शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वाईसीएलको टिके प्रथा : ‘रानो’ बिनाको केन्द्रीय कमिटी गठन

मङ्गलबार, १५ भदौ २०७८, २१ : ३२
मङ्गलबार, १५ भदौ २०७८

माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाईसीएलको राष्ट्रिय भेलाले बिनानेतृत्व १ सय ९९ जनाको केन्द्रीय कमिटी चयन गरेको छ । १२ गतेदेखि भर्चुअलरुपमा सुरु भएको भेला नेतृत्व चयन गर्न नसकी स्थगित भएको छ । केन्द्रीय कमिटीमा तीनजनाले अध्यक्ष पदमा दाबी गरेपछि अध्यक्षविनाको केन्द्रीय कमिटी गठन गरिएको हो ।

वाईसीएलको नेतृत्वबाट रामप्रसाद सापकोटा दीपशिखा बाहिरिएसँगै राष्ट्रिय भेला गरेर नयाँ कार्यसमिति अगाडि सारिएको हो । अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी नछाडेपछि अध्यक्षबिनाको केन्द्रीय समिति बनाइएको हो ।

​भेलाले १९९ जना केन्द्रीय सदस्य चयन गरेको छ भने पछि १० प्रतिशत अर्थात २३ जना थप गरी २३१ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ । नयाँ अध्यक्षसहितका अन्य पदाधिकारीको चयन गर्ने जिम्मेवारी पनि नयाँ केन्द्रीय समितिलाई नै दिइएको छ ।

संगठनको अध्यक्ष चयन गर्ने जिम्मा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । ४० बर्षे उमेर हदबन्दीका कारण दीपशिखा नेतृत्वबाट बाहिरिएका छन् । उनले युवा इञ्चार्जको भूमिका पाइसकेका छन् ।

उच्च प्रविधि प्रयोग गरेर चार दिनसम्म चलेको भेलाले राम्रो सन्देश नदिएको भन्दै विभिन्न जिल्लाका अध्यक्षहरुले बिरोध जनाएका छन् । उनीहरुले उच्च प्रविधि प्रयोग गरेको संगठनको भेलाको पद्दति भने अधोगतितर्फ  गएको टिप्पणी गरेका छन् ।

संगठनमा टिके प्रथाको विकास भयो : अशोक शर्मा भट्ट

प्रदेश–प्रदेशमा भएको संयुक्त भेलामा सहभागी प्रतिनिधिले नेतृत्व चयनमा असन्तुष्टि ब्यक्त गरेका छन् । पोखरा भेलामा सहभागी वाईसीएल गोर्खा जिल्ला अध्यक्ष अशोक शर्मा भट्टले रातोपाटीलाई भने, ‘हामी यहाँ भेलामा ३ दिनदेखि बसेका छौँ । हामीलाई हाम्रो नेतृत्व चयन गर्ने अधिकारबाट बञ्चित गरियो र माउ पार्टीबाट आएको लिष्टका आधारमा केन्द्रीय सदस्य मनोनयन भएको छ ।’

राष्ट्रिय भेला विधि पद्धतिका आधारमा नचली टिके प्रथाको विकासमा केन्द्रीत भएको अध्यक्ष भट्टले टिप्पणी गरे । भेलाको अधिकार कुण्ठित गरेर नेतृत्व चयनको जिम्मा पार्टी हेडक्वार्टरलाई दिनाले राम्रो सन्देश नगएको उनले बताए ।

उनले रातोपाटीसँग भने, ‘अहिले नेतृत्वले अंकुश लगाएर आफूतिर केन्द्रित गर्ने, सधैं टिके प्रथाको विकास गर्नका निम्ति हललाई अधिकार नदिइकन केन्द्रले टुङ्ग्याउने, केन्द्रले समेत टुङ्ग्याउन नसकेर विवादित बनाएर त्यहाँ पनि खेलोमेलो गर्दै २३१ जना केन्द्रीय सदस्य बनाउने काम गरेको छ । सबै जिल्लाबाट १९९ जना केन्द्रीय सदस्य अहिले टुङ्ग्याउने, ३२ जना अर्थात १० प्रतिशत पछि थप्ने निर्णय भएको छ ।’

उनले थपे, ‘संगठनलाई तल्लो कमिटीमा भन्दा पनि माथिल्लो कमिटीमा निर्भर हुने परिपाटीको विकास गर्ने र पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई स्थापित गर्ने अनि नचाहेको ब्यक्तिलाई विस्थापित गर्ने नीति विकास गर्ने नयाँ तरिका अपनाइएको छ ।’

अध्यक्षका लागि अकांक्षी धेरै भएपछि पार्टी अध्यक्ष प्रचण्डलाई वाईसीएलको अध्यक्ष तोक्नका लागि प्रस्ताव गरिएको हो । अध्यक्षका मुख्य आकांक्षीमा प्रचण्ड निकट मानिने सुमन देवकोटा र जनार्दन शर्मा निकट मानिने सुबोध शेर्पाली रहेका छन् । अन्ततः वाईसीएलका भावी अध्यक्षका आकांक्षीको नाम यतिबेला प्रचण्डको टेबलमा पुगेर रोकिएको छ ।

भेलाको उद्घाटनका क्रममा पार्टी अध्यक्ष प्रचण्डले भनेका थिए, ‘सकेसम्म तपाईहरु सहमतिबाटै नेतृत्व चयन गर्नुस, यदि नेतृत्व चयन गर्न सक्नुभएन भने पार्टी हेडक्वार्टरले निर्णय गर्छ ।’

टिके प्रथा नै होइन, पार्टीको सहायक संगठनमा नेतृत्वको हस्तक्षेप हुन्छ : दीपशीखा

यसैबीच वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले वाईसीएलको राष्ट्रिय भेलाले टिके प्रथाको विकास नगरेको दावी गरेका छन् । रातोपाटीसँग कुरा गर्र्दै उनले भने, ‘यो टिके प्रथा नै होइन, राष्ट्रिय सम्मेलन भए पो निर्वाचित हुन्छ, राष्ट्रिय भेलाबाट गर्ने त समिति चयन नै हो ।’

उनले वाईसीएल माओवादी केन्द्रको जनवर्गीय संगठन नभएको र सहायक संगठन भएका कारण यसको नेतृत्व चयन प्रक्रिया पार्टीले नै गर्ने बताए । उनले भने, ‘पहिलो कुरा वाईसीएल पार्टीको जनवर्गीय संगठन हैन, सहायक संगठन हो । दोस्रो कुरा, वाईसीएलले पार्टीले भनेको मान्ने हो । तेस्रो कुरा, यो सम्मेलन हैन, भेला हो । सम्मेलनमा हुने चुनाव भेलामा हुँदैन । चौथो र महत्वपूर्ण कुरा, यसको आयोजना हुँदा नै सहमतिबाट नेतृत्व चयन गर्ने हो ।’

सापकोटाले अगाडि भने, ‘अहिले नेतृत्वका जो–जो दाबेदार छन््, उनीहरु बीचमा सहमति गरेर नेतृत्व चयन गर्ने हो । पार्टी अध्यक्षकहाँ गएपछि सहमति भए हुन्छ, नभए हुँदैन । निर्वाचन हुनका लागि त त्यसको तयारी हुनुप¥यो, तलबाट प्रतिनिधि चयन भएर आएको हुनुप¥यो । टिके प्रथा भनेर अहिले गरिएको अनावश्यक हल्ला मात्र हो ।’

सापकोटाले अहिले निर्वाचित भएको केन्द्रीय कमिटीको बैठक बोलाउने र  सो बैठकले नै सहमतिका आधारमा पदाधिकारीहरु चुन्ने काम गर्ने बताए ।

डिजिटल प्रविधिबाट भेला गरेर ‘हाई टेक्नोलोजीलाई लो सिस्टमले’ राम्रै झापड हान्यो

यता गोरखा जिल्ला अध्यक्ष भट्टले भने आफू अनुकुल हुँदा निर्वाचन प्रणाली ठीक भन्ने र आफू प्रतिकूल हुँदा बेठीक भन्ने नीति हिजैदेखि विकास भएको भन्दै आलोचना गरेका छन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘यो प्रक्रियाले सबैभन्दा ठूलो हानी संगठनलाई नै पु¥याउँछ । अरुका बेलामा उमेर हदबन्दी लगाउने र आफ्नो बेलामा नलगाउने यो नयाँ तरिकाको विकास भएको हो । केन्द्रीय अध्यक्षले भनेपनि सुप्रिमोले भने पनि अहिले जुन तरिका अपनाइएको छ यो बेठीक भइरहेको छ ।’

उनले प्रतिनिधिलाई चार दिनसम्म होल्ड गरेर राख्न नहुने, अहिले व्यवसायमा युवा, उत्पादनमा युवा भनेर नारा बोकेर हिँडे पनि यी नारालाई आफैँमा विवादास्पद बनाउने काम भेलाले गरेको बताए ।

उनले भने, ‘चार दिनसम्म डिजिटल प्रविधिबाट भेला गरेर ‘हाई टेक्नोलोजीलाई लो सिस्टमले’ राम्रै झापड हान्यो । संगठन चुस्त दुरुस्त बनाउने हो भने अगाडि स्थानीय तहमा भेला गरेर, जिल्ला भेलाहरु गरेर, प्रदेशका भेलाहरु गरेर बल्ल केन्द्रीय भेला गर्नुपर्ने हो । यो चाहिँ टाउको बनाएर हातखुट्टा बनाउने विधिको विकास भएको छ ।’

उनले वाईसीएललाई पार्टीको सहायक संगठन हो भन्ने दृष्टिले हेर्ने हो भने  न्यूनतम मापदण्ड बनाउनुपर्ने, कहाँ कसले कति कमिटी बनाएको छ, कसले कति सिर्जनशील काम गरेको छ, हेर्न सक्नुपर्ने बताए । उनले भने, ‘पार्टीलाई दिएको योगदानलाई अहिले कहीँ पनि सम्वोधन गरिएको छैन । विधानमा लेखेको कुरा, हाम्रो बर्गीय धरातल छोड्दै जाँदा त अन्ततः खाल्टोमा पर्ने हामी नै हो ।’

अबको एक सातामा वाईसीएलको केन्द्रीय कमिटीको बैठक बस्ने र पदाधिकारीहरु चुन्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप