शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो चरणको निर्वाचन : मतदान अघि नै गेम ओभर ?

मङ्गलबार, २८ मङ्सिर २०७८, १२ : ४४
मङ्गलबार, २८ मङ्सिर २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा निर्वाचनको तयारी भइरहेको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको हो ।

दोस्रो चरणका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजना बीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा सभापति पदका लागि पाँच उम्मेदवार रहेकोमा सबैभन्दा बढी मत शेरबहादुर देउवा र दोस्रो बढी मत शेखर कोइरालाले ल्याएका थिए ।

दोस्रो चरणको चुनावी रेसबाट बाहिरिएका बाँकी तीन उम्मेदवारमध्ये प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई नै सघाउने घोषणा गरिसकेका छन् । यसले गर्दा दोस्रो चरण देउवाका लागि सहज भएको हो ।
पहिलो चरणमा ४ हजार ६ सय ८१ मतमध्ये देउवाले २२५८ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाए ।

पहिलो चरणमा प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत पाएका छन् । यी दुवैले देउवालाई नै सघाउने घोषणा गरिसकेका कारण यिनले पाएको मत देउवालाई नै जोड्ने हो भने देउवाको पक्षमा २८७९ मत पुग्ने देखिन्छ । यद्यपि १३ औं महाधिवेशनमा दोस्रो चरणमा भएको मत परिणामलाई हेर्ने हो भने पहिलो चरणको निर्वाचनपछि प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारले समर्थन गर्दैमा सबै मत आफू समर्थित उम्मेदवारलाई नै जान्छ भन्ने ग्यारेन्टी देखिँदैन । यद्यपि, पहिलो चरणमा देउवाले हासिल गरेको मतलाई आधार मान्ने हो भने जितका लागि देउवालाई अब ‘रिङ आउट’ भएका प्रत्यासीमार्फत थोरैमात्र मतको सहयोग आवश्यक पर्दछ । त्यसैले पनि देउवाका लागि दोस्रो चरणको प्रतिस्पर्धा सहज बन्दै गएको हो ।

दोस्रो चरणको निर्वाचनमा सभापति पदका दुई उम्मेदवारमध्ये जसले बढी मत ल्याउँछ, उही विजयी हुन्छ । पहिलो चरणमै ४८ प्रतिशतभन्दा बढी मत ल्याएका देउवाले दोस्रो चरणका लागि ‘रिङ आउट’ भएका सिंह र निधिको समर्थनसमेत जुटाएका कारण सहजै जित हासिल गर्ने आँकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप