शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिको साझा उम्मेदवारसहित टीम बनाउन पौडेल समूहको बैठक, पदाधिकारीमा को-को छन् आकांक्षी ?

बुधबार, २२ मङ्सिर २०७८, ०७ : ३४
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्दैछ । बुधबार विहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याडमा पौडेल पक्षका नेताहरुबीच सभापतिको साझा उम्मेदवार छनोट गर्न छलफल हुन लागेको हो ।

आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने  पौडेल समूहको तयारी छ । तर अहिलेसम्म साझा उम्मेदवार कसलाई बनाउने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन् भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिएका छैनन् । 

मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठक विना निष्कर्ष टुंगिएको थियो । महाधिवेशन आउन २ दिन मात्र बाँकी हुँदा पौडेल समूहमा पदाधिकारीको पनि कुनै टुंगो लागेको छैन ।

 


 

उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा केही नेताले एकला एक्लै उम्मेदवारी घोषणा गरेका छन् । अहिलेसम्म उपसभापतिमा महेश आचार्य, महामन्त्री गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी घोषणा गरेको अवस्था छ ।

पौडेलको टिमबाट २ जना उसभापतिमा पूर्वसहमहामन्त्रीद्वय अर्जुननसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू र महेश आचार्य, चन्द्र भण्डारीको दाबी छ । 

यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङलगायतले पनि दाबी गरेको अवस्था छ । त्यसमा पनि पौडेल टीममा महामन्त्रीका दाबेदारको उम्मेदवारी सभापतिको उम्मेदवार को र कतिजना हुन्छन् भन्नेसँग जोडिएको छ ।

 


 

पौडेल पक्षबाट खस आर्य सहमहामन्त्रीमा दीपक गिरी, हृदयराम थानीलगायतको दाबी छ । यस बाहेक महामन्त्री र उपसभापतिबाट पछि फर्किनुपर्ने अवस्थामा धेरैको नजर सहमहामन्त्रीमै देखिन्छ ।

पौडेल समूहबाट दलित कोटाको सहमहामन्त्रीमा केन्द्रीय सदस्य जीवन परियार मुख्य दाबेदार देखिएका छन् भने पौडेल पक्षबाट भने मुस्लिम कोटाबाट केन्द्रीय तहको नेता सहमहामन्त्रीको दाबेदार मैदानमा उत्रिसकेको अवस्था छैन ।

पौडेल पक्षबाट मुस्लिम कोटाको सहमहामन्त्रीमा बलियो उम्मेदवारका रूपमा हेरिएका अफ्ताव आलम जेलमा छन् । अरु दाबेदार निस्किएका छैनन् । त्यस्तै पौडेल समूहबाट कमला पन्त, रत्न शेरचन, सरिता प्रसाईं  र किरण यादवलाई महिला सहमहामन्त्रीको दाबेदारका रूपमा हेरिएको छ ।

महामन्त्रीमा दाबी गरेका धनराज गुरुङ, सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा आदिवासी जनजातिकोटाबाट सहमहामन्त्री दाबेदारका रुपमा देखिएका छन् । पौडेल समूहबाट केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वकेन्द्रीय सदस्यद्वय रामचन्द्र तिवारी र रामकुमार चौधरी मधेसी कोटाबाट सहमहामन्त्रीका दाबेदार हुन् ।

थारु सहमहामन्त्री सांसद तुलानारण चौधरी र पूर्वसभासद बुद्धिसागर चौधरीको सम्भावना देखिन्छ । पौडेल समूहबाट पिछिडिएको क्षेत्रको सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे दाबेदारका रूपमा हेरिएको छ । उनी निर्विकल्पजस्तै छन् । 

काँग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन्। काँग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् । केन्द्रीय सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचित गरेका एक कोषाध्यक्ष हुने व्यवस्था छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप