शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबीच परीक्षा : सङ्क्रमित पनि एउटै हलमा, परीक्षा केन्द्रमा तनाव !

विद्यार्थीको टाउको फुट्नु राम्रो हैन : सीसीएमसी
बुधबार, ०५ माघ २०७८, १६ : ४७
बुधबार, ०५ माघ २०७८

बुधबार कोरोना सङ्क्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा तनाव उत्पन्न भयो । पूर्वाञ्चल* विश्वविद्यालयले सञ्चालन गरेको बीएएलएलवी चौथो वर्षको परीक्षामा सङ्क्रमितलाई एउटै परीक्षा हलमा राखिएको, सेनिटाइटजर लगायत अन्य कोभिड सुरक्षा मापदण्ड नअपनाइएको भनेर विद्यार्थीहरूले परीक्षा केन्द्रमा तालाबन्दी गरे । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लियो भने केही विद्यार्थी घाइते समेत भए । 

यो क्याम्पसका अलावा बुधबार स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै पुतली सडकमा रहेको हिमालय ह्वाइट हाउस कलेजमा पनि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरे । यतिबेला विभिन्न संकायका स्नातक तह तेस्रो र प्रथम वर्षका परीक्षाहरू सञ्चालन भइरहेका छन् भने केही सञ्चालनको क्रममा रहेका छन् । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले कोभिड ओमिक्रोन सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै भौतिक उपस्थिति रहने शैक्षिक क्षेत्रका गतिविधिमा रोक लगाएका बेला पूर्वाञ्चल, त्रिभुवन विश्वविद्यालयले भने धमाधम परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय विद्यार्थी स्वयम् कोरोना सङ्क्रमित भएका बेला विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर जोखिम बढाएको भन्दै विद्यार्थीहरूले परीक्षा सार्नका लागि माग गरिरहेका छन् । 

त्रिविका रजिष्ट्रार दाहाल भन्छन्–‘परीक्षा हुन्छ तर म अहिले बोल्न सक्ने अवस्थामा छैन’ 

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहालका परिवारका सदस्य समेत कोभिड सङ्क्रमित भएका छन् । परिवारको सदस्यको उपचारका लागि उनी बिदामा बसेका छन् । रातोपाटीले उनीसँग विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका परीक्षामा स्वास्थ्य मापदण्ड पालना नभएको र कोभिड सङ्क्रमणको यस्तो अवस्थामा पनि परीक्षा सञ्चालन भइरहन्छ भन्ने प्रश्नमा उने भने–‘अहिले म बोल्न सक्ने अवस्थामा छैन, तर परीक्षा निरन्तर चल्छ ।’

कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवारी पाएका जिल्ला प्रशासनका अधिकारी समेत धमाधम सङ्क्रमित भइरहेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल समेत कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् । अधिकारी सङ्क्रमित भएर बिदामा बसेपछि सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले निमित्तको जिम्मेवारी सम्हालेकी छिन् । उनले शैक्षिक गतिविधि भर्चुअल रूपमा गर्नुपर्ने मापदण्ड रहेको बताइन् । उनले स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गर्नुपर्ने बताइन् । 

सीसीएमसीका पदाधिकारीहरू नै कोभिड सङ्क्रमित, बैठक बस्ने अवस्था छैन 

कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी नै कोभिड सङ्क्रमित भएपछि बैठक बस्न सकेको छैन । केन्द्रका प्रमुख रहेका सचिव रामप्रसाद थपलियाले आफू १० दिन अघि सङ्क्रमित भएर आराम गरिरहेको बताए । उनी पछाडि रहेका सूर्य गौतम पनि सङ्क्रमित भएका कारण कार्यालयका कर्मचारी बैठक बसेर निर्णय गर्ने अवस्था नरहेको थपलियाले बताए । 

उनले त्रिभुवन विश्वविद्यालयको परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय भए पनि अहिलेको अवस्था हेरेर विश्वविद्यालय आफैले पनि अनुकूल निर्णय लिनुपर्ने बताए । उनले भने–‘म पनि दश दिनदेखि कोभिड सङ्क्रमित भएर सुतेको छु । सीसीएमसीको म पछिका सूर्य गौतम पनि सङ्क्रमित हुनुभएको छ । पहिले हामीले स्वास्थ्य मापदण्ड बनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेका थियौं । अहिले हामी बैठक बसेर थप निर्णय गर्ने अवस्थामा छैनौँ । कोभिड सङ्क्रमण बढेको बेलामा परीक्षा गर्दा विद्यार्थीको टाउको फुट्नु राम्रो हैन । परिस्थिति हेरेर त्रिभुवन विश्वविद्यालयले पनि बिचार गर्नुपर्छ । म सञ्चो भएपछि यसबारेमा बिचार गर्छु ।’

यता शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको निर्णय अनुसार मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिएको बताए । उनले कुनै केन्द्रले परीक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा विश्वविद्यालयलाई जानकारी गराउन सक्ने बताए । कोभिड सङ्क्रमित भएकाहरूलाई छुट्टै कोठामा राखेर परीक्षा लिने यसअघिको अभ्यास अनुसार नै परीक्षा लिन सकिने बताए । 

परीक्षा सार्न विद्यार्थीको माग, केही विद्यार्थी परीक्षाको पक्षमा  

कोरोना संक्रमण दर बढिरहेका बेला धेरै विद्यार्थी पनि सङ्क्रमित भएको भन्दै विद्यार्थीहरूले परीक्षा सार्न माग गरेका छन् । एलएलवी तेस्रो वर्षका विद्यार्थी गोपाल ओली भन्छन्–‘जीवन रहे परीक्षा पछि पनि हुन्छ । परीक्षा र जीवनको तुलना हुन सक्दैन । तसर्थ यसरमा नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस ।’

दधिराम अर्याल भन्छन्–‘परीक्षा सञ्चालन गर्नुको विकल्प छैन तर स्वास्थ्यको उचित मापदण्ड अपनाउने कुरोमा सम्झौता हुँदैन । हालको परीक्षा स्थगित गरिए १ वर्ष पछि परिनेछ ।’

अर्का विद्यार्थी भन्छन्–‘ म सङ्क्रमित छु परीक्षा दिँदा चुपचाप हल भित्र छिरेर परीक्षा दिने त होला, हैन । नत्र परीक्षा हल भित्र कस्तो प्रकारको वातावरण हुन्छ र स्वास्थ्य मापदण्डको कसरी पालना गरिन्छ भन्ने गत वर्षको परीक्षामा पनि देखिएको हो । परीक्षा सञ्चालन भए अहिले सङ्क्रमित नभएकाहरू पनि जोगिने छैनन् । किनकि अहिले पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि सङ्क्रमित भइरहेको अवस्था छ ।’

त्रिभुवन विश्वविद्यालयले माघ र फागुन महिनामा विभिन्न संकायका स्नातक तह तेस्रो र प्रथम वर्षका परीक्षा तालिका प्रकाशन गरेको छ । 

*सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप