शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लन्डनमा आमरण अनसनरत धन गुरुङ अस्पताल भर्ना

बुधबार, ०२ भदौ २०७८, ०८ : ४३
बुधबार, ०२ भदौ २०७८

लन्डन । १२ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बस्दै आएका अनसनकारीमध्येका एकजना अभियन्ता धन गुरुङको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि एम्बुलेन्स बोलाएर मंगलबार साँझ अस्पताल लगिएको छ ।

अनसनको ११ औं दिनमा गुरुङलाई अस्पताल भर्ना गरिएको हो । मधुमेह र ब्लड प्रेसरका रोगी रहेका गुरुङ दुई दिनदेखि अस्वस्थ रहँदै आएका भए पनि अस्पताल जान अस्वीकार गर्दै आएका थिए । तर, उपचार पश्चात पुनः अनसनस्थलमा ल्याइने बताउँदै उनलाई मंगलबार अस्पताल लगिएको हो ।

गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरेपछि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले  बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर अगस्ट ७ तारिखदेखि आमरण अनसनमा छन् ।

बेलायती रक्षामन्त्रीले गोर्खाहरुसँग भेट गर्न भन्दै इमालेमार्फत राखेको प्रस्तावलाई उनीहरुले अस्वीकार गरेका छन् । आमरण अनसनमा बसेका भूपू गोर्खाहरुसँग वार्ता गर्न बेलायती रक्षामन्त्री बेन वालेसले आइतबार इमेलमार्फत प्रस्ताव गरेका थिए ।

गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुको आमरण अनसन एघारौँ दिनमा चलिरहँदा मन्त्री वालेसले गोर्खाका मागहरु सम्बन्धमा छलफलका लागि आफू गोर्खा अभियन्ताहरुसँग भेट्न गर्न ईच्छुक रहेको भन्दै सत्याग्रह समितिलाई इमेल पठाएका हुन् । 

सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरु दुईजनासँग भेटका लागि मन्त्री वालेसले प्रस्ताव राखे पनि त्यो अस्वीकार गरिएको बताए ।  

‘हाम्रो बटमलाइन बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता कमिटी गठन गर्नु र मिति तोकिनु हो’ राईले भने, ‘बेलायती मन्त्रीसँग गएर हामी वार्ता गर्दैनांै । पहिला बेलायत सरकारले नेपाल सरकारको पत्रको जवाफ लेखोस् ।’

त्रिपक्षीय प्राविधिक सन्यन्त्रको सिफारिसलाई टेकेर नै समस्याको हल खोज्नुपर्ने सत्याग्रहको आफ्नो अडान राईले दोहो-याए । गोर्खा समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकार बीच वार्ताको लिखित ग्यारेन्टी गर्नुपर्ने सत्याग्रहको माग छ ।

सत्याग्रहले दुई देशीय वार्ताको मिति तोक्न र वार्तामा सहभागी हुने नेपाली टोलीमा गोर्खाका प्रतिनिधि पनि सामेल गराउन पनि माग गरेको छ । 

आज फेरि लण्डनमा प्रदर्शनी गरिने

भूपू गोर्खाहरुको लन्डनमा जारी आन्दोलनको पक्षमा बुधबार बिहान लन्डनमा फेरि प्रदर्शन हुने भएको छ । गोर्खा सत्याग्रह संघर्ष समितिको आमरण अनसन १२ औँ दिनमा पुग्दै गर्दा गोर्खाहरुको पक्षमा प्रदर्शन गर्न लागिएको हो । 

तीन गोर्खा अभियन्ताहरु अनसन बसेको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर बिहान १० बजे प्रदर्शन तय गरिएको सत्याग्रह समितिकी महासचिव सइन्द्र केसीले जानकारी दिइन्  ।

गोर्खाहरुलाई समान अधिकार दिलाउने आन्दोलन निर्णायक चरणमा पुगेको भन्दै उनले यो प्रदर्शनमा सहभागी भइदिन बेलायतवासी नेपालीहरुलाई अपिल गरेकी छन् । 

अफगानिस्तान मुद्दामा छलफल गर्न बुधबार बेलायती संसदको विशेष बैठक बस्दैछ । सोही बैठक बस्नुअघि गर्न लागिएको प्रदर्शनले संसदमा गोर्खा मुद्दालाई समेत प्रवेश गराउन आवश्यक दबाब सिर्जना गर्ने आशा सत्याग्रहको छ । 

सत्याग्रहका अर्का अभियन्ता लक्ष्मी घिसिङले जारी गोर्खा आन्दोलनप्रति बेलायतस्थित नेपालीहरुले देखाएको सद्भाव र ऐक्यवद्धताका लागि आभार प्रकट गर्दै बुधबारको विशेष प्रदर्शनमा पनि भाग लिन आह्वान गरेका छन् ।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप