सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र हुँदैछ, यो चुनाव जीवन मरणको लडाइँ’

हिजो मर्न तयार हुनेहरू आज पदको झगडामा : प्रचण्ड
बुधबार, ०२ चैत २०७८, १८ : ०५
बुधबार, ०२ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक प्रशिक्षणका लागि देश दौडाहामा छन् । एमसीसीका कारण दुई ध्रुवमा बाँडिएको पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर चुनावमा केन्द्रित गर्ने प्रयासमा प्रचण्ड रहेका छन् । 

पार्टीको निर्णयानुसार प्रदेश १, बागमती, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशमा विशेष प्रशिक्षण दिइसकेका प्रचण्डले बुधबार काठमाडौँमा गैरभौगोलिक ३ प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रममा पार्टीका नेता कार्यकर्तामा देखिएको विचलन, चुनावी रणनीतिदेखि विविध विषयमा आफ्नो धारणा राखे । प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा मर्नका लागि तँछाडमछाड गर्दै झगडा गर्ने नेताहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको भन्दै असन्तुष्टि पोखे । 

‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो, हिजो युद्धको समयमा मर्न जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने कराउने र भाग्नेको जमात भयो ।’

नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति पनि प्रचण्डले आक्रोश पोखेका थिए । ‘अनौठो लाग्छ, अस्ति शहीद बन्नका लागि झगडा गर्ने तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै हुन्छौँ,’ प्रचण्डको भनाइ थियो । 

क्रान्तिकारी पार्टी निर्माण र रूपान्तरणको प्रक्रिया सुरु भयो भनिए पनि वास्तवमा त्यस्तो हुन नसकेको प्रचण्डको भनाइ थियो । क्रान्ति र रूपान्तरणको कुरा फगत उपदेशजस्तो भएको उनको जिकिर थियो । ‘क्रान्ति र रूपान्तरणका निम्ति कुनै उल्लेख्य सुधार नभएर औपचारिकताका लागि थेगे जस्तो भएको छ’, प्रचण्डको भनाइ थियो । 

संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिनिदन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाइ थियो ।  क्रान्तिको गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको प्रचण्डको भनाइ थियो । 

सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएका उल्लेख गर्दै प्रचण्डले पछि माओले फरक ढङ्गले क्रान्तिलाई  अगाडि बढाउँदा सफलता मिलेको र माओवादी पनि सच्चिन जरुरी रहेको धारणा राखे । 

सेटिङ गरेर चुनाव जित्न काँग्रेस–एमाले नै सिपालु 

प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताए ।  विगतमा पार्टीका सम्पूर्ण शक्तिहरू आक्रामक ढङ्गले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए । 

‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरू सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, आन्तरिक प्रशिक्षणमा प्रचण्डले भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरूसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ । इँटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ ।’

चुनाव जीवन मरणको सवाल

प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ (जीवन मरण) को सवाल भएको पनि बताए ।  आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे । त्यसका लागि देशी विदेशी प्रतिक्रियावादी लागिपरेको प्रचण्डको भनाइ छ । 

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ।  दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरू परिवर्तनकारी पार्टी सिद्ध्याउने षड्यन्त्र छ’, प्रचण्डले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

प्रचण्डले गठबन्धनबाट आश गरेर आउँला र खाउँला भन्ने पक्षमा पार्टी नभएको बताए । प्रचण्डले आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्नेमा जोड दिए । उनले भने – अझै प्रतिक्रान्तिको खतरा टरिसकेको छैन  अहिले पनि षड्यन्त्रमा लागिराखेका छन् । नेपालमा वैदेशिक एकथरी शक्तिहरू माओवादीलाई कमजोर पार्ने प्रयासमा छन् । तर प्रतिक्रान्ति सजिलो भइराखेको छैन । 

केपी ओली प्रतिक्रान्तिका खलनायक 

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको पनि बताएका छन् । बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरूले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको प्रचण्डको भनाइ छ । 

प्रचण्डले पार्टी विभाजित हुनु दुर्भाग्य भएको पनि बताए । ‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । उनी नै प्रतिक्रान्तिका खलनायक भए,’ प्रचण्डले भने ।  यो पार्टीका लागि दुर्घटना र चिन्ताको विषय भएको पनि प्रचण्डले बताए । 

समाजवाद निर्माण गर्ने नेपाली जनताको सपनामा ओलीको चरित्रका कारण चकनाचुर भएको प्रचण्डको भनाइ छ । 

ओलीको विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरूप 

प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरूपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सोटिङलाई आफूहरूले भत्काउन सफल भएको प्रचण्डले बताए । 

प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र अनुरूप विघटन गरिएको थियो । त्यसमा ठूलो अन्तर्राष्ट्रिय सेटिङ अन्तरगत थियो । देशभित्र पनि प्रतिक्रियावादीहरूको सेटिङ अन्तरगत थियो । तर हामीले सशक्त रूपमा जनतामा अपिल गरेपछि उनीहरूको सेटिङ सफल हुन पाएन ।’ प्रचण्डले कम्युनिस्टहरुबीचको एकतालाई धेरैले स्वीकारे पनि केपी ओलीको कार्यशैलीले नेकपा विभाजित बनेको बताए । 

एमसीसीबारे के भने ?

एमसीसीबारे पार्टीभित्र अन्तर्विरोध रहेको स्वीकार्दै प्रचण्डले यसबारे पार्टीमा बृहत् छलफल हुने बताए । उनले पार्टीले एमसीसीलाई गलत सावित गरेको खण्डमा त्यसलाई स्वीकारेर अघि बढ्ने बताए । व्याख्यात्मक विश्लेषणसहितको एमसीसी पारित गरेर देश दुर्घटनाबाट बचेको पनि प्रचण्डको जिकिर थियो । 

पार्टीभित्रका विभिन्न फोरममा आफूले हुबहु एमसीसी पारित हुनुहुँदैन भन्दै आएको स्मरण गर्दै प्रचण्डले देश हितलाई नै ध्यान दिएर व्याख्यात्मक घोषणासहित पारित गराइएको धारणा राखे । केपी ओलीकै पालमा एमसीसी संसद्मा दर्ता भएको भन्दै प्रचण्डले सो दर्ता गराउँदा तत्कालीन अवस्थामा उनले पार्टीमा छलफल नगरेको जिकिर गरे । तर, तत्कालीन सभामुख कृष्ण बहादुर महराले त्यसलाई अघि बनाउन नमानेको र त्यसपछिको अवस्थामा सबै जानकार नै रहेको बताए । 

सत्ता गठबन्धन एमसीसी पारित गर्नका लागि नबनेको भन्दै प्रचण्डले शेरबहादुर शेरबहादुर देउवा जसरी पनि एमसीसी अघि बढ्ने पक्षमा देखिएपछि एउटा निकास खोजिएको धारणा राखे । प्रचण्डले एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रूपमा प्रस्ताव गर्दा उनले नमानेको पनि खुलासा गरे । 

प्रचण्डले एमसीसीको विपक्षमा आफूहरू भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भए पनि अघि बढ्न तयार भए पनि ओलीले नमानेको जिकिर गरे । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्नका लागि ओलीसँग छलफल थालेको र गठबन्धनसमेत तोड्न खोजेपछि आफू पनि नेताहरू नारायणकाजी श्रेष्ठलगायतलाई लिएर ओली भेट्न गएको प्रचण्डको भनाइ छ । 

‘एमसीसीको सन्दर्भमा हामी जसरी पनि हराउने र देउवा जसरी पनि जित्ने भन्नेमा पुग्नुभयो । गणित हेर्दा हामीले जित्ने देखिएको थियो । बहुमत हुन्छ भने किन नगर्ने त भन्नेमा हामी लाग्यौँ । तर स्थिति कता गयो भने केपी र शेरबहादुरको फेरि कुरा हुन थाल्यो,’ प्रचण्डले भने, ‘कहिले नेताहरूसँग त कहिले श्रीमतीसँग बालकोट जान थाल्नुभयो । हार्न त म सक्दिनँ पद छाडेर प्रधानमन्त्री केपीलाई बनाइदिन्छु भनेर उहाँले भन्न थाल्नु भयो ।’

यही बीचमा आफूले पनि ओलीलाई एमसीसी फेल गर्ने गरी प्रधानमन्त्रीमा प्रस्ताव गरेको प्रचण्डको भनाइ थियो । ‘हामी पनि ओलीलाई फकाउन जाऔँ न त भनेर म लगायत साथीहरु फकाउन गयौँ । मैले गम्भीर ढङ्गले कमरेड हिजो तितो मिठो जे भए पनि तपाईँ हामी सहकार्य गरौँ भनेँ मिठो भाषामा’, उनले भने, ‘तर केपीले चाहिँ पहिला सभामुख हटाऔँ । त्यो १९ पेज लामो आरोप पत्र गल्ती भयो भनेर खारेज गरौँ भन्नुभयो । माधवलाई हटाउने काम गर्नुस् भनेर भनेपछि प्रस्ताव अघि बढ्न सकेन ।’

छलफलकै क्रममा नेता देव गुरुङले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय पारित गर्न नहुने भन्दा फेरि ओलीले एमसीसी एक शब्द पनि दायाँबायाँ हुन नसक्ने भनेपछि उनको लाइन बुझिएर अहिलेको गठबन्धनलाई नै अघि बढाउने गरी लागिपरेको प्रचण्डको स्पष्टोक्ति थियो ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप