शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सौराहामा यस्तो छ एमालेको बन्दसत्र स्थल (फोटो/भिडियो)

निर्वाचन होटलमै हुने, ९३ जनाले एकैसाथ भोट दिन सकिने
बुधबार, ०८ मङ्सिर २०७८, ०६ : ००
बुधबार, ०८ मङ्सिर २०७८

शम्भु दंगाल/गणेश दुलाल

चितवनको सौराहामा नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्र कार्यक्रमका लागि तयारी तीव्र पारिएको छ । मङ्सिर ११ र १२ गतेका लागि तय गरिएको बन्दसत्रका लागि सौराहाको होटल सेभेन स्टार बुक गरिएको छ । होटलको बाहिर रहेको झन्डै २ बिगाहा जमिनलाई सम्याएर अस्थायी हल निर्माणका लागि धमाधम काम भइरहेको छ ।

मङ्सिर १० गते साँझ नारायणी नदी किनारमा उद्घाटन सकेपछि एमालेका नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरू सौराहा प्रस्थान गर्नेछन् । उनीहरूका लागि सौराहाका होटलमा ३५ सय बेड बुक गरिएको छ । पार्टीका स्थायी कमिटीभन्दा माथिका नेताहरू भने होटल सेभेन स्टारमै बस्ने छन् ।

मङ्सिर ११ गतेबाट होटल बाहिरको अस्थायी हलमा बन्द सत्रको कार्यक्रम  हुनेछ । त्यहाँ हल निर्माणको काम धमाधम भइरहेको छ । त्यसका लागि जमिन सम्याउने काम सकिएको छ भने कार्यक्रमस्थल निर्माणको काम सुरु गरिएको एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन मूल व्यवस्थापन कमिटी सदस्य, स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यसका लागि आवश्यक सामग्रीको तयारी भइसकेको छ ।

महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई खाना खुवाउनका लागि पनि होटल बाहिर बन्दसत्र हलसँगै अर्को किचेन हलको पनि निर्माण थालिएको छ । सो हलमा सबैले एक घण्टाभित्र खाना खाइसक्ने गरी व्यवस्थापन हुने श्रेष्ठले बताए । हलको छेउमा अस्थायी शौचालय निर्माणको काम पनि सुरु भएको छ ।

निर्वाचन होटलमै हुने, ९३ जनाले एकैसाथ भोट दिन सक्ने

महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रिया भने होटल सेभेन स्टारको हलमा हुनेछ । जहाँ इ–भोटिङको व्यवस्था हुनेछ । ९३ वटा भोटिङ मेसिनको प्रयोग हुने भएकोले ९३ जना प्रतिनिधिले एकैसाथ मतदान गर्न सक्ने श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

श्रेष्ठले भने, ‘महाधिवेशनको मुख्य काम नेतृत्व चयनका लागि हुने निर्वाचनको काम होटलको हलमा हुनेछ । ई–भोटिङका लागि हामी ९३ वटा भोटिङ मेसिनको प्रयोग गर्छौँ । हलमा गेटबाट छिर्ने बित्तिकै ९३ जनाले भोट दिन गोप्य मतदानस्थल बनाउँछौँ ।’

मङ्सिर ११ गते बेलुका उम्मेदवारी घोषणा हुने र भोलिपल्ट मतदानको प्रक्रिया अघि बढ्ने बागमती प्रदेश सभा सदस्य एवं एमाले नेता विजय सुवेदीले जानकारी दिए ।

होटल बाहिर २२ सय जना प्रतिनिधि अट्ने हलको पूर्वतर्फ स्टेज रहने छ । स्थायी कमिटीका सबै सदस्य अट्ने मञ्च रहने र हलको दायाँ–बाँया २० बाई ३० इञ्चको एलसीडी मोनिटर राखिने श्रेष्ठले बताए । बन्द सत्रको सो हल निर्माणका लागि १ सय जना हाराहारी स्वयंसेवक तथा मजदुरले काम गरिरहेको उनले बताए ।

बन्दसत्र स्थलमा कडाइ : बार कोड कार्ड होल्डरलाई मात्र प्रवेश

एमालेले महाधिवेशनेको बन्दसत्र स्थलमा प्रवेशमा कडाइ गर्ने छ । जहाँ बार कोड भएका परिचय पत्र बाहकबाहेक अरूले प्रवेश पाउने छैनन् । मञ्च व्यवस्थापनमा खटिएका श्रेष्ठले भने, ‘बन्दसत्र हुने स्थानलाई घेराका साथै स्ब्यारीगेट राखेर सिल गरिनेछ । बारकोड रिड गरेका ब्यक्ति मात्रै बन्द सत्र स्थलमा प्रवेश गर्न पाउनेछन् । प्रतिनिधि बाहिरका मान्छे कोही पनि प्रवेश गर्न पाउने छैनन् । प्रतिनिधिसँग आएका सहयोगीहरूलाई गेट बाहिर एलसीडी मोनिटरमा पार्टीका विभिन्न प्रकारका डकुमेन्ट्री हेर्न तथा भित्र भइरहेको गतिविधि, जुन बाहिर पनि हेर्न दिन मिल्छ, त्यसलाई पनि देखाउने व्यवस्था गर्छौँ ।’

सो प्रदर्शनीस्थलमा एमालेले विगतका गरेका काम र विगतका महाधिवेशनका झलकहरू प्रस्तुत गरिने बागमती प्रदेश सभा सदस्य एवं एमाले नेता सुवेदीले जानकारी दिए । प्रतिनिधिभन्दा बाहिरका कोही पनि गेटभन्दा भित्र छिर्न नसक्ने उनले बताए । यस्तै बन्दसत्र स्थल बाहिर विभिन्न स्टलहरू रहनेछ, जहाँ पुस्तक प्रदर्शनी, खानेकुराको स्टल लगायतको व्यवस्था गरिनेछ ।

बन्द सत्रका लागि ५ सय स्वयंसेवक

मङ्सिर १० गतेको उद्घाटनस्थल नारायणी नदी किनारमा ५ हजार स्वयंसेवक परिचालन गर्ने तयारी गरेको एमालेले बन्द सत्र स्थलमा भने ५ सय स्वयंसेवक खटाउने भएको छ । उनीहरूलाई प्रतिनिधिसँगै बसोबासको व्यवस्था मिलाइएको श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

बन्दसत्र स्थलको सुरक्षाका लागि सुरक्षाकर्मीका साथै स्वयंसेवक पनि परिचालन हुनेछन् । यस्तै, सवारी पार्किङका लागि होटल नजिकै ३ बिघा जमिन तयार पारिएको छ ।

सौराहाको पर्यटन प्रवर्द्धनलाई योगदान

चितवनको नारायणी तीरमा महाधिवेशन गरेर झन्डै २० किलोमिटर टाढा सौराहामा महाधिवेशन गर्नुको कारण सौराहाको पर्यटनलाई प्रवर्द्धन गर्न खोजेको श्रेष्ठले बताए । उनले भने, ‘हामीले सौराहामा महाधिवेशनको बन्द सत्र गरेपछि त्यसको परिणाम सौराहा एकदम रमणीय पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश पनि जाओस् भन्ने हाम्रो चाहना हो । महाधिवेशन सफल भयो, फलानो मान्छे नेता भयो भन्ने भन्दा पनि एमालेले राखेको सुखी नेपाली, समृद्ध नेपाल बनाउन आन्तरिक पर्यटकले पनि भरथेग गर्न सक्छ भन्ने पनि हो  ।’

बन्दसत्र स्थलसम्म पुग्ने बाटोका विभिन्न स्थानहरूमा स्वागतद्वार निर्माणको काम पनि थालिएको छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप