बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने एमालेको अडान कायमै

सभामुख घर्ती भन्छन्– चित्त नबुझे अदालत गए हुन्छ
सोमबार, ०७ भदौ २०७८, १० : ३४
सोमबार, ०७ भदौ २०७८

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दा नयाँ सरकारलाई काम गर्न असहज हुन थालेको छ । सत्ताबाट बाहिरिएलगत्तै एमालेले प्रमुख प्रतिपक्षका रुपमा प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ । प्रदेशसभाको बैठक सोमबार (आज) दिनको १ बजे बस्ने कार्यसूची छ तर, एमालेले सांसदद्वय शाही र वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ । अर्कोतिर प्रदेशसभा सचिवालयले दुवै सांसदमाथि कारवाही हुन नसक्ने अडान राखेका कारण संसदीय कारवाही कसरी अघि बढ्ला भन्नेमा संशय कायम छ ।

एमालेले भदौ २ र ३ गते प्रदेशसभा बैठक सञ्चालन हुन दिएको थिएन । एमालेले दुवै सांसदलाई पार्टीले कारवाही गरेको भन्दै उनीहरुलाई पदमुक्त गर्नका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो । यसका बाबजुद सभामुखले कारवाहीका सम्बन्धमा कुनै प्रकृया अगाडि नबढाएको भन्दै एमालेले सदन अवरुद्ध गरेको थियो ।

प्रदेशसभा सचिवालयले एमालेले माग गरेजस्तै सांसदद्वय शाही र वलीलाई पदमुक्त भएको सूचना टाँस गर्न नमिल्ने भन्दै जवाफी पत्र पठाएपछि पछिल्लो समय प्रमुख प्रतिपक्ष एमाले र सभामुखका बीच द्वन्द्व चर्किएको छ । जसका कारण प्रदेशसभाको काम कारवाही कसरी अघि बढ्ला भन्नेमा सर्वत्र चासो बढेको छ ।

​केही प्रदेशसभा सदस्यहरुको बुझाइमा सभामुखले जबरजस्ती संसद चलाउने र अर्को पक्षले जबरजस्ती अवरोध गर्न खोज्ने अवस्था आउन सक्ने परिस्थिति बन्दै गएको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेशसभा सदस्यबाट निष्कासन नगर्दासम्म एमालेले संसदको कारवाही अघि बढ्न नदिने बताए ।

प्रदेशसभा निर्वाचनमा एमालेकै ‘सूर्य’ चिह्न लिएर निर्वाचन जितेका शाही हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा विना विभागीय मन्त्री छन् भने तत्कालीन नेकपाबाट प्रदेशसभा उपनिर्वाचन जितेकी वलीले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्र रोजेको जिकिर गर्दै आएकी छन् ।

​एमालेले दुवै जना ‘सूर्य’ चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका र नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका सदस्य रहेको भन्दै पार्टीको निर्देशन नमानेकाले निष्कासनको कारबाही गरी प्रदेशसभामा जानकारी गराउँदा सभामुखले पदमुक्तको सूचना जारी गर्न अटेर गरेको आरोप लगाएको छ । सभामुख आफै न्यायाधीश बनेको भन्दै एमालेले सभामुखले राजीनामा दिनुपर्ने मागसमेत अघि सारेको छ ।

एमालेको आरोप तथ्यहीन : सभामुख

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आफुले विधि, प्रकृयामा रहेर काम गरेको दाबी गरेका छन् । उनले आफूमाथि एमालेले निराधार आरोप लगाएको समेत उल्लेख गरे ।

विगतमा अन्य सांसदलाई कारवाही गर्दा पार्टीको विधान, बैठकका निर्णय आदि हेरेर कारवाही गरेको प्रस्ट पार्दै उनले सांसदद्वय शाही र वलीका सन्दर्भमा आफूले एमालेका प्रमुख सचेतकसँग माग गरेका आवश्यक कागजपत्र उपलब्ध नभएको पनि बताए ।

‘प्रमुख सचेतकसँग यी कागजात अपुग भए भनेर माग गरिएको छ, तर मुखले दिन्छु भने पनि व्यवहारमा ती कागजपत्र हामीलाई दिइएको छैन,’ उनले भने, ‘अर्कोतिर उहाँहरुले कारवाही गरेका भनिएका सांसदहरुले आफूलाई एमालेले कारवाही गर्न नसक्ने जिकिरसहित आवश्यक दस्तावेज बुझाउनु भएको छ । यस्तो अवस्थामा कारवाहीको सूचना कसरी जारी गर्ने ?’

विगतमा कारवाही गरिएकाहरु र अहिले एमालेले कारवाही गर्न खोजेका सांसदद्वय शाही र वलीको अवस्था नै फरक रहेको सभामुख घर्तीको भनाइ छ । उनले भने, ‘एमाले संसदीय प्रणाली मानेको पार्टी हो, त्यसैले एउटै विषयमा अल्झेर संसद सधैँ अवरुद्ध गर्नु राम्रो होइन ।’

​एमालेले दुवै सांसद पदमुक्त भएको सूचना टाँस गर्न माग गरेको र आफूले सूचना टाँस गर्न नमिल्ने धारणा दिएपछि अब एमालेसामु दुई विकल्प रहेको सभामुख घर्तीले बताए । ‘उहाँहरुले या त संसद चल्न दिनुपर्छ,’ उनले भने, ‘होइन भने न्यायालय गएर प्रदेशसभा सचिवालयको निर्णयलाई चुनौती दिन सक्नुहुन्छ ।’

आफ्नो निश्चित कार्यक्षेत्र, सीमा र अधिकार रहेको भन्दै उनले आफू त्यही सीमा र अधिकारभित्र बसेर काम गरेको प्रस्ट पारे । ‘यदि प्रमुख प्रतिपक्षलाई मेरो भूमिकामा चित्त बुझेको छैन भने अदालत जान सक्छ,’ उनले भने, ‘अदालत जान पनि नसक्ने अनि बालहठ जस्तो खाली दुई जना सांसदलाई हटाएको सूचना टाँस गर भन्दै संसद अवरुद्ध गर्न सधैँ मिल्छ ?’

उनले सोमबार प्रदेशसभा बैठक सञ्चालन हुने दाबी गरे । ‘हामी अहिलेसम्म बैठक चलाउने पक्षमा छौं,’ उनले भने, ‘किनकि हामीले आफ्नो धारणा उहाँहरुलाई दिएपछि अब संसदका काम कारवाही रोक्न आवश्यक छैन । उहाँहरुले विरोध गर्न पाउनुहन्छ, त्यो उहाँहरुको अधिकार हो ।’

छिटै निकास दिनुपर्छ : काँग्रेस

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले दुईजना सांसदमाथिको कारवाहीलाई लिएर सदन चल्न नदिने एमालेको निर्णयले संसदीय अभ्यास कमजोर हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । ‘त्यसलाई सरकारले आफ्नै ढङ्गले हेरेको होला,’ उनले भने, ‘सभामुखले कारवाहीको विषयमा आफ्नो प्रतिकृया दिएपछि एउटा ढङ्गबाट अगाडि बढ्नुपर्छ ।’

एमालेलाई सभामुखको काम कारवाही चित्त नबुझेको भए न्यायालय जान उचित हुने उनले बताए । ‘एउटै मुद्दा देखाएर प्रदेशसभा पटकपटक अवरुद्ध गर्दा लोकतन्त्र कमजोर हुन्छ,’ उनले भने, ‘हामी सबै विधिसम्मत् रुपमा चल्नु पर्छ । संसदलाई कमजोर बनाउन मिल्दैन । छिटो निकास दिनुपर्छ ।’

संसद अवरुद्ध गरेर निकास आउँदैन : जसपा

संसद अवरुद्ध गरेरमात्र निकास नआउने जसपा नेपालका संसदीय दलका नेता सहसराम यादवले बताए । एमालेले दुईजना सांसदमाथिको कारवाहीका सन्दर्भमा विगतमा पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको भन्दै उनले यसबारे सर्वदलीय बैठकमा समेत छलफल भइसकेको बताए ।

‘अझै पनि हामी यसबारेमा समन्वय गर्दैछौं, निकास त निकाल्नु पर्छ,’ उनले भने, ‘निकास निकाल्न हामी पहल गर्नेछौं । संसद अवरुद्ध गरेर निकास आउँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप