आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सम्मेलनमा जुट्यो अखिल क्रान्तिकारी : वाईसीएलमा जस्तै नेतृत्वमा हानथाप !

बिहीबार, ३१ भदौ २०७८, १४ : ०८
बिहीबार, ३१ भदौ २०७८

 
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २२ औं राष्ट्रिय सम्मेलनको तयारीमा होमिएको छ । चुनाव आफ्नो पक्षमा पार्नका लागि नेतृत्वका दाबेदारहरु जिल्ला सम्मेलन तथा भेलाको नाममा देशव्यापी दौडाहामा जुटेका छन् ।

मुलतः नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको हो । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको संगठनका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी सुरेन्द्र बस्नेतले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार सम्मेलनका लागि देशभरबाट ७९९ प्रतिनिधि सहभागी हुनेछन् । यसअघिका सम्मेलनमा २२ सयको हाराहारीका प्रतिनिधिहरुको सहभागिता हुने भए पनि कोरोना महामारीलगायतका कारणले यसअघि थोरै प्रतिनिधिको सहभागिता हुन लागेको हो । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप जिल्ला, क्याम्पस समितिलगायतको अधिवेशन धमाधम भइरहेको छ भने प्रदेश सम्मेलन ३ र ४ गते एकैदिन गर्नेगरी तयारी भइरहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ हुने महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ ।

नेतृत्वमा हानथाप, वाईसीएल प्रकरण दोहोरिने भय

नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन भन्दै देशव्यापी दौडाहामा निस्किए पनि सहमतिको नाममा पार्टीले संगठनको अध्यक्षमा कसैको नाम घोषणा गरेमा अनौठो मानिरहन पर्दैन । नेकपा माओवादीका भ्रातृ संगठनहरुमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन दुर्लभजस्तै हुने गरेको छ । त्यही कारण नेतृत्वलाई खुसी बनाउन सक्ने तथा विश्वासपात्रहरु नै नेतृत्वमा आउने गरेको देखिन्छ । यही रोग अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा पनि देखिन सक्ने विद्यार्थी नेताहरु बताउँछन् ।

नेतृत्वका लागि धेरै जना आकांक्षी रहेको र सहमतिमै नेतृत्व चयन हुने हुँदा सकसको स्थिति रहेको एक विद्यार्थी नेताले बताए । उनले भने, ‘नेतृत्व चयन सहमतिकै आधारमा गर्नू भनेर पार्टी अध्यक्ष प्रचण्डले यसअघि नै निर्देशन दिइसकेको अवस्था छ, त्यसकारण सहमतिमै नेतृत्व चयन हुने सम्भावना धेरै छ’, ती नेताको भनाइ छ ।

अध्यक्षका प्रत्यासी बस्नेतले पनि आफूहरुको चाहना निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने भए पनि नेतृत्वको निर्देशनअनुसार चल्नुपर्ने बताए । २१ औं राष्ट्रिय सम्मेलनमा सहमति नहुँदा निर्वाचनबाट रञ्जित तामाङ नेतृत्वमा आए । त्यसपछि विद्यार्थी संगठनमा गुट–उपगुटको अवस्था देखिएकाले पनि सहमतिमै नेतृत्व चयन गरिनुपर्ने माउ पार्टी माओवादीको बुझाइ छ । २१ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षका प्रत्यासी अनिल शर्मालाई हराउँदै तामाङ विजयी भएका थिए ।

​शर्मा पराजित भएपछि उनको समूहबाट उपाध्यक्षमा विजयी भएकी पञ्चा सिंहले नेतृत्वमा स्वाभाविक रुपमा आफ्नो दाबेदारी रहेको बताइन् । सहमतिमा वा चुनावी जुन प्रक्रियामा गए पनि नेतृत्वमा आफू आउनेमा विश्वस्त रहेको उनको भनाइ छ ।  ‘संगठनको कार्यसमितिमा रहेकामध्ये सबैभन्दा सिनियर म हुँ ’, अध्यक्षका प्रत्यासी बस्नेतलगायतप्रति संकेत गर्दै उनले दावी गरिन्, ‘माओवादी आन्दोलनमा लागेको कर्णालीको मान्छे, त्यसमाथि पनि सिनियरको हिसावले नेतृत्व मैले पाउनुपर्छ भन्ने हो ।’

उनले सहमतिमै नेतृत्व चयन भएको खण्डमा पार्टी र संगठनले आफूलाई न्याय गर्ने विश्वास व्यक्त गरिन् । उनले सर्वसम्मतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको पनि जानकारी दिइन् ।

यस्तै बस्नेतले पनि अघिल्लो राष्ट्रिय सम्मेलनमा सर्वाधिक मत पाएको र विद्यार्थी आन्दोलनमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको हिसावले नेतृत्व आफूले पाउनुपर्ने धारणा राखे । उनी जनयुद्धका सहिद पुष्पराज र धिरेन्द्र बस्नेतका भाइ पनि हुन् ।

पदाधिकारीमा विद्यार्थी नेताहरु दीपेश पुन, पवन कार्की, नरेश रेग्मी, इन्द्र भुसाल, क्षितिज सापकोटा, नारायण खनाललगायत अगाडि देखिएका छन् । हालका अध्यक्ष रञ्जित तामाङ भने पुनः अध्यक्ष बन्ने दौडमा नरहेको बताइएको छ । उनी सहमतिबाटै नेतृत्व हस्तान्तरणको पक्षमा रहेको विद्यार्थी नेताहरु बताउँछन् ।

माओवादीभित्रका शीर्ष नेताहरुको स्वार्थ, सहमतिको नाम तथा गुट उपगुट हावी हुँदा नेतृत्व चयन गर्न भने सहज नभएको विद्यार्थी संगठनका नेताहरु नै बताउँछन् । उसो त केही साताअघि वाईसीएलले समेत राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको थिएन । कुनै व्यक्तिको नाममा सहमति जुट्न नसकेको र नेताको स्वार्थ हावी हुँदा वाईसीएलले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमात्रै घोषणा गरेको थियो । पछि केन्द्रीय समिति बैठकबाट वाईसीएलले पुनः राष्ट्रिय सम्मेलन गर्नेगरी सुमन देवकोटालाई संयोजक र सुवोधराज शेर्पालीलाई सहसंयोजक तोकिएको थियो । सोही रोग अखिल क्रान्तिकारीमा पनि सर्ने हो कि भन्ने भयसमेत संगठनमा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप