शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गाडी किन्दा गाडी नै उपहार, मोटरसाइकल किन्दा सुनको तास !

सोमबार, २५ असोज २०७८, ०९ : ३८
सोमबार, २५ असोज २०७८

अटोमोबाइल बजारलाई दसैँ छपक्कै लागेको छ । अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण खासै व्यापार गर्न नपाएका व्यवसायीहरू यो पटक व्यापारमा सक्दो जम्न खोज्दैछन् । बजारमा माग अत्यधिक रहेको, तर आयात सोहीअनुसार गर्न नसक्दा यस वर्ष भनेजति गाडी उपलब्ध गराउन नसकेको अटो व्यवसायीहरूले बताइरहेका छन् । तथापि, दसैँ तिहारकै अवसरमा सकेको व्यापार गर्न व्यवसायीहरूले ग्राहक तान्ने गरी आकर्षक स्कीमहरू ल्याएका छन् ।

ब्राण्डअनुसार गाडी कम्पनीहरूले गाडी किन्दा गाडी नै उपहार दिने योजनादेखि १२ तोला सुनको तास उपलब्ध गराउनेसम्मका उपहार योजना सार्वजनिक गरेका छन् । यसवर्षको दसैँमा अटोमोबाइल बजारमा व्यापारीले ग्राहकलाई लोभ्याउन के–कस्ता अफरहरु ल्याएका छन् भन्नेबारे यहाँ चर्चा गरिएको छ । चर्चा सुरु गरौं– चारपांग्रे सवारी साधनका अफरहरुबाट–

‘गाडी किन्दा गाडी उपहार’

हुन्डाई मोटर्सले ‘गाडी किन्दा गाडी उपहार’ योजना ल्याएको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अन्तर्गत यस्तो योजना ल्याएको हो ।यस योजना अन्तर्गत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाखसम्मको आकर्षक नगद छुट दिने जनाएको छ ।

साथै स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म थप नगद छुट, १ वर्षसम्म निःशुल्क बीमा र चालु आर्थिक वर्षमा तिर्नुपर्ने सडक कर बराबरको रकमसमेत प्रदान गर्ने जनाएको छ । साथै हुण्डाई गाडी किन्ने ग्राहकले ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

टाटा मोटर्स: ‘यसपालि जाँदैन हात खाली’

टाटा मोटर्सले यस वर्ष दसैँ तिहारको अवसरमा ‘यसपालि जाँदैन हात खाली’ योजना ल्याएको छ । दसैँ तिहारको अवसरमा टाटाको गाडी बुक गर्ने चारजनालाई प्रत्येक हप्ता आकर्षक गिफ्ट ह्याम्परमा ४० इन्चको स्मार्ट टीभी प्रदान गर्ने र गाडीको खरिदमा आकर्षक नगद छुट दिने पनि टाटा मोटर्सले जनाएको छ ।

सुजुकी पर्वोत्सव: २ लाख नगद छुट

नेपालका लागि सुजुकी मोटर्सको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दसैँ तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट पाउनुका साथै एक १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै क्लियरेन्स मोडेलमा पनि विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटा शोरूमहरूमा लागू हुने सीजीले जनाएको छ ।

२९ हजार मासिक किस्तामा स्कोडा कुशाक

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैँ तिहार विशेष छुट योजना ल्याएको छ । ‘ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक’ नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न पाउनेछन् । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो । सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन

¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको कम्पनीले जनाएको छ । ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, एक वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् ।

होन्डा गाडीमा ३ लाख ५० हजार क्यास ब्याक

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरूको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘होन्डाको फेस्टिभ बोनान्जा’ ग्राहकमाझ ल्याएको छ ।

यस उत्सवमा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकहरूले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजारसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

रेनल्टमा जुनसुकै गाडीमा ३ लाख नगद छुट

प्यासेन्जर सेग्मेन्टका लागि रेनल्ट मोटर्सले दसैँ तिहार चाडपर्व विशेष ‘रेनो शुभ कार–रम्भ’ योजना ल्याएको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ नारासहित लागू भएको योजनामा कम्पनीले रेनोको कुनैपनि गाडीको खरिदमा ३ लाखसम्मको छुट प्राप्त गर्ने जनाएको छ ।

साथै, ग्राहकलाई सहज फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्मको वारेन्टी जस्ता सेवाहरूसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।यो योजना अन्तर्गत रेनोका डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीहरूमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।

ग्रेटवालमा अधिकतम ६ लाखसम्मको नगद छुट

चिनियाँ अटो ब्राण्ड ग्रेटवालको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।भीजी इम्पेक्सले ग्रेटवालका गाडीको खरिदमा ६ लाखसम्मको अफर दिएको छ । यो अफर जीडब्लुएमको दुई एसयूभी (थर्ड जेन हाभल एचसिक्स र हाभल जलिअनका साथै पिकअप मा पनि उपलब्ध हुनेछ ।

‘चाडपर्वको उमंग हाभल र पइर चढी दंग’ योजनामा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क एक्सेसरिज, सहज फाइनान्सको सुविधा र १ वर्षको विस्तृत बिमा लगायतको सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रोटोनमा १ लाखदेखि ६ लाखसम्मको दक्षिणा

प्राटोनले दक्षिणासहितको ‘दसैँ दक्षिणा’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १ लाख देखि ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् ।जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसैगरी, पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० हजारसम्म छुटको व्यवस्था समेत गरेको छ ।

अशोक लेलैण्डमा छानीछानी उपहार, आइफोन १२ पाउन सकिने

आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’ अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा छानी छानी उपहार योजना ल्याएको छ ।यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्ने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन, साथमा थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभी साथै क्यास डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ ।आईसीभी हलेज एमसीभी टिपर वा बसको खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस टर्क स्कुटर पाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

आईसीभी हलेज एमसीभी टिपर वा बस दुवैको एकसाथ खरिदमा ६० ग्राम सुन अर्थात एप्पल म्याक बुक प्रो साथमा आईफोन १२ प्रो म्याक्स प्राप्त गर्न सकिने छ । ग्राहकले रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन् ।एचसीभी साथै आईसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन वा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सकिने कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म लागु हुने बताइएको छ ।

अब दुई पांग्रे सवारी साधनतर्फका अफरहरु हेरौं–

बजाज: ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत फाइनान्सिङ सुविधा

‘फाइदा मोर, टेन्सन नो मोर’ एक्सचेन्ज अफरमा ग्राहकले पुरानो मोटरसाइकलसँग बजाजको नयाँ मोटरसाइकल एक्सचेन्ज गर्दा बजार भ्याल्यूएशनभन्दा १० हजार रुपैयाँ थप पाउनेछन् । यस अतिरिक्त कम्पनीले मोटरसाइकलको खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजरमा फाइनान्सिङ सुविधा समेत प्रधान गर्ने जनाएको छ । साथै एक जना भाग्यशाली विजेताले सामसुङ एम सिरिजको स्मार्टफोन समेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

टीभीएस: ६ प्राइसको सप्राइज

टीभीएस मोटरसाइकलले चाडपर्व विशेष ‘टीभीएस ६ प्राइसको सप्राइज’ योजना ल्याएको छ । कम्पनीले आफ्ना जुनकुनै प्रोडक्टको खरिदमा खरिद पहिले नै क्याज उपहार प्रदान गर्ने जनाएको छ ।६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक तथा भव्य उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीको बम्परमा सुजुकी इन्टुडर बाइक

सुजुकी मोटरसाइकल तथा स्कुटरका लागि नेपालको अधिकारिक बिक्रेता भी.जी.अटोमोबाइल्सले दसैँ तिहारलाई मध्यनजर गर्दै ‘दसैँ आयो उमङ्ग छायो क्यास ब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार स्योर सट क्यास ब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रूपमा सुजुकी इन्ट्रुडर मोटरसाइकल पाउने पक्का रहेको कम्पनीले जनाएको छ । साथै एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेञ्जको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ ।

हिरोको १ लाखसम्मको बम्पर उपहार

हिरोले विशेष चाडको अवसरमा ‘दसैँको बेला हिरोको मेला’ अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले हिरो मोटरसाइकल तथा स्कुटर किन्ने प्रेत्यक ग्राहकलाई ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट दिने जनाएको छ ।साथै, स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध रहने कम्पनीले जनाएको छ ।

यामाहा: ‘रेस फर द एस’ विजेतालाई १२ तोला सुनको एक्का तास

यामाहा मोटरसाइकलले दसैँ तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस’ अफर शुरु गरेको छ ।भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू भएको यो योजनामा सहभागीले ८ हजार देखि १ लाख रुपैयाँ बराबर उपहार जित्न सक्नेछन् । यामाहा बाइक खरीद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजारदेखि १ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, लक्की ड्रमा हरेक हप्ता १ जनाले ४ तोला सुनको एक्कातास जित्न सक्ने यामाहाले जनाएको छ । बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्ने यामाहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप