शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा एमाले विभाजनको असर : माधव बलियो, ओलीलाई सूर्य चिन्हको आश

२१ दिन पर्खिनुस्, जवाफ आफैँ आउँछ –  शत्रुधन महतो
शुक्रबार, ०४ भदौ २०७८, ०६ : ४७
शुक्रबार, ०४ भदौ २०७८

दल विभाजन सम्बन्धी अध्यादेश जारी भए लगत्तै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ । एमाले विभाजन भएसँगै यसको असर प्रदेश नम्बर २ मा पनि परेको छ । ७ वटा प्रदेश मध्ये प्रदेश नम्बर २ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई व्यापक क्षति भएको छ । प्रदेश नम्बर २ मा नेपाल पक्ष मजबुत अवस्थामा छ भने ओली समूह अल्पमतमा ।

१ सय ७ सदस्यीय रहेको प्रदेश नम्बर २ को प्रदेशसभामा अहिले १ सय ४ जना सदस्य छ । नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरेको थियो । यसमध्ये एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । यसमध्ये नेपाल पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेश सभामा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु मध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु माधव पक्षमा छन् भने ओली पक्षमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन् ।

​त्यस्तै प्रदेश नम्बर २ मा एमालेका ३२ जना केन्द्रीय सदस्य छन् । ती केन्द्रीय सदस्यहरू समेत विभाजित भएका छन् । ३२ जना मध्ये दुवै पक्षमा १६÷१६ जना केन्द्रीय सदस्य छन् । एमालेको प्रदेश कमिटीमा भने माधव समूह बहुमत छ । एमालेको १ सय सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव पक्षमा छन् भने ४० जना ओली समूहमा छन् । 

त्यस्तै प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरूमध्ये ६ वटा जिल्लामा नेपाल पक्षको अवस्था निकै मजबुत स्थिति रहेको नेकपा एमाले समाजवादीको दाबी छ । ५ वटा जिल्लामा नेपाल पक्ष जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ । यसरी हेर्दा माधवकुमार नेपालको नेतृत्वमा रहेको एमाले समाजवादीको अवस्था प्रदेश नम्बर २ मा बलियो छ ।

नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गराउनका लागि निवेदन दर्ता गराएपछि एमाले विभाजनको औपचारिकता प्रदान भएको छ । निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई समेत २१ दिन भित्र कित्ता स्पष्ट गर्न समय दिएको छ ।

एमाले विभाजन भएपछि प्रदेश नम्बर २ मा ओली समूहले भने अहिले सङ्गठनात्मक अवस्था बारेमा बोल्न चाहेको छैन । ओली समूहका नेताहरू निर्वाचनमा चुनाव चिन्हलाई कार्यकर्ताले साथ दिनेमा ढुक्क देखिएका छन् । एमालेको नेता समेत रहेका एमालेका संसदीय दलका नेता शत्रुधन महतोले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र नपाउन्जेल र हेड काउण्ट नहुन्ज्यालसम्म सङ्गठनात्मक अवस्था बताउन हतार हुने प्रतिक्रिया दिए । उनले भने, ‘कुन समूह मजबुत भन्ने विषयमा कुरा गर्नु हतार होला । २१ दिन पर्खिनुस् कुन समूह मजबुत भन्ने प्रश्नको जवाफ आफैँ पाउनु हुन्छ ।’

नेपाल पक्षका केन्द्रीय सदस्य नेता श्रीप्रसाद साहले यस प्रदेशका साथीहरूले पार्टीभन्दा बढी देश र विचारलाई महत्त्व दिएकाले आफूहरू नै बलियो अवस्थामा रहेको दाबी गरे । उनले भने– ‘हामीले आफ्नै पार्टीको नेता प्रतिगमनकारी बनेको र संविधानको बर्खिलाप गर्ने काम गरेको विरोधमा आवाज उठाउन पनि पछाडि पर्दैनौँ । सही विचारलाई साथ दिनका जस्तोसुकै कठिनाइबाट गुज्रिन तयार रहेको भन्ने कुराको सन्देश प्रवाह भएको छ ।’ अब आउने निर्वाचनमा पार्टी विभाजनको प्रत्यक्ष असर परे पनि ओली समूहभन्दा आफूहरुको अवस्था निकै बलियो रहने उनको दाबी छ ।

उता, ओली समूहको प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य शारदा देवी थापाले भने अहिले गणितीय हिसाबमा आफूहरू कमजोर देखिए पनि जनधार मजबुत नै भएका दाबी गरिन् । प्रदेशसभा सदस्य थापा भन्छिन्, ‘सूर्य चिन्हलाई माया गर्नेहरू पक्कै पनि ओली कमरेडको साथमा उभिनेछन् । अहिले हाम्रो स्थिति प्रदेश २ मा कमजोर रहे पनि पदको लोभमा माधवजीसँग लागेकाहरू कति दिनसम्म टिक्लान्, त्यो हेर्न बाँकी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप