मोरङ हत्याकाण्ड : धापाखेलमा भाडाको घरमा घाँटी कसेर मोहन लिम्बुको हत्या
ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित दिप्ती गुरुङको घर भाडामा लिन एकजना पुरुष उनको सम्पर्कमा पुगे । ३ महिनाअघि ती पुरुषलाई केका लागि भाडामा लिन खोज्नुभो भन्दा उनले भनेका थिए– ‘हाम्रो अनलाइनको व्यापार छ, गोदाम राख्छौँ र अफिस पनि यहीँ राख्छौं ।’
घर भाडामा दिएको ३ महिनापछि बिहीबार प्रहरीको जम्बो टोली गएर उनको घरको पछाडिको छिँडीबाट शव निकालेको छ । सो शव तेह्रथुम घर भएका ६२ वर्षीय मोहन प्रसाद लिम्बुको हो । पहिले सो घरमा ‘बाल संसार’ स्कुल थियो ।
घरको पछाडिको भागमा ५ फिट गहिरो खाल्डोबाट लिम्बुको शव निकालिएको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने– ‘शव गलाउन नुन हालेको र ढलान गरेको देखिन्छ ।’
हत्यामा संलग्नहरूले लिम्बुको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाँटीमा डोरी कसेको अवस्थामा शव उत्खनन गरिएको छ । आरोपीहरुले शुरुमा कोठाभित्रको ढलान काटेर गाड्नका खोजेको देखिएको छ । ‘टायल काट्ने मेशिनले ढलान काटेको देखिन्छ’ एसएसपी कुँवर भन्छन्–‘पछि घर पछाडि कम्पाउन्डभित्र माटो खनेर पुरेको देखिन्छ ।’
हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले मंसिर २८ मा लिम्बुको हत्या गरेको प्रहरीलाई बताएका छन् । मण्डल सिरहाका स्थानीय हुन् । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १३ र १४ मा सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएपछि मण्डललाई प्रहरीले निगरानी गरिरहेको थियो ।
धापाखेलमा मोहनप्रसाद लिम्बुको हत्या गर्न ५–६ जना भारतीय नागरिकलाई प्रयोग गरिएको बताइएको छ । तर, त्यसबारे अनुसन्धान अधिकृतहरूले केही बताएका छैनन् ।
अनि, विराटनगर
धापाखेलमा लिम्बुको हत्या गरेर शव व्यवस्थापन गरेपछि अनिलकुमार मण्डल मोरङको विराटनगर हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसी काठमाडौंबाट ३ जना सँगै विराटनगर गएको बताउँछन् ।
मण्डलसँग सँगै जाने अरु दुईजना थिए, शम्भु चौधरी र राजेन्द्र कुमार श्रेष्ठ । उनीहरु दुवै जना हत्यापछि मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । ‘विराटनगरमा दुई जनालाई हत्या गरेर अनिल मण्डल काठमाडौं आएको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘उनको बयानका आधारमा धापाखेलमा लिम्बुको शव भेटिएको हो ।’
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मण्डल बाहेक थप मानिसहरुलाई पनि पक्राउ गरेको छ । तर, उनीहरुमाथि सोधपुछ भइरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन । लेनदेनको विवादमा ३ जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
काठमाडौंमा पक्राउ परेका मण्डललाई बिहीबार मोरङ पठाइएको छ । मोरङ पुगेर साँझ ५ बजेतिर उनले तेस्रो शव गाडेको ठाउँबारे बयान दिएपछि प्रहरीले लिम्बुको शव उत्खनन गरेको हो । लिम्बुको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।