शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनको सरकार हुँदा क्षमतावानलाई मन्त्री बनाउन सकिएन : प्रधानमन्त्री देउवा

शनिबार, २३ असोज २०७८, १० : १७
शनिबार, २३ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् । शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दु:खी छु ।’

प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए । शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए । प्रधानमन्त्री देउवाले बिपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाशन गरिएकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरलाई धन्यवाद दिए । कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए । यस्तै  कार्यक्रममा संविधानविद् तथा बीपीबारे अध्येता बिपीन अधिकारीले आफ्नो धारणा राखेका थिए ।​

आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । यसक्रममा नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ भने सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । बीरगञ्जमा जसपाका कार्यकर्ताहरुले पार्टी नेतृत्वविरुद्ध प्रदर्शनसमेत गरेका छन् ।

मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका काँग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवामाथि आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद विस्तारपछि उत्पन्न असन्तुष्टि र आलोचनालाई सम्वोधन गर्ने प्रयास गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् । यद्यपि देउवाले साँसद पदमा नरहेका गजेन्द्र हमाललाई मन्त्री बनाउनुपर्ने कारणबारे भने केही पनि बताएनन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप