मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सेटिङ गरेर चुनाव जित्न काँग्रेस–एमाले नै सिपालु छन्, हामीले सक्दैनौँ : प्रचण्ड

बुधबार, ०२ चैत २०७८, १६ : १६
बुधबार, ०२ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताएका छन् । विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।

‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ । इटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ । प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ (जीवन मरण) को सवाल भएको पनि बताएका छन् ।

आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे । त्यसका लागि देशी विदेशी प्रतिक्रियावादी लागिपरेको प्रचण्डको भनाइ छ । ‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ’, प्रचण्डले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’ प्रचण्डले गठबन्धनबाट आश गरेर आउला र खाउँला भन्ने पक्षमा पार्टी नभएको बताए । प्रचण्डले आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्नेमा जोड दिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप