मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

शान्ति मिसनको प्रश्न पत्र लिक प्रकरणमा डिएसपी पाठकको संलग्नता देखिएन

आइतबार, ३१ साउन २०७८, १३ : १३
आइतबार, ३१ साउन २०७८

शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्न पत्र ‘लिक’ गर्नेहरूमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ । डीआईजी वसन्त लामा नेतृत्वको समितिले बुझाएको छानबिन प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । 

यसअघि प्रश्न पत्र लिक प्रकरणमा संलग्न भनिएका डिएसपी वासु पाठकको संलग्नता छानबिनबाट देखिएन । छानबिन समितिले बुझाएको प्रतिवेदनमा युएन शाखामा कार्यरत डिएसपी पाठकको संलग्नता बारे उल्लेख गरिएको छैन । 

छानबिन समितिले युएन शाखाका एसपी अनुपम शमशेर जबरा र डिएसपी रुपेश खड्का सहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । डिएसपी खड्का परीक्षार्थी हुन् । हवल्दार कुमार शाहले समितिसँगको बयानमा डिएसपी खड्कालाई आफूले प्रश्न पत्र दिएको स्विकारेका थिए । 

प्रश्न पत्र लिक गराउने हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको छ । समितिले कुमार शाह, सुरेश बम र सई जनकबहादुर थापालाई निलम्बन गर्न सिफारिस गरेको थियो ।  

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्न पत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

यसअघि रातोपाटीमा पाठक समेतको संलग्नतामा प्रश्न पत्र लिक भएको समाचार प्रकाशित भएको थियो । सो समाचारको डिएसपी पाठकले खण्डन गरेका छन् । रातोपाटीलाई पाठकले पठाएको खण्डनमा भनिएको छ–‘प्रश्न पत्र लिक प्रकरणमा मेरो नाम जोडेर प्रकाशित समाचारमा सत्यता नभएको स्पष्ट पार्न चाहिन्छु । छानबिनबाट समेत मेरो संलग्नता देखिएको छैन ।’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप