बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा दुई सांसदको लफडा झन् पेचिलो बन्दै

मन्त्रीको शाहीको दाबी : म स्वतन्त्र हुँ
शनिबार, ०५ भदौ २०७८, १७ : १७
शनिबार, ०५ भदौ २०७८


लुम्बिनी प्रदेशमा दुई सांसदलाई पदबाट हटाउने विषय झन् पेचिलो बन्दै गएको छ । सरकार मन्त्रीसमेत बनेका विना विभागीय मन्त्री अजय शाही र उपनिर्वाचनमा नेकपाबाट चुनाव जितेकी विमला खत्री वलीको विषयलाई लिएर सत्ता पक्ष र विपक्षी एमालेबीचको द्वन्द्व झन् बढ्दै गएको छ ।

शाही र वलीले सूर्य चिन्ह लिएर चुनाव जितेकाले पार्टीले गरेको कारबाही मान्दै सभामुखले हटाउनु पर्ने माग एमालेको रहेको छ । सोही  माग लिएर  निरन्तर  दुई दिन सदन अवरुद्ध गरेको थियो । एमालेले अहिले पनि सोही अडान कायम रहेको नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले  बताए । उनले विधि र कानुन सम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गर्ने बताएका हुन् ।

उनले सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी  चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारबाही नगरेको आरोप लगाए । उनले सभामुखले दलको कार्यकर्ता जस्तो काम गर्न नहुने भन्दै तत्काल कारबाहीको सूचना टाँस गर्नुपर्ने माग गरे ।

नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विना विभागीय मन्त्री अजय शाहीले भने आफू स्वतन्त्र भएको दाबी गरेका छन् । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्कासन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानुनी र राजनीतिक रूपमा कुनै औचित्य नरहेको बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रूपमै चुनाव जितेको दाबी गरे । शाहीले  राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारेका छन् ।

विमला खत्री वलीले यस अघि नै पत्रकार सम्मेलन गरेर  आफू उप निर्वाचन विजेता बनेकाले त्यति बेला नै माओवादी रोजेको बताएकी छन् ।

कानूनविद महेन्द्र पाण्डेले अजय शाही हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट चुनावमा तत्कालीन नेकपासँग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसाबले र सहमतिका बुँदाको हिसाबले स्वतन्त्र रहेको बताए । उनले स्वतन्त्र हैसियतबाट उठेकाले एमालेसँग कुनै नाता र साइनो नभएकाले व्यवहारिक तथा कानुनी हिसाबले एमालेले दाबी गर्न नमिल्ने तर्क गरे । यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताए ।

यस्तै, अर्का कानुनविद् नगेन्द्र बस्यालले अजय शाहीले सूर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारबाही गर्न स्वाभाविक रहेको दाबी गरे । स्वतन्त्र भनिए पनि एमालेको सूर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उनको भनाई छ । एमालेले आवश्यक क्रियाकलाप पुरा गरी संसद् सचिवालयमा पठाएको हो भने सभामुखले तत्काल आवश्यक कारबाही अगाडी बढाउनु पर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप