शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा प्रदर्शन

सोमबार, ३२ साउन २०७८, १६ : ५७
सोमबार, ३२ साउन २०७८

भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको आज दश दिन बितिसकेको छ । यत्तिका दिनसम्म पनि बेलायत सरकारले कुनै पहल नगरे पनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही निर्मल पुर्जा मगर ‘निम्स’ ले पनि एक भिडियो सन्देशमार्फत आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनीहरूको समर्थनमा शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय  आसपासमा ब्रिटिस भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विशाल प्रदर्शन गरे ।

शनिबार भएको प्रदर्शनीमा सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद् भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरूले एकै साथ ताली बजाएर धन्यवाद दिए ।  यसै गरी नेपाली संस्कृति र परम्परा झल्किने बाजागाजा तथा लाखे नाँचको समेत प्रदर्शन गरिएको थियो ।

​यसै गरी सत्याग्रहकै आव्हानमा  आइतबार प्रधानमन्त्री कार्यालय अगाडि विशाल गरिएको प्रदर्शनीमा हजारौँको सङ्ख्यामा नेपाली तथा विदेशीहरूको भीड लागेको थियो । ब्रिटिस भेट्रान र नागरिकहरुको साथले हामीलाई थप ऊर्जा मिलेको छ’ गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने ।

गत जुलाई २१ तारिखबाट १७ दिन २४ घन्टे रिले अनसन पूरा गरि गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले  विगत १० दिनदेखि आमरण अनसनमा छन् ।  समानताको लडाइँमा आफूहरू मर्न तयार रहेको जनाउँदै उनीहरू भोक हडताल छाड्ने मनस्थितिमा छैनन् यद्यपि उनीहरूको स्वास्थ्य अवस्था  दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । 

​आमरण अनसनको विषयलाई विभिन्न राष्ट्रिय मिडियाहरूले समेत निकै चासोका साथ हेर्दै  आएका छन् । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने संसद्मा समेत आवाज उठाएको छ । 

ब्रिटिस संसद्को सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित सांसदहरू सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालीन समाधानमा जोड दिँदै आएका छन् ।

सर्वदलीय संसदीय समितिले विगतदेखि नै गोर्खा समस्याको निष्पक्ष समाधान हुनुपर्नेमा जोड दिएको उल्लेख गर्दै उनीहरूले पत्रमा गोर्खाहरूले सम्मान महसुस गर्ने र उनीहरूको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।

सांसदहरूले प्रधानमन्त्री जोन्सनलाई आमरण अनसन बसिरहेका गोर्खाहरूलाई भेट्न र उनीहरूको अभियानलाई समर्थन गर्ने हजारौँ भेट्रान्सको चासोबारे छलफल गर्न पनि आग्रह गरेका छन् । 

पत्रमा वार्ताले आमरण अनसन बसेका गोर्खाहरूको ज्यान बचाउन सक्ने र गोर्खा मुद्दाप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरूको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप