शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको ट्यांकीमा एक भोट बढी ! घट्यो शेखरको मत

मङ्गलबार, २८ मङ्सिर २०७८, १० : ४७
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको मत परिणाम सच्याएको छ । यसअघि डा. शेखर कोइरालाले पाएको भनिएको १ हजार ७ सय २९ मतबाट २७ मत घटाएर १ एक हजार ७०२ मत कायम गरिएको छ ।

त्यसैगरी विमलेन्द्र निधिले पाएको मतमा एक मत थपेर २५० मत कायम गरिएको छ भने कल्याण गुरुङको मतमा २ मत थपेर २२ मत कायम गरिएको मिडिया सेन्टरका सुरेश आचार्यले रातोपाटीलाई जानकारी दिए ।

यसअघि सार्वजनिक गरिएको शेरबहादुर देउवाको २ हजार २५८ मत कायमै भएको छ । त्यस्तै प्रकाशमान सिंहले पाएको ३७१ मत पनि सदर भएको छ । कुल ४ हजार ६८१ मतदातामध्ये ७७ मत बदर भएको आचार्यले बताए ।

यसो गर्दा बदर र प्राप्त मतको योगफल कुल खसेको मत ४६८१ भन्दा एक मत बढी हुन जान्छ । ट्याङ्कीमा एक मतचाहिँ बढी कहाँबाट आयो त ? रातोपाटीको प्रश्नमा आचार्यले भने, ‘बदर मत ७७ भनिएकोमा ७६ मात्रै बदर भयो कि ? एक मत कतै गयो होला ।’   

नेपाली काँग्रेसको निर्वाचन समितिका तर्फबाट आचार्यले मंगलबार बिहान पढेर सुनाएको मत परिणाम अनुसार सभापति पदमा कुल मतदाता सङ्ख्याभन्दा खसेको मत २३ बढी देखिएको थियो । निर्वाचन मिडिया सेन्टर प्रमुख रहेका आचार्यले मंगलबार बिहान नतिजा सुनाउँदै भनेका थिए, ‘निर्वाचन परिणाम अनुसार जम्मा ४ हजार ६८१ मत खसेकोमा ७७ मत बदर भएको छ । बाँकी मत मध्येबाट शेरबहादुर देउवाले २ हजार २५८ मत, डा. शेखर कोइरालाले १ हजार ७२९ मत विमलेन्द्र निधिले २४९ मत प्रकाशमान सिंहले ३७१ मत र कल्याण कुमार गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।’

आचार्यले दिएको यो विवरण अनुसार कुल मतदाताभन्दा २३ मत बढी देखिएको थियो । कुल मतदाता ४ हजार ६८१ जना रहेको भनिएको छ । तर, पाँच जना सभापतिका उम्मेदवारले पाएको मत र बदर मत समेत जोड्दा ४ हजार ७०४ मत हुन जान्थ्यो । अर्थात् कुल मतदाता भन्दा खसेको २३ बढी हुन जान्थ्यो ।

आचार्यले कुल मत ४ हजार ६८१ मध्ये ७७ मत बदर हुन गई बाँकी मत ५ जना सभापतिका उम्मेदवारले पाएको बताएका छन् । यसो गर्दा पाँच उम्मेदवारले पाएको मत ४ हजार ६ सय ४ मात्र हुनुपर्नेमा पाँच उम्मेदवारले पाएको मतको योगफल ४ हजार ६२७ हुन जान्छ ।

आखिर काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मतपत्र खसाएको पानी ट्याङ्कीमा २३ मत चाहिँ बढी कसरी पर्न गयो त ? यो प्रश्न गर्दा आचार्यले रातोपाटीसँग भने, ‘त्यो बढी देखिएको निर्वाचन समितिले सच्याइसक्यो, शेखर कोइरालाको २७ मत घट्यो । विमलेन्द्रजीको एक मत बढ्यो, कल्याण गुरुङको दुई मत बढ्यो । एक मतचाहिँ बदरमा यताउति भयो होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप