एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ– दुवै सांसदलाई पदमुक्त गर्न मिल्दैन (पत्रसहित)
लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाहीलाई प्रदेशसभा सचिवालयले ‘अमान्य’ ठहर गरेको छ । सचिवालयका तर्फबाट नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारिएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।
एमालेले प्रदेश सरकारमा सहभागी अजय शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी विमला खत्री वलीलाई पार्टीले कारवाही गरेको विवरणसहित सो बमोजिम उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।
आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।
पत्रमा सांसद विमला वलीको हकमा एमाले र माओवादी केन्द्र दुवैले अनुसूची ७ को फारममा आफ्नो सदस्य रहेको विवरण लेखेका छन् भने अजय शाहीको हकमा भने एमालेले आफ्नो सदस्य रहेको विवरण सचिवालयमा बुझाएको थियो ।
सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।
शाहीले निर्वाचनमा सहभागी हुँदा नै स्वतन्त्र पहिचान कायम हुने गरी सूर्य चिन्ह प्रयोग गर्ने गरी सम्झौता गरेको यसअघि पत्रकार सम्मेलनमार्फत जनाएका छन् । दाङबाट उपनिर्वाचनमार्फत विजयी विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफु कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी छन् ।
संसदबाटै ठेगान लगाउने एमालेको चेतावनी
एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री वैजनाथ चौधरीले सभामुखले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्राचार गरेको आरोप लगाउँदै सभामुखलाई सदनबाटै ठेगान लगाउने बताए । उनले रातोपाटीसँग भने, ‘हामी अदालत पनि जाँदैनौं, संसदबाट त्यसको जवाफ भोलि फर्काउँछौँ, सभामुखले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न मिल्दैन । यसरी चिठी लेख्न पनि मिल्दैन ।’
उनले दुई सांसदको पदमुक्त सम्बन्धी सूचना जारी नहुँदासम्म संसद चल्न नदिने चेतावनी दिए । एमालेले ती दुवै सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ भने मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनसमेत ढिला हुँदै गएको छ । प्रदेशसभाको बैठक सोमबार बस्ने गरी आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति