट सुरु गर्छौँ । तर, गलत गर्दैनौँ । शत्रुको पाउमा लगेर पार्टी बुझाउने काम हुने भयो भनेर हामीले विद्रोह गरेका हौँ । भोलि हामीलाई परिणाम धेरै आउला कि थोरै आउला भनेर विद्रोह गरेको पनि होइन । सबैभन्दा महत्त्वपूर्ण कुरा त विचार हो । विचार सही भएपछि सकारात्मक परिणाम त प्राप्त गर्दै जाने हो नि । अहिले नै सरकारमा जाने, जित्ने, बहुमत ल्याउने भन्ने विषय प्रमुख होइन । विचार सही हो होइन भन्ने विषय नै महत्त्वपूर्ण कुरा हो । जता टाउका धेरै त्यतै जनता भन्ने कुरा सही होइन । हामीले अहिले धेरै ठूलो परिणाम पनि आउँछ भन्ने सोचेको छैन । शून्य आउँछ भन्ने पनि होइन । त्यसकारण जस्तो परिणाम आउँछ त्यसमा टेकेर नयाँ समाजवादी आन्दोलनको तयारी गर्ने हाम्रो विचार हो । हामीलाई त आम मानिस र सचेत कार्यकर्ताले हौसला दिइरहेका छन् । ढिलो होला तर हामी लक्ष्य प्राप्त गर्नेछौँ । 

वैचारिक संघर्षकै कुरा गर्दा विगतमा महेश रेग्मी एमालेसँग विद्रोह गरेर वामदेव गौतम नेतृत्वको नेकपा मालेमा जानुभयो । त्योभन्दा अगाडि मदन भण्डारीले ल्याएको जबज कि सीपी मैनालीको नयाँ जनवाद भनेर  दुईलाइन संघर्षमा नौलो जनवादको पक्षमा उभिनुभयो । तर, मालेलाई पछि वामदेव गौतमले एमालेमा मिलाइदिनुभयो । अब फेरि तपाईंहरू मालेकालमा जस्तै एमालेमै मिसिनुहुन्छ कि ? 

इतिहास जस्ताको त्यस्तै दोहोरिँदैन । इतिहास नयाँ ढंगले अगाडि बढ्छ । हिजो मालेमा गइरहँदा पनि मैले राष्ट्रियता, अवसरवाद विरुद्धको मुद्दा र दक्षिणपन्थी अवसरवादको विरुद्धमा विद्रोह भयो । त्यसबेला पनि प्रमुख शत्रु किटान गर्ने, क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने, राष्ट्रियताको मुद्दामा कमजोर भएको थियो । त्यो विद्रोहको पुष्टि पनि भयो । त्यसबेला समानुपातिक निर्वाचन प्रणाली थिएन । हामीले झण्डै ६ प्रतिशत मत ल्याएका थियौँ । त्यतिखेर काँग्रेस भर्सेस कम्युनिष्ट थियो । तर, जनताको तहमा पुग्नलाई त्यसबेला पनि समय थिएन । त्यतिखेर काँग्रेसलाई कसले हराउने भन्ने विषयमा माले भन्ने अवस्था थिएन । त्यसपछि पहिले काँग्रेस हराउने अभियान आयो त्यसले गर्दा हामीले सिट जित्न नसकेको अवस्था हो । काँग्रेससँग सरकारमा गएको विषयमा पनि हाम्रो त्यसबेला आलोचना भएको थियो । त्यसमा अन्तर्राष्ट्रिय खेल भयो । यो कारणले पनि सिट नआएको हो । 

त्यतिखेर एमाले क्रान्तिकारी विचार र राष्ट्रियताको धार छोडेको कारणले हामी विद्रोहमा पुगेका थियौँ । योपटक अलि फरक हो । पार्टीले पाएको दुई तिहाइ मतलाई पनि भत्काउने, पार्टीका शीर्ष नेतालाई पनि हटाउने । त्यो काम चाहिँ भारतीय र प्रमुखलाई बालुवाटारमा भेट गरेपछि हुन थाल्ने अवस्था आएको थियो । त्यसमा पनि भारत र चीनबीचमा खेल्ने गरी र प्रमुख आएर समस्या खडा गर्ने हिसाबले आएपछि विद्रोह गरेका हौँ ।

कतिपय अवस्थामा लोकतन्त्र, संघीयता, संविधान र कम्युनिष्ट पार्टीलाई तहसनहस बनाउनेतिर उन्मुख भएको कारण हामीले संसदलाई ब्युँताउनु पर्ने परिस्थिति बन्यो । हामीसँग त्यो भन्दा अर्को विकल्प थिएन । त्यही भएर काँग्रेस ठूलो पार्टी भएर प्रधानमन्त्री बनाएको होइन । हामीले पाँच पार्टीको गठबन्धन गरेर बनाएको सरकार हो । यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्छौँ । यसलाई चुनावसम्म लानुपर्छ भन्ने कुरा भएको हो । तर, काँग्रेसमा यस विषयमा फरक फरक कुरा आएको छ । बुझ्नुपर्ने कुरा के हो भने काँग्रेस आफैँ ठूलो भएको होइन कम्युनिष्ट पार्टी फुटेर मात्रै ठूलो देखिएको हो । 

स्थानीय तहको चुनाव आइसक्यो । मोरङमा एकीकृत समाजवादीको तयारी के छ ? विराटनगर महानगरपालिकामा तपाईंहरूको उम्मेदवारी हुन्छ कि हुँदैन ? काँग्रेससँग गठबन्धन हुन्छ कि हुँदैन ? प्रदेश १ मा समग्र चुनावको तयारी के छ ?

पहिलो कुरा त पार्टी निर्माणको क्रममा छौँ । पार्टी निर्माणको कुरालाई लिएरै हामी जनतामा गएका छौँ । त्यो चुनावको तयारी पनि हो । अहिले नै चुनावलाई केन्द्र भागमा राखेर गतिविधि गरिराखेका पनि छैनौँ । अहिले नै उम्मेदवारको अवस्था जित्ने को हो भनेर हेरिरहेका पनि छैनौँ । केही पार्टीहरूले सेलिब्रेटी, पैसावालालाई उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराइरहेका छन् । तर, हामी वैचारिकरुपले सबल बन्दै संगठन निर्माणमा जुटिरहेका छौँ । हाम्रो जीवन पद्धती जे हो, त्यही हिसाबले कम्युनिष्ट पार्टीको सांगठनिक जीवनमा पनि लागू गर्न चाहन्छौँ । हामी जे कारणले मानिसमा वितृष्णा आइरहेको छ त्यसलाई हटाउने गरी पार्टी निर्माण चाहन्छौँ । 

पार्टी कस्तो बनाउने तपाईंहरूको कुरा हो । तर, चुनाव त आयो नि हैन ?

चुनाव त आयो । यो पनि एउटा आन्दोलनको रुप हो । अब गठबन्धनको कुरा माथिबाट के आउँछ त्यही अनुसार हुन्छ । माथिबाट भए माथिको नीति अन्तर्गत नै हुन्छ । भएन भने हामी देशैभरिका सबै स्थानीय तहमा उम्मेदवारी दिन्छौँ । चुनावमा गठबन्धन गरेरै अगाडि बढ्दा चाहिँ गठबन्धनको र ओली प्रवृत्ति विरुद्धको आन्दोलनको औचित्य पनि पुष्टि हुन्छ । 

एकीकृत समाजवादीका तर्फबाट विराटनगरको मेयरको उम्मेदवार चाहिँ को हो त ? 

यो त पार्टीले निर्णय गर्ने कुरा हो । 

एमालेबाट ठूला नेता जीवन घिमिरेले उम्मेदवार बन्ने तयारी गरिरहेको सुनिएको छ । एकीकृत समाजवादबाट तपाईं नै मेयरमा भिड्ने हो कि ?

म आफू पदलाई प्रमुख बनाएर कहिल्यै पनि पार्टीमा लागिनँ  । पार्टीले कुन ठाउँमा रहेर जिम्मेवारी बहन गर्दा पार्टी निर्माण, अभियान हाम्रो पक्षमा आउँछ, ठीक मानिस ठीक जिम्मेवारी दिने गरी पार्टीले निर्णय गर्नुपर्छ । यो जिम्मेवारीसाथ तपाईं जानुहोस् भन्ने हिसाबले निर्णय भयो भने म स्वीकार गर्छु । 

तपाईंको पार्टीले विराटनगरको मेयरमा काँग्रेसलाई समर्थन गरेर अगाडि जाने  सम्भावना कत्ति छ ? आफ्नै उम्मेदवार चाहिँ  पार्टीको अवस्था कमजोर छ भनेर उठाउन नचाहेको हो कि ? 

होइन । हिजो पनि एमालेले  ०७४ सालमा उम्मेदवार छनौट गर्दा हुनै नहुने गरेको कारण हामीले हारेको हो । उम्मेदवार राम्रोसँगले निर्णय गरेको थियो भने मेयर उपमेयरसहित १५ वटा वडा हामीले जित्थ्यौँ । ०७४ सालको चुनावमा विराटनगरका १० वटा वडामा ४ सयको हाराहारीमा मतान्तर थियो । हामीले विराटनगरमा जितेको पनि हो नि । पञ्चायतकालमा ध्रुवनारायणलाई हामीले जिताएका हौँ । ०५४ सालमा पनि हामीले जितेका हौँ ।

विराटनगर प्रतिगमनलाई रोक्ने, राष्ट्रियतालाई जोगाउने, अहिलेसम्मका उपलब्धिलाई रक्षा गर्ने, संविधान बनाउने यत्रो ठूलो हाम्रो साख शीर ठाडो भएका कारण हामी एकीकृत समाजवादीप्रति मानिसको भरोसा छ । हामी जित्न तयार छौँ, हामी जित्छौँ । म ०३२ सालदेखि विराटनगरमा छु । यहाँको विषय मलाई सबै थाहा छ । नेकपा एकीकृत समाजवादी विराटनगरमा कमजोर छैन ।

विगतमा एमालेले लव प्रधानजस्तो त्यागी नेतालाई  टिकट नदिएर रमेशचन्द्र पौडेललाई दिएको भनेर पार्टीभित्रै आलोचना भएको थियो नि ?

हो, त्यतिबेला लव प्रधानमाथि अन्याय त भएकै हो । २२ वटा वडामध्ये १७ वटा वडाले त लव प्रधानलाई समर्थन गरेको हो । एमालेको लहर थियो र मात्रै चुनाव जितेको हो ।

अहिले एकीकृत समाजवादीले महेश रेग्मीलाई विराटनगरको मेयरमा उठाउँछु भन्यो भने तयार हो कि होइन त ? 

म पार्टीको निर्णयलाई मान्छु । पार्टीले मेयर भन्छ कि, प्रदेश भन्छ कि संघीय भन्छ कि जे भन्छ, त्यो म हुन तयार छु । उदाहरणका लागि गत निर्वाचनमा ४ नम्बर क्षेत्रमा गुटको चरम लडाई हुँदा पनि मेरो एकल नाम गएको हो । माओवादीसँग गठबन्धन भइसकेपछि पनि माओवादीकै साथीहरूले महेश कमरेडको राम्रो भएको उहाँलाई नै उठाउनुपर्छ भनेर निर्णय गरेको थियो । अब, दिएनन्, सारा कार्यकर्ता आक्रोशित भए । म मात्रै हो पार्टीको निर्णय तलमाथि हुँदैन भनेर कार्यकर्तालाई एकताबद्ध गराएर दुईवटा प्रदेशसभा र संघमा चुनाव जितेको हो । त्यो पनि सानदार ढंगले सबैभन्दा बढी मत लिएर जितेको हो । त्यसकारण म पार्टीको निर्णय मानेर अगाडि बढ्छु । व्यक्तिगत ढंगले जाने कुरा हुँदैन । 

नेपाली काँग्रेसमा शेखर कोइराला लगायतका नेताहरूले सरकारमा गठबन्धन भए पनि चुनावमा गठबन्धन गर्नुहुँदैन भन्दैछन् । विराटनगरमा वामपन्थीहरू र काँग्रेसबीच मिल्ने सम्भावना छ कि छैन ? 

काँग्रेसमा शेखर कोइरालाको त खासै निर्णायक अवस्था नहोला । यदि त्यस्तो भएको खण्डमा अरू पार्टीसँग हामी गठबन्धन गरेर अगाडि बढ्छौँ । 

एमालेसँग गठबन्धन हुन्छ कि हुँदैन ?

केपी ओली र ओलीको प्रवृत्ति तलैसम्म छ । त्यो पङ्क्तिमा असहमति हुनेहरू एमालेमा ठूलै छ । तर, अहिले ओली प्रवृत्ति नै हाबी भएका कारण तत्कालै गठबन्धन हुने सम्भावना कमजोर देखिन्छ । 

विराटनगरमा एमाले, माओवादी, जसपा आदिको गठबन्धन बन्ने सम्भावना चाहिँ छ कि छैन ?

त्योचाहिँ यसै भन्न सक्ने अवस्था छैन । पहिलो कुरा गठबन्धन हो । उसले एक्लै लड्ने भन् या सँगै लाने भन्ने हो । केन्द्रीय नीति र स्थानीय तहबीचमा हुने निर्णयको आधारमा हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप