शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सभामुखको च्याम्बरमा एमाले सांसदको घेराउ

शुक्रबार, ०४ भदौ २०७८, ११ : ०१
शुक्रबार, ०४ भदौ २०७८

पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् । 

माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिन सभामुखको कार्यकक्ष घेराउ गरिएको एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले रातोपाटीलाई जानकारी दिए । 

सभामुखको च्याम्बर घेराउ गर्नेमा बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् । 

कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न बिहीबार पनि एमालेले सापकोटाको ध्यानाकर्षण गराएको थियो ।  एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका थिए । 

एमाले अध्यक्ष ओलीले विहीबार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो ‘नपल्टिन’ चेतावनी दिँदै १४ जनामाथिको कारवाहीको सूचना तत्काल नटाँसिए संसद चलाउन नदिने बताएका थिए । 


एमालेले  भदौ १ गते माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

कारबाही गरिएको ब्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने कानूनी व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप