बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

हवल्दारको बयान–‘डिएसपी सा’पलाई प्रश्नपत्र मैले दिएको हुँ !’

युएन शाखाका एसपीको घर्राबाट परिचरले चोरेको पुष्टि
बिहीबार, २१ साउन २०७८, १९ : ५४
बिहीबार, २१ साउन २०७८

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा जानका लागी प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको बारे छानबिन गर्न गठित समितिले शंकास्पदहरुसँग बयान लिइरहेको छ । 

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ । 

डिआईजी वसन्त लामा नेतृत्वको समितिले बिहीबार प्रहरी हवल्दार कुमार शाहसँग बयान लिएको छ । ८ वर्ष प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेर केही समयअघि मात्र साइबर ब्यूरोमा सरुवा भएका शाहले आफैँले डिएसपी रुपेश खड्कालाई शान्ति मिसनको प्रश्नपत्र दिएको बयान दिएका छन् । समितिसँगको बयानमा उनले भनेका छन्–‘डिएसपी सा’पलाई मैले नै प्रश्नपत्र दिएको हुँ ।’ यसअघि युएन शाखामा बसेका खड्का र शाहको बिचमा पुरानो चिनजान थियो । 

समितिले युएन शाखामा कार्यरत डिएसपी बासु पाठक सहित दर्जन प्रहरी अधिकारीहरूसँग बयान लिएको छ । ‘छानबिन जारी छ’ प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीसँग भने–‘छानबिन सकिएपछि यथार्थ बाहिर आउँछ, संलग्नहरूलाई विभागीय कारबाही हुन्छ ।’ 

हवल्दार कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमलाई समितिले आन्तरिक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । 

एसपीको घर्राबाट परिचरले चोरेको पुष्टि 

युएन शाखाका एसपी अनुपम शमशेर जबराको घर्रामा प्रश्नपत्र राखिएको थियो । सो घर्राको साँचो कार्यालय सहयोगी सुरेश बमसँग पनि थियो । सुरेशले साउन १३ मा एसपी जबरा घरतिर हिँडेपछि साँझ ८ बजे घर्राबाट प्रश्नपत्र निकालेको छानबिनबाट खुलेको छ । 

छानबिन समितिका एक सदस्यले रातोपाटीलाई बताए अनुसार सुरेशले आफैँले प्रश्नपत्र निकालेर हवल्दार कुमार शाहलाई दिएको बयान दिएका छन् । 

कुमार र सुरेशको बीचमा लेनदेन थियो । व्यवसाय पनि सुरु गर्न लागेका उनले हवल्दार कुमार शाहसँग १ लाख रुपैयाँ ऋण लिएका थिए । प्रश्नपत्र ‘लिक’ गराए सो ऋण चुक्ता हुने आश्वासनपछि आफूले ‘घर्राबाट प्रश्नपत्र चोरेको’ सुरेशले समितिलाई बताएका छन् । 

यसअघि डिएसपी रुपेश खड्कालाई प्रश्नपत्र पु¥याउन घरमा गएका भनिएका प्रहरी नायव निरीक्षक (सई) जनक थापाले चाहिँ आफ्ना ज्वाइँ र सालोलाई प्रश्नपत्र पठाएको छानबिनबाट थाहा भएको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप