बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठकको नालीबेली : डडेल्धुराको विवादबारे बोलेनन् देउवा, रामचन्द्रसँग कड्किए लेखक

महामन्त्रीको जिल्लाको विवाद बन्यो पेचिलो
शुक्रबार, ०१ असोज २०७८, २२ : ५४
शुक्रबार, ०१ असोज २०७८

नेपाली काँग्रेसका शीर्ष नेताबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्रियाशील सदस्यता विवाद र डडेल्धुराको वडा अधिवेशनबारे छलफल भएको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद निरुपणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।

छलफलमा क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी पाएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी १३ जिल्लाका सन्दर्भमा छलफल केन्द्रित भएको लेखकले रातोपाटीलाई जानकारी दिए । सुर्खेत, कैलाली, डोल्पा, रसुवा, बाँके, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको​ क्रियाशील सदस्यता विवाद टुंगिएको छैन ।

भदौ १८ गतेदेखि २५ गतेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएपनि क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा अधिवेशन हुन नसकेको अवस्था छ । २० जिल्लाका लागि असोज ५ गते तय गरिएको वडा अधिवेशन फेरि प्रभावित हुने अवस्था बन्दै गएपछि सिटौला नेतृत्वको समितिले विवाद टुंग्याउन सभापति र महामन्त्रीलाई जिम्मेवारी दिन खोजेको थियो ।

काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियाको विवाद टुंगिएपछि बाँकी विवाद टुंग्याउने जिम्मा सभापति र महामन्त्रीलाई दिने सिटौलाको समितिको निष्कर्ष थियो ।

सोही अनुसार समितिका सदस्य रमेश लेखकले छलफलमा १३ जिल्लाको विवाद सभापति र महामन्त्रीले टुंग्याउने गरी प्रतिवेदन बुझ्न आग्रह गरेका थिए । नेताहरुले सिटौला नेतृत्वका समितिलाई नै बाँकी जिल्लामा भोलिसम्म विवाद समाधान गर्न भनेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले रातोपाटीसँग भने, ‘क्रियाशील छानविन समितिले टुंग्याउन नसकेर उच्चस्तरीय समिति बनाएका थियौं । केन्द्रीय कार्यसमितिबाट सिटौला, मिनेन्द्र र रमेश लेखकलाई जिम्मा लगाएका थियो । उहाँहरुले पनि अधुरै ल्याएर आए । हामीले त्यो अधुरै प्रतिवेदन बुझ्दैन भनौं ।

सम्पूर्ण विवाद टुंग्याउने जिम्मेवारी तपाईंहरुकै हो भनेर बुझ्न अस्वीकार गरेको पौडेलले बताए । उनले भने, ‘तिमीहरुले पुरै सकेर ल्याउनुपर्छ । अधुरो काम गरेर यहाँ (सभापति र महामन्त्रीले) बुझाउन पाउदैनौँ भनेपछि फिर्ता लिए ।

भोलिसम्म सबै विवाद टुंग्याएर २० जिल्लामा असोज ५ गते वडा अधिवेशन सम्पन्न गर्ने पौडेलको दाबी छ । भोलिसम्म सबै विवाद टुंग्याएर ५ गतेको अधिवेशन त गर्ने हो । त्यही अनुसार समझदारी भएको छ । भोलि उहाँहरु (सिटौलाको समिति) बसेर टुंग्याउनुहुन्छ , उनले भने ।

अधिकांश जिल्लामा विवाद टुंगिसकेको बताउँदै केही ठाउँको विवाद समाधान भोलि प्रयास गरिने लेखकले बताए । उनका अनुसार प्रदेश दुईमा सिरहा, सप्तरी, पर्सा, महोत्तरी, धनुषा, सर्लाहीको विवाद सकिएको छ ।

रौतहट र बारामा प्राविधिक र प्रशासकीय केही मिलाउनुपर्ने लेखकको भनाइ छ ।

महामन्त्रीको जिल्लाको विवाद बन्यो पेचिलो

विवाद समाधान हुन बाँकी १३ जिल्लामा सबै भन्दा पेचिलो विषय सुर्खेतको बनेको छ । सिटौला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार सुर्खेतमा एकता प्रक्रियामा आएको अखण्ड समानान्तरले  १ सय ९९ क्रियाशील सदस्यता पाएको छ । तर उक्त मापदण्डअनुसार ३ वटा वडामा आफूनिकट मान्छे पराजित हुने भएपछि पौडेल पक्षले चित्त बुझाइरहेको छैन ।

बाँके र सुर्खेतमा सदस्यता लेनदेन गरी मिलाउन पौडेल पक्षको प्रस्ताव छ । तर देउवा पक्षले सबै जिल्लामा एउटै मापदण्ड लागू गर्नुपर्नेमा जोड दिएको छ ।

​स्रोतका अनुसार पौडेल पक्षले सुर्खेतमा सहमति नगरेको खण्डमा कुनै सहमतिमा दस्तखत नगर्ने लेखकको अडान छ ।

पौडेल पक्षले भने रणनीतिक मुभका लागि सुर्खेतको क्रियाशील सदस्यतालाई उचाल्न खोजेको छ ।

स्रोतले भन्यो, ‘उता (डडेल्धुरा) सभापतिको जिल्लामा आक्रमण गर्ने यता महामन्त्री (पूर्णबहादुर खड्का)को जिल्ला (सुर्खेत)मा आक्रमण गर्ने रणनीति छ । क्रियाशील सदस्यमा धाँधली गर्नुभयो भनेर प्रचारबाजी गर्ने उहाँहरुको राजनीतिक स्टन्ट हो ।

डडेल्धुराबारे पौडेलको प्रश्नमा कड्किए लेखक

सभापति देउवाको गृहजिल्ला डडेल्धुराको वडा अधिवेशनबारे पनि छलफल भएको छ ।

समूहगत छलफलपछि भदौ २८ गते विज्ञप्ति जारी गर्दै पौडेल पक्षले डडेलधुराको अधिवेशन अस्वीकार गर्ने निर्णय गरेका थिए ।

पौडेल समूहले भदौ ३१ गते पार्टी कार्यालय सानेपामा पुगेर निर्वाचन समितिलाई पुनः निर्वाचनका लागि ध्यानाकर्षण गरेको थियो । आफूहरुसँग सहमति विपरीत देउवाले डडेलधुरामा अधिवेशन गराएको पौडेल पक्षको आरोप छ ।

२४ गते विहान बालुवाटारमा पौडेल समूहसँगको छलफलमा सभापति देउवाले डडेल्धुरामा सबै पक्षलाई सहमतिमा ल्याएर मात्र अधिवेशन गर्ने बताएका थिए ।

 पौडेल समूहसँग अधिवेशन केही दिन ढिलो भएपनि सबैलाई सहमतिमा ल्याउने बताएका देउवाले जिल्ला सभापति कर्ण मल्लको वहिस्कारका बीच अधिवेशन अगाडि बढाउन निर्देशन दिए । सोही अनुसार २५ गते डडेल्धुरामा अधिवेशन सम्पन्न भएको छ ।

यसबारे शुक्रबारको छलफलमा पौडेलले देउवालाई प्रश्न गरेका थिए । २५ गते अधिवेशन गर्दिनँ भनेर किन गर्नुभयो ? जिल्ला सभापति लगायतका नेतालाई बाहिर राखेर पार्टी कसरी चल्छ ? पौडेलका प्रश्न थियो ।

तर सभापति देउवाले कुनै जवाफ नदिएको पौडेलले बताए । उनले भने, ‘तर हाम्रो पुन अधिवेशन हुनुपर्छ भन्ने भनाइ हो । जिल्ला कार्यसमितिलाई अधिवेशन बाहिर पार्न पाइन्छ ?

देउवाले पौडेलको प्रश्नको जवाफ नदिएपनि नेता रमेश लेखक भने छलफलमा कड्किएका थिए । लेखकले डडेल्धुराको क्रियाशील सदस्यताबारे विज्ञप्ति निकाल्नुअघि आफूलाई एक शब्द पनि किन नसोधेको भन्दै प्रश्न गरेका थिए ।

साढे आठ लाख क्रियाशील सदस्य मध्ये पर्सामा एक जनाबारे सोध्न फुर्सद भयो । तर डडेल्धुराका सम्बन्धमा त्यत्रो स्टेटमेन्ट लेखेर दस्तखत गर्नुभन्दा के भएको हो भनेर पहिला मलाई एक शब्द सोध्नुभयो ? म तपाईको घरमै आएर बताउथेँ नि, डडेल्धुरामा के भएको हो भनेर, पौडेलप्रति लेखकको आक्रोश थियो ।

 

 


साथै लेखकले डडेल्धुरा क्रियाशील सदस्यताबारे बेलिविस्तार लगाएका थिए । त्यसपछि पौडेल चुपचाप भएका थिए । लेखकले पौडेलमाथि प्रश्न उठाइरहँदा महामन्त्री शशांक कोइराला मुस्कुराइ राखेको थिए ।

विहीबार कोइराला डडेल्धुरामा पुनः अधिवेशन हुने अवस्था नदेखेको बताए थिए । लेखकले डडेल्धुराका विषयमा पौडेललाई नालीबेली सुनाएपछि उक्त मुद्दा सकिएको छ । तर पौडेलले निर्वाचन समितिले पुनः अधिवेशन नगरे नोट अफ डिसेन्ट लेख्न आफू पक्षीय निर्वाचन समिति सदस्य गोपाल कृष्ण घिमिरेलाई भनेका थिए । घिमिरेले नोट अफ डिसेन्ट लेख्ने तयारी गरिरहेका बेला डडेल्धुराको विषय बालुवाटारमा पटाक्षेप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप