घनश्याम भुसालको माग : ओलीज्यू, मलाई हटाउनोस्, टंक कार्कीलाई बनाउनोस् !
एमालेको दसौँ महाधिवेशनपछि शनिबार र आइतबार भक्तपुरमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यको नाम सुनाउनुभन्दा पहिले पोलिटब्यूरो सदस्यहरूको नाम पढेर सुनाए । ओलीले वाचन गरेको सूचीमा घनश्याम भुसालको पनि नाम थियो ।
नेकपा एमालेका पूर्वमहासचिव समेत रहेका र यसपालि उपाध्यक्षमा पराजित भएका भुसालले बैठकमा अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भने, ‘म तपाईंको कार्यशैलीबारे टिप्पणी गर्ने पक्षमा थिइनँ, तर बोल्नैपर्ने भयो । मेरो नाम पोलिटब्यूरो सदस्यबाट हटाइयोस् र टंक कार्कीलाई पोलिटब्यूरो सदस्य बनाइयोस् ।’
बैठकमा भुसालले भने, ‘०३६ सालदेखि नै टंक कार्की मेरो आदरणीय नेता हुनुहुन्छ, त्यसैले मेरो नाम हटाए हुन्छ, तर उहाँलाई पोलिटब्यूरो कमिटीमा देख्न पाउँ । यो केन्द्रीय कमिटी हो, जोक होइन । कसलाई नेतृत्वमा ल्याउने भन्नेबारे क्राइटेरिया बनाइनुपर्छ ।’

नेता भुसालले टंक कार्कीलाई पोलिटब्यूरो सदस्य बनाउन गरेको मागप्रति ओलीले सुनेको नसुन्यै गरे । बरु उनले विधानको मापदण्डलाई पनि वास्ता नगरी ‘अन्य पार्टीबाट आएको’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित ९ जनालाई केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव राखे ।
टंक कार्कीलाई पोलिटब्यूरोमा ल्याइनुपर्ने भुसालको मागप्रति उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका कसैले पनि एकै शब्द बोलेनन्, कसैले साथ दिएनन् ।
चीनका लागि पूर्वराजदूत समेत रहेका टंक कार्की एमालेका त्यागी नेता मानिन्छन् । उनी दसौँ महाधिवेशनमा सचिवमा उठेर पराजित भएका थिए । ओलीले उपाध्यक्षमा पराजित भएका भुसाललाई स्थायी कमिटीमा ल्याए पनि कार्कीलाई भने ल्याएनन् ।
भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेशको माग
यसैबीच, एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटीमा ल्याउन केपी ओलीसँग माग गरे ।

‘कमरेड भीम रावललाई स्थायी कमिटीमा ल्यायो भने पार्टीको गरिमा बढ्छ,’ बैठकमा सचिव भट्टराईले भने,‘ उहाँ स्थायी कमिटीमा बस्न मान्नुहुन्छ कि मान्नुहुन्छ, त्यो पछि थाहा होला, तर उहाँलाई ल्याऔँ, उहाँलाई ल्याउँदा पार्टीको गरिमा बढ्छ ।’
तर, अध्यक्ष ओलीले योगेश भट्टराईको मागको पनि कुनै सुनुवाइ गरेनन् । त्यसबारे केही जवाफ नै दिएनन् । निवर्तमान उपाध्यक्ष रावल महाधिवेशनमा केपी ओलीसँग चुनाव लडेर पराजित भएका थिए । माधव नेपालको पक्षमा नगई रावल एमालेमै रहेको अवस्थामा पनि ओलीले उनलाई जिम्मेवारीविहीन बनाइदिएका छन् ।
यसैबीच एमाले बैठकले गरेको कार्यविभाजनबारे असन्तुष्टि व्यक्त गर्दै रावलले भनेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमुना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



