शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगसँगको परामर्शपछि महाधिवेशन सार्न देउवा–शशांक सहमत

यसरी हुँदैछ नयाँ कार्यतालिका ड्राफ्ट
शनिबार, २३ साउन २०७८, १४ : ४९
शनिबार, २३ साउन २०७८

काठमाडौं । नेपाली काँग्रेस नेताहरु १४ औं महाधिवेशन सार्ने गृहकार्यमा जुटेका छन् । भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि महाधिवेशन सार्ने गृहकार्यमा काँग्रेस लागेको हो । साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गरेपछि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक वाध्यतामाथि चुनौती थलिएको छ । 

किन भने नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औं महाधिवेशन सम्पन्न गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदै छ । नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

संविधानको उक्त प्रावधानको पालना गरी महाधिवेशन गर्न काँग्रेस करिब असफल भएको छ । अबको कानुनी निकासबारे कुराकानी गर्ने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले साउन १० गते प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट्न खोजेका थिए ।

तर जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद ११ साउनमा टुंग्याउने तयारीमा लागेका बेला प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु उपयुक्त नहुने थपलियाले सुनाए । थपलियाको आग्रह देउवाले स्वीकारे । त्यसपछि महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्र कार्की निर्वाचन आयोगसँग परामर्श गरी महाधिवेशन सार्ने कानुनी आधारको खोजीमा लागे ।

खड्काले साउन १५ गते नेता रामहरि खतिवडा र बहादुरसिंह लामालाई निर्वाचन आयोगको कार्यालय कान्तिपथ पठाएका थिए । प्रमुख निर्वाचन आयुक्तले मंसिरसम्म महाधिवेशन सार्न सकिने उनीहरुलाई कानुनी बाटो देखाएका थिए ।

उनीहरुले उक्त कुरा महामन्त्री खड्का र गृहमन्त्री खाणलाई पनि सुनाएको बुझिएको छ । महाधिवेशन सार्नेबारे कानुनमन्त्री कार्कीले पनि कानुन मन्त्रालयका सचिव, प्रमुख निर्वाचन आयुक्तसहिताका पदाधिकारी र महान्यायाधीवक्तासँग कानुनी परामर्श लिए । 

योबीचमा महामन्त्री शशांक कोइरालाको सचिवालयले पनि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको थियो । साउन १६ गते दिउँसो कोइरालाका स्वकीय सचिव भरत तिवारी निर्वाचन आयोग पुगेका थिए । तिवारीको कुराकानीमा प्रमुख आयुक्त थपलियाले काँग्रेसबाट महाधिवेशनका लागि थप समय मागेको खण्डमा निर्वाचन आयोग बाधक नहुने बताएका थिए । काँग्रेसलाई परेको असहजतामा सहयोग गर्ने आफू तयार रहेको उनको भनाइ थियो । 

साउन दोस्रो साता कानुन मन्त्रीसँगको भेटमा पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिरसम्म महाधिवेशन सार्ने कुरामा समस्या नहुने सुझाएका थिए । त्यसपछि सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार ४ महिना महाधिवेशन सार्ने गरी काँग्रेस नेताहरु अगाडि बढेको पाइएको छ ।

संस्थापन पक्षका एक नेताले भने ‘सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला अनुसार मंसिर मसान्तसम्म निर्वाचन आयोगका पदाधिकारीले शुन्य समयका नाममा महाधिवेशन गर्न स्वीकृत दिने छ । काँग्रेसका लागि त्यति सहजता प्रधान गरिदिन निर्वाचन आयोग तयार छ ।’

सोही अनुसार साउन २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने नयाँ कार्यतालिका ड्राफ्ट तयार पारिरहेको स्रोतले रातोपाटीलाई जानकारी दियो । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने काँग्रेसले जनाएको छ ।​

महाधिवेशन सार्न देउवा–शशांक सहमत

मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कुरामा सभापति देउवा र महामन्त्री शशांक कोइराला एकमत देखिएका छन् । भदौमा महाधिवेशन गर्न सम्भव नभएको भन्दै मंसिरसम्म सार्न सकिने महामन्त्री कोइरालाको भनाइ छ ।

नयाँ क्रियाशील सदस्यता र पार्टी समायोजनका विषयमा देखिएको विवाद समाधान गर्ने गरी मंसिरसम्म महाधिवेशन सार्न उपयुक्त हुने उनको प्रस्ताव छ । यता शुक्रबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस युवा नेताहरुसँग सभापति देउवाले पनि महाधिवेशन सार्ने संकेत गरेका छन् । 

‘साथीहरूसँग छलफल गर्छु । जे हुन्छ, पार्टीमा सबैको सहमतिबाट निर्णय लिन्छु । कोरोना महामारीको बढेको छ । हाम्रो पहिलो प्राथमिकता जनताका जीउधनको सुरक्षा हो । पहिले त मान्छे बाँच्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै जीवन परियारले रातोपाटीसँग भने ।

 


महामन्त्री कोइरालाले मंसिरमा महाधिवेशन गर्ने गरी प्रस्ताव राखेको भन्दै आफू नेताहरुसँगको परामर्शमा रहेको देउवाको भनाइ थियो । ‘महामन्त्री शशांक कोइराला मङ्सिरमा महाधिवेशन गर्ने भन्नुभएको  छ । वर्तमान परिस्थिति हेरेर नयाँ कार्यतालिका आउछ,’ देउवाले भनेका थिए । तर युवा नेताहरूले भदौ १६ गतेअघि कुनै हालतमा वडा अधिवेशन प्रारम्भ गर्नुपर्ने सुझाएका थिए । त्यसका लागि कार्यतालिका सार्वजनिक गर्न युवा नेताहरूको माग थियो ।

परियारका अनुसार जवाफमा देउवाले साउन २८ गतेको केन्द्रीय समितिबाट सोही अनुसार कार्यतालिका आउने बताएका छन् । युवा नेताहरुले पार्टीको वैधानिकतामाथि चिन्ता व्यक्त गरेपछि देउवाले पार्टीको वैधानिकता जोगाउनेबारे निर्वाचन आयोगसँग कुराकानी भइरहेको बताएका थिए ।

 

अब देउवाले निर्वाचन आयोगको सहारामा महाधिवेशन सार्ने तयारी गरेको युवा नेताको बुझाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ मा विशेष महाधिवेशन भएपनि गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । बुधबार बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा सामू पौडेलले विशेष अधिवेशनको प्रस्ताव राखेका थिए । क्रियाशील सदस्यता विवादको समाधान नहुँदासम्म पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशनको प्रस्ताव राखेको पौडेलको भनाइ छ ।

पार्टीको वैधानिकता जोखिममा पारेर अन्य विकल्पमा म्याद थप्ने काममा आफ्नो समर्थन नहुने पौडेलको अडान छ । तर पौडेलले पक्षले पार्टीको वैधानिकतालाई कुनै असर नपर्ने गरेर नयाँ विकल्प ल्याएको अवस्थामा समर्थन रहने बताएको छ । पौडेल पक्षीय नेता अर्जननरसिंह केसीले भने, ‘हरेक विकल्पमाथि छलफल गरेर एउटा निचोडमा पुग्नुपर्छ । तर, सभापतिले संविधानमा उल्लेख गरेको कुराको प्रत्याभूति र ग्यारेन्टी लिन सक्नुपर्छ ।’

 


संविधानमा उल्लेख गरेका कुरामा पार्टीको अस्तित्वमाथि कुनै प्रश्न हुँदैन भन्ने कुराको ग्यारेन्टी भए आफूहरु सबै विकल्पमा तयार रहेको उनको भनाइ छ । विशेष महाधिवेशन प्रस्तावलाई लिएर आफू निकट नेताबाटै विरोध भएपछि पौडेल अन्य विकल्पमा जान पनि लचिलो भएको बुझिएको छ । पौडेल समूहबाट सभापतिका आकांक्षी देखिएका दोस्रो तहका नेताहरु विशेष महाधिवेशनको पक्षमा छैनन् ।

शशांक कोइराला नै महाधिवेशन सार्ने पक्षमा देखिएपछि पौडेलको विशेष महाधिवेशनको प्रस्ताव अलपत्र पर्ने देखिएको छ । विशेष परिस्थितिमा देउवा र शशांक एक ठाउँमा उभिने गरेको पाइन्छ । देउवाले ७५ बैशाखमा पदाधिकारी मनोनयन गर्दा पनि शशांकले देउवालाई साथ दिएका थिए । पौडेल पक्षले ‘नोट आफ डिसेन्ट’ लेख्दा पनि शशांक देउवाकै पक्षमा उभिएका थिए ।

पार्टीमाथि संवैधानिक र कानुनी संकट खडा हुने परिस्थिति बनेपछि देउवा र शशांकलाई फेरि एक ठाउँमा उभ्याइदिएको छ । पौडेलले भने भदौ २३ पछि वर्तमान कार्यसमिति स्वीकार्य नहुने बताउँदै आएका छन् । तर शशांक कोइराला कानुनी छिद्र खोजेर मंसिरमा महाधिवेशन सार्ने गृहकार्यमा जुटेको पाइन्छ ।

जसले देउवा र कोइरालालाई एक ठाउँमा ल्याइदिएको देखिन्छ । कोइराला निकट स्रोतले भन्यो, ‘डाक्टरसाहेबले यथार्थ कुरा गर्नुहुन्छ । अहिले अवस्थामा भदौ १६ गते महाधिवेशन हुँदैन भन्ने प्रस्ट छ । अब मंसिरभन्दा अगाडि महाधिवेशन हुने पक्का छ । त्यसैले उहाँले मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्नु भएको हो ।’ 

स्रोतका अनुसार क्रियाशील सदस्यता र कोरोना महामारी र आसोज–कात्तिकमा पर्ने चाडपर्वका कारण मंसिरअघि महाधिवेशन हुन नसक्ने कोइरालाको बुझाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप