बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्य बन्दा अरु को–को छुटे ?

सोमबार, २७ मङ्सिर २०७८, १८ : ४१
सोमबार, २७ मङ्सिर २०७८

झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई एमालेमा प्रवेश गरेको धेरै महिना बितेको छैन । तर, विगतमा सँगै मार्सी चामलको भात खाएका केपी ओलीले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । प्रसाई केन्द्रीय सदस्यमा मनोनित हुँदै गर्दा छुटेका नामहरू हेर्ने हो भने एमालेमा निष्ठाको राजनीति बेकारजस्तै लाग्न सक्छ ।

सिन्धुपाल्चोकका सुवास कर्माचार्य नेकपा एमालेका पूर्वसांसद हुन् । उनी एमालेका त्यागी एवं सादगी नेताका रुपमा चिनिन्छन् । तर, दुर्गा प्रसाईं केन्द्रीय कमिटीमा अटाउँदा कर्माचार्यलाई केपी ओलीले सम्झिएनन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ मा काँग्रेस नेता रमेश लेखकलाई हराएर प्रतिनिधिसभाको सदस्य बनेका डा. दीपकप्रकाश भट्ट एमालेका बौद्धिक नेता हुन् । नेपालको शान्ति प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेलेका भट्टले दुर्गा प्रसाईले जस्तो केपी ओलीको गुणगान नगाए पनि कञ्चनपुरमा एमालेको प्रभाव कायम गर्न योगदान गरेका छन् । तर, भट्टलाई पनि ओलीले सम्झेनन् ।

एमालेका अर्का नेता सुरेन्द्र मानन्धर पूर्वकेन्द्रीय सदस्य हुन् । माधव नेपालसँग निकट रहँदै आएका उनी एमालेकै रहनुपर्छ र पार्टी एकताको पक्षमा लाग्नुपर्छ भनेर एकीकृत समाजवादीमा नगई बसेका थिए । तर, ओलीले उनलाई पनि दुर्गा प्रसाईजस्तो योग्य सम्झेनन् ।

ओलीको कोपभाजनमा परेका अर्का नेता हुन् कर्णाली प्रदेशका डा. योगेन्द्र शाही । शाहीलाई प्रकाश ज्वालाले कर्णाली प्रदेशको अर्थमन्त्री हुँदा प्रदेश योजना आयोगको प्रमुख बनाएका थिए । उनी पनि माधव नेपालको पार्टीमा जान तयार भएर बसेका थिए । तर, पार्टीमा १० बुँदे सहमति भएपछि एमालेमै बसेर योगदान गर्न सकिन्छ भन्ने ठानेर एमालेमै बसेका थिए ।

​शाहीले प्रकाश ज्वालासँग असहमति जनाउँदै योजना आयोगबाट राजीनामासमेत दिएका थिए । तर, आफ्ना प्रशंसक धर्मराज रेग्मीलाई केन्द्रीय समितिमा ल्याउँदा ओलीले डा. शाहीलाई छुटाए । उनी अहिले एमालेमै बसेकोमा पछुताउन थालेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यहरुको मनोनयनमा मात्र होइन, स्थायी कमिटी र पोलिटब्युरो कमिटी बनाउँदा पनि आफ्ना प्रशंसकलाई प्राथमिकता दिएको तर त्यागी नेताहरुलाई छुटाएको आरोप एमालेभित्रैबाट लागेको छ । जस्तै– तीनपटक केन्द्रीय सदस्य भइसकेकी श्रीमाया थकाली केन्द्रीय सदस्य भन्दा मास्तिर गइनन् । माओवादीका प्रभु साह र मणि थापाहरु स्थायी कमिटीमा अटाउँदा अरुण नेपालजस्ता नेताहरु पोलिटब्यूरोमै सीमित भए ।

मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद घनश्याम खतिवडा त्यागी एवं स्थानीयरुपमा लोकप्रिय नेता हुन् । एमालेभित्र खतिवडा ओली समूहभित्रैका नेता हुन् । तर, ओलीले बिराटनगरका धनाढ्य व्यापारी मोती दुगडलाई केन्द्रीय सदस्य बनाउँदै गर्दा खतिवडालाई सम्झिएनन् ।

झापाकै कुरा गर्ने हो भने ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य बनाउँदा झापा आन्दोलनदेखिकै आफ्ना सहयोद्धा नरेश खरेललाई बेवास्ता गरेका छन् ।

अरु पार्टीमा नातावाद कृपावाद रहेको बताउने एमाले अध्यक्ष ओलीले  श्रीमाया थकालीहरुलाई बिर्सेर केही पैसावाल नेताका श्रीमतीलाई पोलिटब्युरो सदस्य बनाएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको छ ।

उता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका चर्चित एमाले नेता तारा जोशीलाई विधान महाधिवेशनकै बेलामा समानान्तर कमिटी बनाएर ओली पक्षले पेलेपछि उनी ४५ सदस्यीय निर्वाचित जिल्ला कमिटीबाट ३९ जनालाई लिएर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । जोशीलाई पार्टीमा प्रवेश गराउन माधव कुमार नेपाल हेलिकोप्टर चढेर डडेलधुरा पुगेका थिए ।

शनिबार र आइतबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकबाट त्यागी एवं एमालेमै भविष्य देखेर बसेका धेरै नेताहरु निराश बनेको स्रोतले बतायो ।

केपी ओलीले पदाधिकारीसँग पनि सल्लाह नगरी आफूखुशी केन्द्रीय सदस्यहरुको मनोनयन गरेको र मनलाग्दीरुपमा बढुवा गरेको भन्दै पार्टीभित्र उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप