सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नागरिकको अपराध सञ्जाल : नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुली

अनलाइन घोटाला अनुसन्धान गर्न विज्ञको सहयोग
बिहीबार, १२ फागुन २०७८, ०६ : ५६
बिहीबार, १२ फागुन २०७८

काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् । 

पक्राउ पर्नेमा ६० जना महिला कर्मचारी छन् । ५६ जना युवाहरू छन् । चिनियाँ नागरिक वर्ष २९ का वाङजिनाओ र छाङ हुई बाओ चाहिँ लगानीकर्ता हुन् । पुरानो बानेश्वरको ‘लेमन ग्रुप अफ कम्पनी’ र सानो ठिमीको कल सेन्टरबाट चिनियाँ नागरिकले ऋण लगानी गर्ने गरेका थिए । सो लगानी अनलाइन एप्स मार्फत गरिएको र एक सातामा चर्को ब्याज असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

‘भारतमा टेलिभिजन र सामाजिक सञ्जालमा विज्ञापन बुस्ट गराएर उनीहरूले ऋण लिन आकर्षित गरेको देखिन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनाली भन्छन्–‘थोरै समयको लागी ऋण दिने र त्यसपछि धम्क्याएर चर्को ब्याज सहित रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

कल सेन्टर चाहिँ नेपालीको नाममा दर्ता गरिएको थियो । पर्यटक भिसामा नेपालमा बसिरहेका  छाङ हुई बाओ ले सिन्धुली घर भएका दीपक श्रेष्ठको नाममा ‘लेमन ग्रुप अफ कम्पनी’मा लगानी गरेको भेटिएको छ । त्यहाँ काम गर्ने कर्मचारीहरूलाई चिनियाँले ऋण लिएको पैसाको चर्को ब्याज नतिर्ने भारतीयहरूलाई धम्क्याउन प्रयोग गर्थे । 

नेपालमा बसेर भारतमा इजी क्रेडिट, फ्री क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाई क्यास लगायतका मोबाइल एप्स मार्फत ऋण लगानी गरेका थिए । भारतीय नागरिकले एक साताका लागी सो मोबाइल एप्समा ‘लोन एप्लाई’ गर्नुपर्थ्यो । एक जनालाई २ हजार देखि २० हजार र ३ हजार देखि ३० हजार भारतीय रुपैयाँ प्रवाह गर्थे । सो ऋण एक सातामा ब्याजसहित फिर्ता गर्नुपर्थ्यो । ऋणका लागि आवेदन भर्दा ग्राहकले आफ्नो आधार कार्ड सहितको सबै विवरण भर्नुपर्छ । ऋण लिएको सात दिनमा ३५ प्रतिशत थपेर फिर्ता नगरेमा कल सेन्टरका कर्मचारीले धम्क्याउने र तथानाम गाली गरेर आफन्तलाई फोन गरेर हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले रातापाटीलाई बताए । 

अनुसन्धान गर्न विज्ञको सहयोग

विद्युतीय एप्स मार्फत तेस्रो देशमा चिनियाँ नागरिकले गरेको अपराधलाई प्रहरीले ‘अनलाइन घोटाला’ भनेको छ । पैसाको कुनै स्रोत खुलाइएको छैन । छाङ हुई बाओ लगानी गरेको ‘लेमन ग्रुप अफ कम्पनी’ले मात्रै दैनिक ६ करोड नेपाली रुपैयाँ कारोबार गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । नयाँ प्रकृतिको अपराधको जालो फेला पारेपछि प्रहरीले अनुसन्धानका लागी सूचना प्रविधि विज्ञको सहयोग मागेको छ  । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो र निजी क्षेत्रका विज्ञहरूको सहयोगमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले रातोपाटीलाई बताए । उनले भने–‘विज्ञको सहयोगमा अनुसन्धान गरिरहेका छौं ।’ 

सानोठिमीमा कल सेन्टर सञ्चालन गर्ने वाङजिनाओ विगत केही समयदेखि सन सिटी अपार्टमेन्टको रुम नम्बर–१२०६ मा बस्थे । उनी पनि ३ महिनाको पर्यटक भिसामा नेपालमा बसिरहेको थाहा भएको छ । सानोठिमीमा ३ तले घर भाडामा लिएर ७९ जना कामदार राखेर उनले एप्स मार्फत ऋण लगानी गरेका थिए । सो कल सेन्टरबाट डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान र आइप्याड २ थान बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए । 

अनलाइन एप्स मार्फत दैनिक ५० हजार सम्मले लोन माग्ने गरेका थिए । तर, चिनियाँले दिनमा १० हजार जनाको लोन स्वीकृत गर्ने गरेका थिए । पब्जी र जुवा खेल्नेहरूले सो ऋण लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

बैंक तथा वित्तीय संस्था ऐनमा म्याद 

अनलाइन एप्स मार्फत भारतमा मिटर ब्याज असुली गर्नेहरूलाई प्रहरीले बैंक तथा वित्तीय संस्था ऐन–२०७३ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट पक्राउ गरेकालाई अदालतले ५ दिन र भक्तपुरबाट पक्राउ गरेकालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । नेपाली कर्मचारीलाई चिनियाँ नागरिकले १५ देखि ६० हजार सम्म तलब दिएर राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप