शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ हत्याकाण्ड : बेपत्ता तेस्रो व्यक्तिको शव ललितपुरमा भेटियो

बिहीबार, २० माघ २०७८, १९ : १३
बिहीबार, २० माघ २०७८

मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाकाे हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको हो ।

यस हत्या प्रकरणमा पक्राउ परेका आरोपी अनिल कुमार मण्डलको बयानको आधारमा प्रहरीले बेपत्ता रहेका लिम्बुको शव पनि फेला पार्न सफल भएको हो । कुँवरका अनुसार लिम्बुको शव पाँच फिट तल ढलान गरेर गाडेको अवस्थामा फेला परेको छ । मृतक र पक्राउ परेका सबै जना जग्गा कारोबारी थिए ।

यसअघि मोरङ धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो । माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको छ । अर्को शव सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएका थिए । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् । श्रेष्ठ पनि जग्गा कारोबारी हुन् । श्रेष्ठ र चौधरी काठमाडौंबाट सँगै एक महिनाअघि बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुंगाना/राजेश भण्डारी
मदन ढुंगाना/राजेश भण्डारी
लेखकबाट थप