बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा मन्त्रिपरिषद् विस्तार : माओवादी र काँग्रेसबाट सिफारिस गरिएका चार जनाले आजै शपथ लिने

समाजवादी भन्छ–‘सरकारमा सहभागी हुने की नहुने भन्नेबारेमा छलफल हुँदैछ’
आइतबार, २३ माघ २०७८, १३ : ५८
आइतबार, २३ माघ २०७८

कर्णाली प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गत कार्तिक १६ मा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले केन्द्रीय गठबन्धनको निर्देशनमा लामो समयपछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । नेकपा एकीकृत समाजवादीले भने यसमा असहमति जनाइरहेको छ । 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट सिफारिस गरिएका चार जनाले भने आइतबार साँझसम्म मन्त्रीको शपथ लिने स्रोतको जानकारी दिएको छ । नेपाली काँग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्दै छन् । बिसी यसअघि एक कार्यकाल सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् भने शाही पहिलो पटक मन्त्री बन्न लागेका हुन् । शाही हाल दलको प्रमुख सचेतकको भूमिका छन् । 

यस्तै नेकपा माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका कार्चेन लामा मन्त्री बन्दै छन् । लामा गैर सांसद हुन् । गैर सांसदलाई मन्त्री बनाएको भन्दै माओवादी केन्द्र संसदीय दलभित्रै नेताहरूले असन्तुष्टि जनाएका छन् ।  

एकीकृत समाजवादीले भने आज नै मन्त्री पठाउने÷नपठाउने भन्ने बारेमा निर्णय गरिसकेको अवस्था छैन । केन्द्रीय गठबन्धनले समाजवादीबाट जुम्लाका पदमबहादुर बोहरालाई मन्त्री बनाउन निर्देशित गरेको थियो । एकीकृत समाजवादीले भने आफ्नो दलले तीन वटा नै मन्त्रालय पाउनुपर्ने अडान कायम राखेको छ ।  

मुख्यमन्त्री शाहीको निजी सचिवालयका अनुसार सकेसम्म आज नै समाजवादीलाई पनि सहमतिमा ल्याएर सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ । सहमति नभए माओवादी र काँग्रेसबाट सिफारिस भएकाहरूको मात्र भए पनि आज शपथको तयारी गरिएको छ ।

उता, समाजवादीले तीन मन्त्रालय नदिएको खण्डमा सरकारबाट बाहिरिने बताउँदै आएको छ । एकीकृत समाजवादी संसदीय दलकी प्रमुख सचेतक देवी ओलीले सरकारमा जाने की नजाने भन्नेबारेमा नेताहरूबीच अहिले छलफल जारी रहेको रातोपाटीलाई जानकारी दिइन् ।  

अहिलेसम्म कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारेमा निष्कर्ष आएको छैन । त्यो बारेमा पनि अहिले नेताहरूबिच छलफल जारी रहेको स्रोतले जनायो ।

समाजवादीबाट यसअघि चन्द्रबहादुर शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने नेकपा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बनेका छन् । कर्णालीमा आठ सदस्यीय मन्त्रिमण्डल रहेको छ ।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप