बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबारे अमेरिकालाई चीनको सुझाव

मङ्गलबार, १५ भदौ २०७८, १० : ०६
मङ्गलबार, १५ भदौ २०७८

चीनले सबै देश, विशेष गरेर अमेरिकाले तालिबानसँग सम्पर्क गर्नुका साथै सक्रिय भएर उसलाई बाटो देखाउन सुझाव दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस विषयमा अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्किनसँग टेलिफोन वार्ता गरेका हुन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले अफगानिस्तानको स्थिति पूरै बदलिएको र सबै पक्षले तालिबानसँग सम्पर्क गरेर सक्रियरुपमा उनीहरूलाई बाटो देखाउन आवश्यक गरेको उल्लेख गरेको छ । अमेरिकी सैनिक फिर्ता भएर अफगानिस्तानमा आतङ्कवादी सङ्गठनहरूलाई फेरि उठ्ने अवसर प्रदान गरेको चीनले दोहोर्‍याएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले टेलिफोन वार्तामा अमेरिकी जितको दाबीमाथि पनि प्रश्न गरेका थिए । वाङ यीले अमेरिकी विदेशमन्त्रीलाई भने, ‘तथ्यहरुले यो साबित गरेको छ कि अफगानिस्तानको युद्धले त्यहाँबाट आतङ्कवादी समूहहरूलाई हटाउने आफ्नो लक्ष्यमा कहिले पनि सफल हुन सकेन । जसरी अमेरिका र नेटो सैनिकहरूलाई हतारमा हटाउने फैसला गरियो, यसले अफगानिस्तानमा फेरि कयौँ आतङ्कवादी समूहहरूलाई एकजुट हुन मौका दिएको छ ।

​वाङ यीले आतङ्कवाद र हिंसासँग लड्न अफगानिस्तानको मद्दत गर्न ठोस कदम उठाउन अमेरिकालाई जोड दिए । उनले भने, ‘अमेरिकाले अफगानिस्तानको सम्प्रभुता र स्वतन्त्रताको पनि सम्मान गर्नुपर्छ र आतङ्कवादसँग लड्न दोहोरो रवैया अपनाउनु हुँदैन ।’

चिनियाँ विदेशमन्त्रीले अमेरिकाले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर नयाँ अफगानिस्तानमा राजनीतिक ढाँचा विकास गर्न, सरकारी संस्थानहरुलाई शान्तिपूर्ण तरिकाले काम गर्न, सामाजिक सुरक्षा र स्थिरता ल्याउन, मुद्राको गिरावट र महँगाइ काम गर्न र पुनर्निर्माणको शान्तिपूर्ण प्रयासका लागि चाँडै मद्दत गर्नुपर्ने बताए । 

तालिबान सत्तामा आएपछि पश्चिमा राष्ट्रहरुले अफगानिस्थानस्थित आफ्नो दूतावास धमाधम बन्द गरिरहँदा चीनसहित पाकिस्तान र रुसले भने आफ्नो दूतावास बन्द गरेका छैनन् । अफगानिस्तानमा चिनियाँ राजदूत वाङ यूले तालिबानका अधिकारीहरूसँग पहिलो कूटनीतिक वार्ता पनि गरेका थिए । अफगानिस्तानमा तालिबानले कब्जा जमाएको केही दिनमा नै चीनले सार्वजनिक रुपमा तालिबानसँग मित्रवत सम्बन्ध विकसित गर्न चाहेको बताएको थियो ।

स्रोत : बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप