शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाक्यलाई मार्ग प्रशस्त गर्न माओवादीको सुझाव

बिहीबार, ०४ कात्तिक २०७८, १७ : १२
बिहीबार, ०४ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको आगामी सरकारको नेतृत्व गर्नेगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई गठबन्धनका तर्फबाट प्रस्ताव गरेको बताएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा बिहीबार भाग लिँदै उनले मुख्यमन्त्री शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रहसमेत गरे । आफूहरुसँग धेरै अघि प्रदेशसभामा बहुमत जुटे पनि भर्खरै सत्ता सम्हालेका कारण मुख्यमन्त्री शाक्यप्रति सहानुभूति राख्दै केन्द्रकै निर्देशनमा आफूहरुले संविधानतः ३० दिनभित्र विश्वासको मत लिन दिने गरी आफूहरुले पर्खिएको उनले प्रस्ट पारे । तर मुख्यमन्त्री शाक्यले पछिल्लो समय प्रदेशसभालाई अलमल्याउने, सत्तालाई केही दिन लम्ब्याउने खेल सुरु गरेको भन्दै उनले आपत्ति जनाए ।

उनले एमालेका मुख्य सचेतकले बुधबार प्रदेशसभामा पत्र पठाएर प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको र अर्को बैठक बस्ने मितिसमेत तोकेकोप्रति पनि गम्भीर असन्तुष्टि प्रकट गरे । उनले भने, ‘प्रदेशसभालाई यति गते बैठक राख भनेर निर्देशन दिने, अरु दललाई मानमर्दन गर्ने गरी पत्र पठाएकोमा म घोर आपत्ति प्रकट गर्दछु ।’

उनले प्रश्न गरे, ‘सत्ता पक्षमात्र जनमत हो ? हामी सालको पात टिपेर आएका हौं ? परमादेश ल्याएर नगलहत्याएसम्म त मान्दै नमान्ने अनि नगलहत्याए के गर्ने रु नगलहत्याएसम्म सत्ता छोड्नै नहुने ? अझै पनि बुरुक बुरुक गर्ने ? दम्भ गर्ने ?’

​उनले केपी शर्मा ओलीले दुई तिहाइको सरकार चलाउन नसकेको, ठुलो पार्टी पनि चलाउन नसकेको भन्दै ओलीबाट एउटा गुटमात्र चलाइएको कुरालाई सबैले बुझेको उल्लेख गरे । उनले भने, ‘जनताले संविधान मान भनेर जनमत दिएको हो, व्यवस्था भत्काउ, संविधान च्यात भनेर जनताले जनमत दिएको त होइन होला नि !’ 

आफूले व्यक्तिगत रुपमा मुख्यमन्त्री शाक्यको धेरै सम्मान गर्ने पनि उनले बताए । उनले मुख्यमन्त्री शाक्यतिर लक्षित गर्दै भने, ‘तपाईलाई मुख्यमन्त्री बनाउन हिजो हामी पनि लडेकै हो । तर आफ्नो राजनीतिक इमानदारी र नैतिकता बचाउनु पर्छ । गठबन्धनले निर्णय गरेर आइसकेको छ, तपाईले मार्ग प्रशस्त गर्नुस् ।’

प्रदेशसभामा मुख्यमन्त्रीले आफ्नो कुरा राखिसकेका कारण अब कुनै पनि बहानामा विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रियालाई नलम्ब्याउन पनि उनले आग्रह गरे । उनले भने, ‘प्रदेशसभामा बहाना बनाउने, बैठक सारेर जाने, मुठभेडतिर लाने हो भने हामीसँग अर्को विकल्प छ ।’

उनले व्यक्तिगत रुपमा मुख्यमन्त्री शाक्यप्रति आफुहरुको सम्मान भए पनि अहिलेको राजनीतिक अवस्थामा आफूहरुले विश्वासको मत दिन नसक्ने प्रस्ट पारे ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप