शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निधि, शशांक र प्रकाशमान फेरि जुटे छलफलमा, भयो पाँच विषयमा समझदारी

शुक्रबार, ०८ असोज २०७८, २१ : ०५
शुक्रबार, ०८ असोज २०७८

नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।

चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफलमा ब्रेक लागेको थियो । 

असोज ८ गते महामन्त्री शशांक कोइराला निवासमा शुक्रबार साँझ ६ बजेदेखि ८ बजेसम्म फेरि नेतात्रय बीच छलफल भएको छ । आजको भेटघाट पनि यसअघिकै निरन्तरता भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । 

‘यो यसअघि बस्दै आएको बैठकको निरन्तरता हो । यो पाँचौं शृंखला हो । पाँचवटा विषमा छलफल गरेका छौं । छलफल जारी नै रहनेछ । मुख्यतः १४ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा हाम्रो छलफल भएको हो,’ उनले भने । अर्को बैठक केही दिनमै उपसभापति निधिको निवास बानेश्वरमा बस्ने सहमति भएको छ ।​

निर्धारित मितिमै महाधिवेशन

आगामी मंसिर ९ गतेदेखि १३ गत १४ औं महाधिवेशन गर्ने नेतात्रय एकमत भएका छन् । उनले भने, 'निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न हामी एकमत छौं । १३ जिल्लाको क्रियाशील सदस्यता छिटो टुंगो लगाएर महाधिवेशन प्रक्रिया अगाडि बढाउने विषयमा हाम्रो छलफल भयो ।'

क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा  वडा अधिवेशन नै सरु हुन सकेको छैन । उक्त जिल्लामा दसैँअघि वडा अधिवेशन गर्नुपर्नेमा नेतात्रयको जोड छ ।  वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजदेखि पालिका तहको अधिवेशन सुरु हुनेछ । 

साथै असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गर्ने काँग्रेसको तयारी छ । १२ असोजमा प्रदेश निर्वाचन सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका ५६ जिल्लामा लागू नहुने भएको छ ।

योसँगै कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन  पनि केही दिन सर्ने देखिएको छ । काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । 


कति सम्भव छ एकता र सहमति ?

तीन नेताबीच सभापति पदका अन्य आकांक्षीसँग पनि सहमतिमा नेतृत्व चयनका विषयमा छलफल सहमति भएको उनको भनाइ छ ।  काँग्रेसको युवा पुस्ताले निधि, कोइराला र सिंहबीच समीकरण बने सभापति देउवा र वरिष्ठ नेता पौडेललाई पुस्तान्तरण र नेतृत्व हस्तान्तरणका लागि दबाब पुग्ने तर्क गर्छ । तर सभापतिकै लागि तीन जनाले उत्कट आकांक्षा देखाएकाले एकले अर्कालाई स्वीकार्ने सम्भावना कम छ ।

काँग्रेस विभाजन गरी देउवाको नेतृत्वमा बनेको काँग्रेस (प्रजातान्त्रिक) मा निधि र सिंहलाई एक अर्काको अस्तित्व स्वीकार्न सकस भएको थियो । सिंह र निधि महामन्त्री हुँदा वरियतामा को अगाडि भन्ने कुराले बैठकमा माइन्युट गर्न कठिन हुने भएको थियो । बैठक सञ्चालनमै कठिनाइ भएपछि कार्यवाहक सभापति गोपालमान श्रेष्ठले पछि सिंहलाई उपसभापति बनाउनुपरेको थियो । 

यता ग्रासरुढबाट आएका निधि र सिंहले शशांकलाई जुनियर ठान्छन् । शशांक काँग्रेसको ११ औँ महाधिवेशनअघि चिकित्सा पेसामा थिए । चिकित्सा पेसाबाट राजीनामा दिएर केन्द्रीय राजनीतिमा हाम फालेका शशांक ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

उनी १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा दोहोरिए । तर १३ औं महाधिवेशनमा मात्र शशांकले महामन्त्रीको उम्मेदवार भए र जिते पनि । सिंह ०३० सालबाटै राजनीति छन् ।  १० औँ  महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा काँग्रेस फुट्दा  देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा पनि उपसभापति नै भए । ०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । यस्तै  ०३६ सालमा नेविसंघको सभापति बनेका निधि १० औं महाधिवेशनमा केन्द्रीय सदस्य भए ।

त्यसयता उनी काँग्रेसको केन्द्रीय राजनीतिमा  जमेका छन् । देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा महामन्त्री बनेका उनी एकीकृत पार्टीमा महामन्त्रीका रुपमा प्रवेश भए । तर १२ औं महाधिवेशनमा पहिलो पटक महामन्त्रीको निर्वाचन हुँदा प्रकाशमान सिंहसँग पराजित भए ।

१३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका निधि ०७५ देखि उपसभापति छन् । वर्तमान उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री कसले कसलाई छोड्ने भन्नेमा सकस छ । साथै निधिले सभापतिबाट ब्याक नहुने भन्दै सम्पर्क कार्यालय नै खोलेर अगाडि बढेको अवस्था छ । सिंह र कोइरालाको तयारी पनि कम छैन । 

यस्तै  निधिले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले अब उनीसँग सहकार्यको सम्भावना सकिएको सिंहले केही समयअघि रातोपाटीलाई बताएका थिए  ।​ 'विमलजीले उम्मेदवारी घोषणा गरिसक्नुभयो । उहाँले कदम अगाडि बढाइसक्नुभयो । उम्मेदवारी घोषणा गरिसकेपछि तल झर भनेर मिलाउने कस्टमा उहाँलाई गाह्रो छ । उम्मेदवारी घोषणा गर्नुअघि नै तीन जनाको मिटिङ भएर टुङ्गोमा पुगे पो राम्रो हुन्थ्यो । उहाँले एक्लै निर्णय गरेर अगाडि गइसक्नुभयो, 'उनको भनाइ थियो ।

तर उनीहरुबीच साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल भएको छ । उनले भने, ‘हामी तीन जनाबीच साझा उम्मेदवारी दिने र काँग्रेसका अन्य नेताहरुसँग पनि छलफल जारी राख्ने समझदारी भएको छ ।’

सरकारलाई सफल बनाउने सहमति

यस्तै नेतात्रयबीच मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइको विषयमा पनि छलफल भएको छ । ती नेताले भने, ‘सरकार बनेको यत्रो समय भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको​ छैन । निकै ढिलो भइसक्यो । यसमा हामीले चिन्ता व्यक्त गरौं । सत्ता साझेदार सबै दलले मन्त्रिपरिषदको पूर्णता दिने कुरामा अब ढिला गर्नुहुँदैन । काँग्रेसले प्राथमिकता दिएएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो कुरा रह्यो ।’

सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने नेतात्रयबीच सहमति भएको छ । पाँच दलीय गठबन्धनको सरकारले मन्त्रिपरिषद् विस्तारको उल्झनमै ७४ दिन पूरा भएको छ । तर पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । असार २९ गते काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा चार जना मन्त्री पनि नियुक्त गरिएको थियो ।

काँग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्र कार्की कानुन र माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री बनेका थिए । प्रधानमन्त्री देउवाले साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । 

त्यसको करिब दुई महिनापछि असोज ५ गते डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् । त्यसपछि फेरि मन्त्रिपरिषद विस्तारमा ब्रेक लागेको छ ।

 


प्रधानमन्त्री सकारात्मक

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्वाधारमा लगानी गर्दा स्रोत खुलाउन जरुरी नहुने व्यवस्था गरेकोमा उनीहरुले आपत्ति जनाएका छन् । यसलाई सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने नेतात्रयबीच सहमति भएको छ ।  उनले भने, ‘पूर्वाधारमा लगानी गर्दा स्रोत खुलाउन जरुरी छैन भन्ने कुरा आएको छ । यसमा हाम्रो आपत्ति रहेको छ ।’ 

यसबारे शुक्रबार बिहान प्रधानमन्त्री देउवासँग नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी बैठकमा पनि उनीहरुले कुरा राखेका थिए । ती  नेताले भने, ‘प्रधानमन्त्रीजी हाम्रो कुराप्रति सकारात्मक हुनुहुन्थ्यो । 'तपाईहरुले ठीक भन्नुभयो । योचाहिँ हटाउनुपर्छ' भनेर उहाँले भन्नु भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप