शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवाको गृह जिल्लाका काँग्रेस सभापतिको चेतावनी : डडेल्धुराको अधिवेशनबारे सर्वोच्च जान्छौँ

शेरबहादुर देउवाले मेरो बधाईसमेत लिनुभएन : कर्णबहादुर मल्ल
शनिबार, २६ भदौ २०७८, ०८ : ३६
शनिबार, २६ भदौ २०७८


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा विवादका बीच अधिवेशन अगाडि बढेको छ । भदौ २५ गते जिल्ला सभापतिको वहिस्कारका बीच काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवादका रोकिएको थियो ।

२१ गते विवाद निरूपण गरी केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता सूची जिल्ला पठाए पनि जिल्ला सभापति कर्णबहादुर मल्लले उक्त सूची अस्वीकार गरेपछि डडेल्धुरामा रमिता मच्चिएको छ ।

मल्ल पक्षले निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बममाथि हातपात गर्नेदेखि अधिवेशन स्थगितको घोषणासम्म गरेको थियो । तर जिल्ला सभापति मल्लले निर्वाचन नियमावली विपरीत वडा अधिवेशन स्थगितको घोषणा गरे पनि शुक्रबार अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मल्ल निकट कार्यकर्ता पंक्ति भने अधिवेशनमा सहभागी भएको छैन ।

यसै विषयमा रातोपाटीसँगको कुराकानीमा जिल्ला सभापति कर्णबहादुर मल्लले एकलौटी रूपमा गरिएको अधिवेशनबाट आएको नेतृत्व स्वीकार्य नहुने बताए ।

साथै उनले त्यसका विरुद्ध सर्वोच्च अदालत जाने चेतावनीसमेत दिए । प्रस्तुत छ मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश –

 नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा होमिएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न पनि भएको छ । तर सभापति शेरबहादुर देउवाको गृह जिल्लामा के को लफडा हो ? तपाईंले अधिवेशन किन बहिस्कार गर्नुभयो ?

– सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिज्यूप्रति डडेल्धुरावासीको अगाध माया र आदर थियो । जसबाट उहाँ आज सर्वोच्च शिखरमा पुग्नु भएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व बनेको छ । त्यसप्रति गौरवान्वित छौँ । तर दुःखद कुरा, उहाँले प्रधानमन्त्री र पार्टी सभापतिको ताकत प्रयोग गरेर डडेल्धुरामा अधिवेशन सुरु गर्नु भएको छ ।

निर्वाचन अधिकृतलाई सुरक्षाकर्मीको घेराभित्र राखेर एउटा होटलमा एउटा समूहको सल्लाहमा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ । सुदूरपश्चिम प्रदेशभरिका सशस्त्र प्रहरी बल हरेक वडामा २५–३० जनाको दरले डडेल्धुरामा खटाइएको छ । उहाँले एकतर्फी ढङ्गले अधिवेशन अगाडि बढाउनु भएको छ ।

अब कति सक्नुहुन्छ ? निर्वाचनका सामग्री सुरक्षाकर्मीमार्फत पठाइएको छ । जिल्ला ५२ वटा वडामा कहीँ पनि अधिवेशन अगाडि सार्वजनिक सूचनासमेत जारी गरिएको छैन ।

डडेल्धुराको केसमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएको कुरा आएको छ । यहाँ कस्तो अधिवेशन भइरहेको बेला आफै अनुमान लगाउन सकिन्छ । उहाँले केन्द्रबाट सभापतिको उम्मेदवार तोक्नुभएको छ भने जिल्लाबाट पठाइएका ५ बढी क्रियाशील सदस्यको नाम काटेर ३१४ जना मान्छे थपेर पठाउनु भएको छ ।

क्रियाशील सदस्यलाई कुनै पनि अपिल नगरीकन, पार्टीलाई कुनै जानकारी र समन्वय नगरी अधिवेशन अगाडि बढाइएको छ । जुन तहको अधिवेशन गर्ने हो, त्यो तहको सभापति नेतृत्वको कार्यसमितिसँग परामर्श गरेर मात्र अधिवेशन गर्ने भन्ने नेपाली काँग्रेसको निर्वाचन निर्देशिकामै लेखिएको छ । त्यो व्यवस्थालाई उल्लङ्घन गरेर क्रियाशील सदस्यता विवादका बाबजुद अधिवेशन गरिएको छ । यहाँ खटिएका निर्वाचन अधिकृतले एउटामात्र समूहको सल्लाह अनुसार गर्ने निर्वाचन कस्तो होला ? तपाईंहरु सहजै अनुमान गर्न सक्नुहुन्छ । आज हामी निकै स्तब्ध छौँ, दुःखी छौँ । हामीले जसलाई आफ्नो आमा बुवाभन्दा पनि उच्च दर्जामा राखेर आदर ग–यौँ । डडेल्धुराको तीनचार पुस्ताले शेरबहादुर देउवाको राजनीतिक व्यक्तित्वबाट प्रभावित भएर राजनीतिमा होमिएका थिए । तर उहाँ नै पार्टी सभापति र मुलुकको प्रधानमन्त्री भएका बेला एउटा गुटको पूर्ण संरक्षक भएर अधिवेशन गराइराख्नु भएको छ ।

लोकतन्त्रका मूल्य मान्यता र दलको आन्तरिक राजनीतिमा गरिएको यो तहको हस्तक्षेप र निरंकुशतावादी शैली दुनियाँमा कहीँ हुँदैन होला । म काँग्रेसको नवौँ महाधिवेशनदेखि १३ औँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिको हैसियतले सहभागी हुँदै आएको छु । यस्तो अहिलेसम्म कहीँ पनि भएको छैन । अहिले उहाँले आफ्नो जिल्लामा गराइराख्नु भएको छ ।

डडेल्धुराको केसमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएको कुरा आएको छ । यहाँ कस्तो अधिवेशन भइरहेको बेला आफै अनुमान लगाउन सकिन्छ । उहाँले केन्द्रबाट सभापतिको उम्मेदवार तोक्नुभएको छ भने जिल्लाबाट पठाइएका ५ बढी क्रियाशील सदस्यको नाम काटेर ३१४ जना मान्छे थपेर पठाउनु भएको छ ।

गत स्थानीय तहका निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएकाको नवीकरण गरिएको छ । आधिकारिक उम्मेदवार भएकाको नाम काटिएको छ । वडा अध्यक्षले पठाएको क्रियाशील सदस्यता सदर गरिएको छ भने वडा अध्यक्ष स्वयंको सदस्यता भने बदर गरिएको छ । यसलाई टुङ्ग्याएर मात्र अधिवेशनमा आउँ भनेर वडा अधिवेशन स्थगित गरेका हौँ । त्यस निर्णयमा हामी अहिले पनि अडिग छौँ । मैले सबै साथीहरूलाई यो अधिवेशनमा नजान आग्रह गरेको छु । गइहाले पनि अधिवेशनमा भाग नलिन हामीले साथीभाइहरूलाई अपिल गरेका छौँ ।

तपाईंको विरोधकाबीच अधिवेशन भइसकेको छ । अब के गर्नु हुन्छ ? कि अर्को अधिवेशन गरेर समानान्तर कमिटी बनाउनुहुन्छ ? तपाईंको तयारी के छ ?

–  समानान्तर कमिटी किन बनाउने ? म पार्टीको वैधानिक सभापति हो । मलाई पदस्थापन गर्नका लागि वैधानिक रूपमा अर्को सभापति आउनुपर्छ । अहिले केन्द्रमा शेरबहादुर देउवा सभापति हुनुहुन्छ । केन्द्रीय सभापतिज्यूको उपस्थितिविना भोलि १४ औँ महाधिवेशन सम्पन्न गरेर कुनै मान्छेलाई सभापति घोषणा ग¥यो भने त्यो वैध हुन्छ ? यदि त्यो वैध हुन्छ भने यो पनि वैध हुन्छ । ज्ञानेन्द्रको शासनकालमा कमल थापाले निर्वाचन गराएका थिए । जबसम्म ज्ञानेन्द्रको शासन थियो, तबसम्म ती पनि वैध थिए । यहाँ पनि त्यही होला ।

हामी यसका खिलाफमा निर्वाचन आयोग, अदालत र जनताकाबीचमा जान्छौँ । हामीसँग यो बाहेक के विकल्प हुन्छ ?

जिल्लाको ४३ वडामा उहाँहरुले तलबाट पठाइएको मान्छेको नाम छानी छानी काट्नु भएको छ । कुन वडामा कति मान्छेलाई थपेर आफू चुनाव जित्न सकिन्छ भनेर सङ्ख्यात्मक रूपमा थपिएको छ । शेरबहादुर देउवाजीले तोक्नु भएको डडेल्धुराको जिल्ला सभापतिको उम्मेदवार भीमबहादुर साउद अति नै योग्य हुनुहुन्छ । उहाँको व्यक्तित्वप्रति मेरो आग्रह र पूर्वाग्रह केही छैन । तर उहाँले आफ्नो वडामा ८४ जना क्रियाशील सदस्य थपेर आउनु भएको छ ।

जिल्लाभर सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गर्दा तपाईंले किन अस्वीकार गर्नुभयो ? तपाईंका कारण जिल्लामा यस्तो अवस्था आएको भनिन्छ नि ?

– डडेल्धुराका सोझा कार्यकर्तालाई भ्रमित बनाउँदै शेरबहादुर देउवाको शक्तिलाई पूर्णरुपमा दुरुपयोग गरेर वडादेखि जिल्लासम्म नेतृत्व हत्याउने एउटा समूहको दाउ छ । हिजोमात्र वडा अधिवेशन स्थगन गरौँ, हाम्राबीचका विमतिबारे छलफल गरौँ, क्रियाशील सदस्यताबारे भएको त्रुटिबारे केन्द्रीय सभापतिलाई  र उहाँबाट सच्चिएर आए पनि नआए पनि पछि अधिवेशन गरौँ भन्दा मानिएन । अनि सहमतिको बाधक म कसरी हुन्छु ? कति झुट कुरा गर्दै हुनुहुन्छ ? उहाँहरूसँग ताकत छ भने माथिबाट थपिएका क्रियाशील सदस्य हटाएर अधिवेशन गरौँ न त । को कति जनमतको नजिक रहेछ भन्ने थाहा हुन्छ । यो कुरा डडेल्धुराको दुईवटा अधिवेशनले नै प्रमाणित गरेको छ ।

त्यसो भए क्रियाशील सदस्यता थपिँदा जिल्लामा आफू किनारा लाग्छु भन्ने चिन्ताले तपाईं यो सब गरिरहनु भएको त होइन ?

– चिन्ता होइन । जिल्लाको ४३ वडामा उहाँहरुले तलबाट पठाइएको मान्छेको नाम छानी छानी काट्नु भएको छ । कुन वडामा कति मान्छेलाई थपेर आफू चुनाव जित्न सकिन्छ भनेर सङ्ख्यात्मक रूपमा थपिएको छ । शेरबहादुर देउवाजीले तोक्नु भएको डडेल्धुराको जिल्ला सभापतिको उम्मेदवार भीमबहादुर साउद अति नै योग्य हुनुहुन्छ । उहाँको व्यक्तित्वप्रति मेरो आग्रह र पूर्वाग्रह केही छैन । तर उहाँले आफ्नो वडामा ८४ जना क्रियाशील सदस्य थपेर आउनु भएको छ । किन थपेर आउनु भयो ? कुन निकायबाट निर्णय गरेर थपेर आउनुभयो ? त्यस्तो ४३ वटा वडामा भएको छ । यो प्रवृत्तिका खिलाफमा मेरो सङ्घर्ष हो ।

 क्रियाशील छानबिन समिति र निर्वाचन समिति पार्टीको गुटगत सन्तुलन मिलाएर बनाइएको छ । पछिल्लो समय कृष्णप्रसाद सिटौला नेतृत्वको समितिमा पनि त्यस्तै थियो । तपाईंलाई ढाडस दिने नेताहरूको प्रतिनिधि पनि त्यहाँ थिए । यो कुराको जाँच केन्द्रमा किन भएन त ?

– कृष्णप्रसाद सिटौला नेतृत्व र रमेश लेखक नेतृत्वको दुवै समितिले डडेल्धुराको हकमा छानबिनभन्दा पनि सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार काम भएको छ । सभापति शेरबहादुर देउवाको निर्देशनमा काम गरेको भनेर रमेश लेखकले मलाई भन्नु भएको छ ।

एउटा बागी उम्मेदवारको नवीकरण गर्ने भनेर मलाई पत्र प्राप्त भयो । यो पत्रका आधारमा मैले एक जना मान्छेको नवीकरण गर्ने हो भने अरू मान्छेले पनि मलाई नवीकरणका लागि दबाब गरिराखेको हुँदा यसको यथाशीघ्र मलाई निर्देशन गरिदिन अनुरोध छ भनेर निवेदन दिएको थियो । त्यो निवेदनको जवाफ आएन ।

त्यहाँ सहभागी जुन गुटका भए पनि उनीहरू कति लायक हुनुहुन्छ भन्ने प्रमाणित भएको छ । पार्टी विवाद, नियमावली र आफैँले बनाएको मापदण्ड विपरीत काम गरिराख्नु भएको छ । पार्टीका बागी उम्मेदवारलाई उहाँहरूले सदस्यता दिनुभएको छ । यो भन्दा आलोच्य  कुरा के हुन्छ ?

यो आरोप तपाईंमाथि पनि लाग्ने गरेको छ । पार्टीले कारबाही गरेका र बागी उम्मेदवारले सदस्यता नपाएको भन्दै तपाईंले त अधिवेशन बहिस्कारसम्म गर्नुभयो, हैन ?

– केन्द्रीय कार्यालयको मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरसहितको एउटा परिपत्र म कहाँ आएको थियो । एउटा गाउँपालिकाको स्वतन्त्र उम्मेदवार लोकराज भट्टको सदस्यता नवीकरण गरिदिनु भनेर निर्देशन दिएपछि जवाफमा पार्टीको केन्द्रीय सभापतिलाई सम्बोधन गरेर जवाफी पत्र पठाएको थिएँ ।

एउटा बागी उम्मेदवारको नवीकरण गर्ने भनेर मलाई पत्र प्राप्त भयो । यो पत्रका आधारमा मैले एक जना मान्छेको नवीकरण गर्ने हो भने अरू मान्छेले पनि मलाई नवीकरणका लागि दबाब गरिराखेको हुँदा यसको यथाशीघ्र मलाई निर्देशन गरिदिन अनुरोध छ भनेर निवेदन दिएको थियो । त्यो निवेदनको जवाफ आएन । मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सोध्दा त्यही पत्रलाई आधार मानेर तपाईंहरु सबैको नवीकरण गरेर पठाइदिनुस् भन्दा पठाएको थिएँ ।

तपाईंकै निर्देशनमा सिफारिस गरेको छु, सबैको सदर गरिदिनुस्, कि सबैको बदर गरिदिनुस् भन्ने मेरो जिकिर थियो । तर उहाँहरूले छानीछानी मात्र सदर गर्नु भएको छ ।

अब राम विष्ट र कमला विष्ट (पार्टीले कारबाही गरेका) को कुरा छ । राम विष्टको के कारणले नवीकरण नहुने ? कमला विष्ट जिल्ला कार्यसमितिको निर्वाचित सदस्य हुन् । उनी सम्बन्धित गाउँपालिको उपाध्यक्षमा पार्टीको आधिकारिक उम्मेदवार हुन् । त्यही गाउँपालिकाका बागी उम्मेदवार भएका शीवलाल शाहको नवीकरण गरिएको छ । अनि आधिकारिक उम्मेदवारको नवीकरण नहुँदा राजनीतिक मुद्दा हुँदैन ?

अम्मरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले नवीकरण गरेर पठाएको नाम सदर भएर आउने अनि उनको आफ्नै नाम बदर भएर आउने कुरा न्यायसङ्गत हुन्छ ?

म कति सौभाग्यशाली मान्छे ! मैले भेट्न खोज्दा उहाँले भेट्न अस्वीकार गर्नुभयो ।

तपाईंको कुरा सुन्दा यसका पछाडि तपाईंको पनि गल्ती देखियो । पार्टीले बनाएको मापदण्ड विपरीत मैले कुनै पनि निर्णय लिँदैन भनेर त्यतिबेला किन अडान लिन सक्नु भएन । आफ्ना केही मान्छे राख्ने लोभमा विधि विपरीतका कार्यमा तपाई पनि मतियार त बनेको देखियो नि ?

– केन्द्रीय तहबाट मलाई लिखित र मौखिक निर्देशन दिएपछि म जिल्ला सभापतिले तहगत रूपमा पठाउनुपर्ने बाध्यता थियो । तलबाट सिफारिस भए पनि पार्टीमा लामो समय काम गरेका साथीको नवीकरण किन रोक्ने भनेर पठाएको हुँ । म झुटो बोल्दिन । यस्तै, प्रदेश र सङ्घीय चुनावमा स्थानीय तहका बागीलाई पार्टी सभापति शेरबहादुर देउवाले नै सबैलाई आममाफी दिनुभएको थियो । साथै पार्टीको यथास्थानमै जिम्मेवारी दिनेछु, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामीलाई सहयोग गर्नुस् भन्ने उहाँको अपिलमा साथीहरू निर्वाचनमा सक्रिय भएका थिए ।

यसबारे तपाईंले सभापति शेरबहादुर देउवासँग संवाद गर्नुभयो ?

– म कति सौभाग्यशाली मान्छे ! मैले भेट्न खोज्दा उहाँले भेट्न अस्वीकार गर्नुभयो । मैले पार्टी कार्यालयमा पत्र दर्ता गरेँ । अस्ति मात्र डडेल्धुराको घटनाबारे श्रद्धेय सभापति र सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरेर पत्र पठाएको छु । निर्वाचन समितिलाई पनि त्यही अनुसारको पत्र पठाएको छु । निर्वाचन समितिका संयोजकले तत्काल नै मलाई फोन गर्नुभएको थियो । तर सभापतिज्यूलाई लेखिएको पत्रको आजसम्म केही रेस्पोन्स छैन ।

लामो समय शेरबहादुर देउवाको सचिवालयमै बसेर काम गरेको मान्छे । भेटेर कुराकानी गर्न समय नभए पनि टेलिफोन संवाद त गर्न सकिन्थ्यो होला नि ? टेलिफोन संवाद भयो ?

– टेलिफोनमा पनि संवाद गर्न चाहनु प¥यो नि त । मैले उहाँलाई बधाई दिन फोन गर्दा त उहाँले बधाई लिन चाहनु भएन । कहाँबाट संवाद गर्ने ? म उहाँको जिल्लाको सभापति हुँ । लामो समयसम्म पार्टीको अन्तरसंघर्षमा उहाँको साथमा रहेको थिएँ । उहाँले औँला गन्नुभयो भने पनि देशभरिकै एक दुई दर्जन कार्यकर्ताभित्र पर्ने मान्छे हुँ ।

उहाँलाई १० औँ महाधिवेशनदेखि १३ औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टी सभापतिमा पुर्‍याउने उहाँका एक दर्जन नेतामध्ये म पनि एक हो ।

पार्टीमा हुने अन्यायका विरुद्ध जुन कार्यकर्ता बोल्दैन, त्यो कार्यकर्ताले जनताका मुद्दा उठाउन सक्दैन र त्यो कार्यकर्ताले कम्युनिस्टका विरुद्धमा बुलन्द आवाज उठाउन सक्दैन भन्ने उहाँबाट नै प्रशिक्षित कार्यकर्ता हुँ । हिजो पार्टीभित्र अन्याय भयो भनेर उहाँले सुशील कोइराला सभापति हुँदा हामीलाई अनशन बस्न निर्देशन दिनु भएको होइन ? आज उहाँ सभापति हुँदा डडेल्धुराको एउटा गुटलाई संरक्षण दिइराख्नु भएको छ । यो हामी सबैका लागि पीडादायी कुरा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप