शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा निर्वाचनको तयारी : होटलबाहिर बन्दसत्र, होटलभित्र मतदान (भिडियो)

बुधबार, ०८ मङ्सिर २०७८, १३ : १८
बुधबार, ०८ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनअन्तर्गत मङ्सिर १२ गते हुने निर्वाचन कार्यक्रमको तयारी थालिएको छ । यसका लागि चितवनको सौराहामा रहेको होटल सेभेन स्टारको हलमा विद्युतीय मतदान मेसिन राख्ने, निर्वाचनका लागि आवश्यक सामग्री जुटाउने तथा हल व्यवस्थापनको काम सुरु भएको छ ।

महाधिवेशनमा २२ सय ७९ प्रतिनिधिलाई सहज रूपमा मतदानका लागि आवश्यक पूर्व तयारी थालिएको महाधिवेशन निर्वाचन समितिका सदस्य तथा एमाले चितवन जिल्ला सचिवालय सदस्य कमल पाठकले रातोपाटीलाई जानकारी दिए ।

होटलमा रहेको हलभित्र मतदानका लागि व्यवस्थापनको काम थालिएको उनको भनाइ छ । मङ्सिर ११ गते बन्द सत्रको कार्यक्रम सुरु हुनेछ भने १२ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । निर्वाचन समितिले मङ्सिर ११ गते भोटिङ मेसिनको व्यवस्थापन लगायत अन्य तयारी गर्नेछ ।

होटल सेभेन स्टारको हलमा मतदान गर्नका लागि बिहान ८ बजेदेखि नै प्रतिनिधिहरू भोट हाल्न लाइन बस्नेछन् । मेसिनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदहरू र उम्मेदवारको नाम क्रमशः देखिने र स्वस्तिक चिन्हमा छोएर भोट गर्न सकिने पाठकले बताए ।

रातोपाटीसँग कुरा गर्दै पाठकले भने, ‘एक सय विद्युतीय भोटिङ मेसिन एमालेको निर्वाचन आयोग सँग हुनेछ । जसमध्ये ९० वटाबाट मतदानको व्यवस्था गर्छौं । १० वटा मेसिन भने ब्याकअपका रूपमा राखिनेछ । एकजना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा १५ मिनेट देखि बढीमा ४० मिनेटसम्म समय लाग्न सक्छ । मङ्सिर १२ गते १० घण्टाभित्र मतदानको काम सम्पन्न गर्ने तयारीमा जुटेका छौँ ।’

मङ्सिर १२ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म एमालेको नेतृत्व चयनका लागि  मतदानको समय राखिएको छ । मतदान सकिएको ४ घण्टाभित्र सम्पूर्ण नजिता सार्वजनिक हुने पाठकले जानकारी दिए । 

होटल सेभेन स्टारमै एमालेका स्थायी कमिटी सदस्यभन्दा माथिका नेताहरूको खानपान तथा बसोबासको व्यवस्था हुनेछ । सोही होटलको हलमा निर्वाचन हुनेछ भने होटल बाहिरको अस्थायी हलमा बन्द सत्रको व्यवस्था गरिँदैछ । त्यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

विधान महाधिवेशनका बेला एमाले महाधिवेशन बुटवलमा गर्ने निर्णय गरे पनि पूर्वदेखि पश्चिमसम्मका प्रतिनिधिलाई आउन सजिलो हुने गरी चितवन रोजिएको एमालेको भनाइ छ ।  

बन्द सत्रका लागि होटल सेभन स्टारको छनोट गर्नुअघि सौराहाकै हात्तीपोलो खेल्ने चौरलाई पनि छानिएको थियो । ठूलोचौर भएकोले त्यहाँ सहज हुने भए पनि राष्ट्रिय निकुञ्ज नजिकै रहेका कारण हात्तीको प्रजननको समय भएको, हात्ती तथा गैँडा बाहिर निस्कने भएकाले सुरक्षाका लागि सो होटल नै रोजिएको पाठकले बताए ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप