बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ग्रेसफुल एक्जिट’का लागि चोलेन्द्र श्रीमान्‌का तीन प्रस्ताव

चैत मसान्तसम्म काम गर्न पाउनुपर्ने प्रस्ताव
सोमबार, १५ कात्तिक २०७८, १३ : २०
सोमबार, १५ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव राखिएको एक न्यायाधीशले बताए ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का एक न्यायाधीशमार्फत् ग्रेसफूल एक्जिटको प्रस्ताव पठाएका थिए । तर प्रधानन्यायाधीश जबराले ग्रेसफूल एक्जिटको प्रस्ताव पठाए पनि त्यो ग्रेसफूल एक्जिट कस्तो हो भनेका थिएनन् ।

प्रधानन्यायाधीशको प्रस्तावमा न्यायाधीशहरु राजी भएर प्रधानन्यायाधीशलाई सम्मानजनक विदाई गर्ने तर त्यसका लागि प्रधानन्यायाधीशले नै ग्रेसफूल एक्जिटको बाटो र प्रस्ताव पठाउनुपर्ने बताएका थिए । प्रधानन्यायाधीशका मागका सम्बन्धमा छलफल गर्न आइतबार नै असन्तुष्ट न्यायाधीशहरूले आफ्ना तर्फबाट न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई छलफलका लागि पठाएका थिए ।

प्रधानन्यायाधीशसँग वार्ता र छलफलको बाटो नै बन्द भएपछि प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरु वार्तामा बस्न सहमत भई छलफलको सुरुवात भएको थियो । आइतबार न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई अन्य सबै पेसी स्थगित गरी बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोक्न र आफ्ना लागि पेसी नतोक्न आग्रह गरेका थिए । सोही प्रस्ताव बमोजिम सोमबार प्रधानन्यायाधीश जबराले आफू बाहेकका केही न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोकेका छन् ।

आइतबार तीनजना न्यायाधीश र प्रधानन्यायाधीशबीच भएको छलफलमा प्रधानन्यायाधीशले ग्रेसफूल एक्जिटका लागि तीनवटा प्रस्ताव पठाएको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनका लागि आफूलाई कम्तीमा आगामी चैतसम्म काम गर्न दिनुपर्ने प्रस्ताव राखेका छन् ।

त्यसैगरी दोस्रो प्रस्तावमा प्रधानन्यायाधीशले आफूले नै गोलाप्रथाबाट पेसी तोक्ने कामको सुरुवात गर्न पाउनुपर्ने र त्यो काम केही समयमै गर्ने प्रस्ताव पठाएका छन् । तेस्रो प्रस्तावमा प्रधानन्यायाधीश जबराले आफूलाई बदनाम गर्न लगाइएका सबै आरोपहरू न्यायाधीशहरूले फिर्ता लिनुपर्ने बताएका छन् ।

न्यायाधीशहरूले लगाएको आरोपका कारण आफ्नो बदनामी भएको र त्यो दाग मेटाउनका लागि पनि सबै आरोपहरू फिर्ता लिनुपर्ने र न्यायाधीशहरु नियमित काममा फर्कनुपर्ने प्रस्ताव पठाएका छन् । छलफलमा सहभागी न्यायाधीशले त्यो कुराको प्रतिवद्धता कसरी हुन्छ ? लिखित गर्नुहुन्छ ? भन्ने प्रश्न गरेपछि प्रधानन्यायाधीशले लिखित प्रतिवद्धता नजनाउने जवाफ दिएको स्रोतले बताएको छ । प्रधानन्यायाधीशले ग्रेसफूल एक्जिटका लागि तीनवटा प्रस्ताव र शर्त पठाएपछि सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

यद्यपि छलफलमा सहभागी एक न्यायाधीशका अनुसार सम्मानजनक बहिर्गमनका लागि केही समय दिन सकिने भएपनि चैत मसान्तसम्मको समय दिन नसकिने र लिखित प्रतिवद्धता नआए विश्वास गर्ने ठाउँ नरहने भएकाले प्रस्ताव हुबहु स्वीकार गर्न सकिने अवस्था छैन ।

ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीशलाई तत्कालका लागि विदामा बस्न आग्रह गरिएको छ र एक दुई महिनापछि राजीनामा दिन भनिएको आग्रह गरिएको छ । बदनामीको दाग आफ्नै कारणले लागेको हुँदा उक्त दाग मेटाउन न्यायाधीशले कहीँ केही गर्न सकिने अवस्था छैन ।

प्रधानन्यायाधीशले तत्कालै गोलाप्रथाबाट पेसी तोकेमा त्यसलाई सम्मान गर्ने तर न्यायालय धेरै बिग्रिसकेको कारण राजीनामाको विषयबाट पछाडि हट्न नसकिने ती न्यायाधीशले बताए । तत्काल गोलाप्रथा सुरु गरी अधिकतम एक महिना समय माग गरेमा दिन सकिने अवस्था भएपनि आफ्नो इजलास राख्ने विषयमा भने असहमति रहने ती न्यायाधीशले बताए ।

यद्यपि प्रधानन्यायाधीशले धेरैपटक झूठ बोलेका कारण उनलाई विश्वास गर्ने ठाउँ नभएको ती न्यायाधीशले बताए । उनले भने, ‘उहाँले आफू समस्यामा पर्दा जहिले पनि यो हुन्छ त्यो हुन्छ, यो गर्छु त्यो गर्छु भन्नुहुन्छ । तर व्यवहारमा कहिल्यै पनि वाचा पूरा गर्नुहुन्न । संवैधानिक इजलासमा नबस्ने उनको निर्णय नै हेरे भैहाल्छ नि । त्यसकारण उनलाई विश्वास गर्न सक्ने ठाउँ पनि छैन । अब के गर्ने भन्ने हामी छलफल गर्छौं र आगामी बाटो तय गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप