आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीले तताएको ३० घण्टा : गठबन्धनको आयुको फैसला बिहीबार !

माओवादीको सन्देशपछि ‘ब्याक’ भएका देउवा अर्को विकल्पको खोजीमा
बुधबार, ०४ फागुन २०७८, २० : ४१
बुधबार, ०४ फागुन २०७८

बितेको झण्डै ३० घण्टा एमसीसीका कारण नेपालको राजनीति तरंगित बन्न पुग्यो । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बन्न पुग्यो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ ।   

संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीसी टेबल भए सरकार र गठबन्धन छोड्ने माओवादी केन्द्रको अडानबीच तालमेल नमिल्दा गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिसकेको थियो । यसले एमसीसी टकराव उत्कर्षमा पुग्नुका साथै राजनीतिक तरलता झाँगिदै गएको थियो । यही तरलता र उतार–चढावका बीच बुधबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ छलफल भयो ।

दुई नेताको ‘वान टु वान’मा प्रधानमन्त्री देउवा एक कदम ‘ब्याक’ भएपछि बुधबारको संकट दुई दिनका लागि टर्न पुग्यो । तर, बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकको नतिजा नआउञ्जेलसम्म सत्ता गठबन्धनको भविष्य अझै पनि अन्योलमै छ । 

के–के भयो दुई दिनमा ?

अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी सम्झौता आगामी फागुन १६ गतेभित्र संसदबाट पास गराउन चर्को दबाव दिएपछि उनी जसरी पनि एमसीसी अघि बढाउन चाहान्थे । काँग्रेस सभापति समेत रहेका देउवा सोही अनुसार सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको असहमतिका बीच एमसीसी अघि बढाउन लागिपरेका थिए ।

देउवा अघि बढ्ने सुइँको पाएका सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार बिहानै प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे । उनीहरुबीच करिव आधा घण्टा छलफल भयो । सो छलफलमा एमसीसी अघि बढाउने कि केही दिन थाती राख्ने भन्नेमा कुनै सहमति जुट्न सकेन ।

लगत्तै देउवाले मंगलबार नै संसदीय दलको बैठक बोलाएर एमसीसी अघि बढाउने निर्णय गराए । दलको बैठक बसिरहेको स्थानबाट प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न दबाव दिएका थिए । 

प्रधानमन्त्री देउवाको यो गतिविधिबाट माओवादी र नेकपा एकीकृत समाजवादी थप झस्किनु स्वभाविक नै थियो । संसदीय दलको बैठकपछि काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि सभापति देउवाले एमसीसी बुधबारको बैठकमा टेबल भएरै छोड्ने ब्रिफिङ गरेका थिए । संसदीय दल र पार्टीका दुबै फोरममा देउवाले एमसीसीको पक्षमा नेता रामशरण महतलाई ब्रिफिङ गर्न लगाएका थिए ।

उता प्रधानमन्त्री देउवा एमसीसीबाट पछि नहट्ने देखेपछि माओवादी केन्द्रले बुधबार बिहानै संसदीय दलको बैटक बोलायो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ गरे । त्यसक्रममा उनले यथास्थितिमा कुनै हालतमा एमसीसी अघि बढाउन नसकिने बरु सरकार र गठबन्धनबाटै बाहिरिनुपर्ने अवस्था आए त्यसका लागि तयार रहन आफ्ना सांसदहरुलाई  निर्देशन दिए । सोहीअनुसार माओवादी संसदीय दलको बैठकले गठबन्धन र सरकारभन्दा राष्ट्रिय हित ठूलो हो भन्दै सरकार छोड्नपरे तयार रहेको निष्कर्षसहित निर्णय नै गर्न पुग्यो ।


अनि देउवाले प्रचण्डलाई बालुवाटार बोलाए...

माओवादीले सरकार छोड्न सकिने निर्णय गर्दैगर्दा प्रचण्ड र देउवाबीच टेलिफोन वार्ता भयो । त्यसक्रममा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अघि बढाए आफ्नो पार्टी सरकार छोड्न तयार भएको र सोहीअनुसार निर्णय नै भएको सुनाए ।

देउवा र प्रचण्डबीचको फोन सम्वादपछि देउवाले एक कदमपछि हट्दै प्रचण्डलाई बालुवाटार बोलाए । सिंहदरबारमा दलको बैठक सकेर त्यहीँबाट प्रचण्ड सिधै बालुवाटार हानिए । बालुवाटारमा देउवा र प्रचण्डबीच एक घण्टा लामो छलफल भयो ।

दुई नेताबीच भएको छलफलमा देउवा र प्रचण्ड दुबै विहीबार गठबन्धनको बैठक बोलाएर सहमतिका लागि अन्तिम प्रयास गर्न सहमत भए । सोही अनुसार बिहीबार दिउँसो ३ बजे बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक राख्ने तय गरेर प्रचण्ड बालुवाटारबाट बाहिरिए ।

कार्यव्यवस्था परामर्श समितिमा छलफल

बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल चलिरहँदा संसद भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षकै नेताहरुबीच एमसीसी कार्यसुचीमा राख्ने कि नराख्ने भन्ने गरमा गरम बहस भइरहेको थियो भने एमसीसीको विरोधमा सडक तातिइसकेको थियो । जब देउवा–प्रचण्डबीचको संवादको सुचना परामर्श समितिमा पुग्यो, तब कार्यसुचीमा राख्न ठीक्क पारिएको एमसीसी हटाउने सहमति बन्यो ।

त्यसपछि १ बजे तोकिएको समयमा बसेको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै फागुन ६ गते सम्मलाई स्थगित भयो ।

 


एमसीसीले उत्पन्न गरेको तनाव टरेको हैन, दुई दिनका लागि सरेको मात्रै हो । किनभने, विहीबार बस्ने गठबन्धनको बैठकले यसबारे निर्णय लिन बाँकी नै छ । गठबन्धनमा सहमति जुटेन भने त्यसको भोलिपल्ट शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबल गर्ने र माओवादी सरकारबाट बाहिरिने सम्भावना अझै टरिसकेको छैन ।

शुक्रबारको संसद बैठकमा एमसीसी टेबल नगर्ने या संकल्प प्रस्ताव आदि विकल्पसहित टेबल गर्ने प्रधानमन्त्री देउवाले नीति लिएको अवस्थामा भने गठबन्धन नभत्कने सम्भावना बाँकी रहने सत्तापक्षका नेताहरु बताउँछन् ।  

जुट्ला त सहमति ?

बिहीबार दिउँसो तीन बजे पाँच दलीय गठबन्धनको बैठक बस्नेछ । एमसीसीका सन्दर्भमा सहमति खोज्न बोलाइएको बिहीबारको बैठकमा दलहरु विभिन्न विकल्पसहित उपस्थित हुनेछन् । जसमा सत्तारुढ तीन दलको संसदीय दलबाट भएका निर्णयकाबीच विकल्पको खोजी हुनसक्ने केही नेताहरुको भनाइ छ ।

काँग्रेसले मंगलबार पार्टी र संसदीय दलबाट एमसीसी अगाडि बढाउने निर्णय गरेको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अघि नबढाउने निर्णय लिएको अवस्था छ ।

सत्तारुढ दलभित्रकै परस्पर विरोधी निर्णयकाबीच एमसीसीबारे निकास खोज्न गठबन्धनलाई फलामको च्युरा चपाए सरह हुने निश्चित छ । यद्यपी गठबन्धन जोगाएर जाने विषयमा काँग्रेस र  माओवादी–नेकपा समाजवादीबीच एमसीसी टेबल गर्ने तर पास फेलमा सांसदहरुलाई स्वतन्त्र छोड्ने विन्दुमा पुगेर सहमति हुनसक्ने एउटा विकल्प बन्न सक्छ ।

दोस्रो विकल्पमा सत्ता गठबन्धन जोगाउन र आसन्न निर्वाचनका खातिर माओवादी र एकीकृत समाजवादी पक्षमा उभिन सक्ने क्षीण सम्भावना बाँकी नै रहेको काँग्रेस नेताहरुको बुझाइ छ । तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ त्यस्तो विकल्प नदेखेको बताउँछन् । ‘एउटा विकल्प अमेरिकाले एमसीसी सम्झौता संशोधन गर्न तयार हुनुपथ्र्यो तर उ तयार नहुने भनेपछि हामी त्यसको विरुद्धमा जान्छौ भनेपछि विकल्प नै रहने भएन’, नेता श्रेष्ठले रातोपाटीसँग भने,‘प्रधानमन्त्री देउवाले राष्ट्रको हितका खातिर र नेपाली समाज विभाजित भएको अवस्थाका साथै स्थानीय चुनावमा प्रवेश गरिसकेको अवस्थामा एमसीसी अघि नबढाउ भन्नुभयो भने राम्रो हुन्छ ।’

माओवादी नेता श्रेष्ठले संसद अवरुद्ध र जनता समेत विभिाजित भएको अवस्थामा बलजफ्ती गर्नु डेमोक्रेसी नै नहुने बताए । ‘यसमा माओवादी प्रष्ट छ यो वा त्यो बहानमा एमसीसी स्वीकार गर्न तयार हुन्न ।’

विकल्पको खोजीमा देउवा

एमसीसी पेचिलो बन्दै जाँदा प्रधानमन्त्री देउवा एकपछि अर्को विकल्पको खोजीमा छन् । उनलाई एमसीसी पास गर्न मात्रै नभई सत्ता जोगाउनुपर्ने चुनौति पनि छ । गठबन्धनको बलमा प्रधानमन्त्री बनेका देउवाको पहिलो विकल्प प्रचण्ड माधवलाई एमसीसीको पक्षमा उभ्याउनु नै हो । तर, त्यो सम्भव नभए देउवाले दोस्रो विकल्प रोज्ने उनी निकट काँग्रेस नेताको भनाइ छ ।

ती नेताका अनुसार दोस्रो विकल्पका रुपमा एमालेसँगको सहकार्य हुनेछ । सुरुमा एमालेले बाहिरै बसेर सरकारलाई सहयोग गर्ने संकेत देखाएपनि पछिल्लो शतसहितमात्रै सहकार्य गर्ने मुड बनाएको छ । एमालेको त्यो शर्त भनेको गठबन्धन भत्किएको अवस्थामा सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने खालको काँग्रेसका एक नेताले रातोपाटीलाई बताए ।

तर, देउवा एमालेलाई सत्ता सुम्पने पक्षमा छैनन् । एमालेले सत्ता खोजे देउवा संसद विघटनको बाटोमा जाने सम्भावना बढी रहेको उनीनिकट नेताहरुको बुझाइ छ ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनभित्रका दलहरु संववादमा बस्दै गर्दा विकल्पसहित जानुपर्ने अवस्था आएको रातोपाटीलाई बताए । ‘शीर्ष तीन नेताबीच सहमति हुने र भाँडिने भइरहेको छ । यसले विश्वासको संकट गहिरिँदो छ । यस्तो अवस्थामा काँग्रेसभित्र विकल्पको खोजी भइरहेको छ’, प्रवक्ता महतको भनाइ छ ।

गठबन्धनको आयु निर्धारण

प्रधानमन्त्री शेरबहादुर देउवाले लिने निर्णयमा नै गठबन्धनको भविस्य निर्धारण हुनेछ । देउवको पछिल्लो सक्रियता हेर्दा उनी गठबन्धनको साझा चासो भन्दा बाहिर गएर एमसीसी पारित गर्ने रणनीतिमा जुटेको देखिन्छ । तर, सत्ता घटक अरु दल अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने बरु सरकारबाटै बाहिरन तयार रहेपछि बल देउवको कोर्टमा पुगेको हो । यही पृष्ठभुमिमा बिहीबार बस्ने सत्ता गठबन्धनको बैठकले गठबन्धनको आयु समेत निर्धारण गर्नेछ । 

यदि बिहीबारको बैठकमा उनीहरुबीच एमसीसीबारे सहमति बनेको खण्डमा गठबन्धन कायमै रहने छ भने सहमति नबनी एक पक्ष अघि बढ्न खोजे बिहीबारबाटै गठबन्धन टुट्ने निश्चित छ । जसको सन्देश बुधबार बसेको माओवादी संसदीय दलको बैठकले दिइसकेको छ ।

सडकमा पनि तनाव

सदन मात्रै होइन, एमसीसीका कारण बुधबार दिनभरजसो संसद भवन आसपासको सडक पनि तनावग्रस्त बन्न पुग्यो । खासगरी एमसीसीको विपक्षमा उभिएका राजनीतिक दल र उनीहरुका भ्रातृ संगठनले नारावाजीसहित घेराउ र प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप नै हुन पुग्यो । झडपमा माओवादी निकट वाइसीयल र अनेरास्ववियु क्रान्तिकारीका नेता कार्यकर्ता घाइते हुन पुगे भने एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका तीन दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परे ।

बुधबार बानेश्वरमा ठूलो संख्यामा एमसीसीको विरोधमा सडकमा नारावाजी र प्रदर्शन भइरहँदा एमसीसीको पक्षमा पनि प्रदर्शन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप