बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रधानमन्त्रीमा अफर गरेको प्रचण्डको खुलासा

बुधबार, ०२ चैत २०७८, ०५ : ००
बुधबार, ०२ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् ।

बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भएपनि आफूहरु अघि बढ्न तयार भएपनि ओलीले नमानेको प्रचण्डको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पारित गर्नका लागि ओलीसँग छलफल थालेको र गठबन्धनसमेत तोड्ने बेला आएपछि आफूपनि नेताहरु नारायणकाजी श्रेष्ठलगायतलाई लिएर ओली भेट्न गएको प्रचण्डको भनाइ छ ।

‘एमसीसीको सन्दर्भमा हामी जसरी पनि हराउने र देउवा जसरी पनि जित्ने भन्नेमा पुग्नुभयो । गणित हेर्दा हामीले जित्ने देखिएको थियो । बहुमत हुन्छ भने किन नगर्ने त भन्नेमा हामी लाग्यौँ । तर अघि नै स्थिति कता गयो भने केपी र शेरबहादुरको फेरि कुरा हुन थाल्यो’, प्रचण्डले भने, ‘कहिले नेताहरुसँग त कहिले श्रीमतीसँग बालकोट जान थाल्नुभयो । हार्न त म सक्दिनँ पद छाडेर प्रम केपीलाई बनाइदिन्छु भनेर उहाँले भन्न थाल्नु भयो ।’

यही बीचमा आफूले पनि ओलीलाई एमसीसी फेल गर्नेगरी प्रधानमन्त्रीमा प्रस्ताव गरेको प्रचण्डको भनाइ थियो । ‘हामी पनि ओलीलाई फकाउन जाऔँ न त भनेर म लगायतसाथीहरु फकाउन गयौँ । मैले गम्भीर ढंगले कमरेड हिजो तितोमिठो जे भएपनि तपाईँ हामी सहकार्य गरौँ भनेँ मिठो भाषामा’, उनले भने, ‘तर केपीले चाहिँ पहिला सभामुख हटाऔँ । त्यो १९ पेज लामो आरोपपत्र गल्ती भयो भनेर खारेज गरौँ भन्नुभयो । माधवलाई हटाउने काम गर्नुस् भनेर भनेपछि प्रस्ताव अघि बढ्न सकेन ।’

छलफलकै क्रममा नेता देव गुरुङले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय पारित गर्न नहुने भन्दा फेरि ओलीले एमसीसी एक शब्द पनि दायाँबायाँ हुन नसक्ने भनेपछि उनको लाइन बुझिएर अहिलेको गठबन्धनलाई नै अघि बढाउने गरी लागिपरेको प्रचण्डको स्पष्टोक्ति थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप