शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

महाधिवेशन र सरकार सञ्चालनबारे युवा नेताले देउवालाई के–के दिए सुझाव ?

शुक्रबार, २२ साउन २०७८, २३ : ०३
शुक्रबार, २२ साउन २०७८

नेपाली काँग्रेसका ९ जना युवा नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औँ महाधिवेशन र सरकार सञ्चालनमा सन्दर्भमा सुझाव दिएका छन् । शुक्रबार साँझ देउवालाई भेट्न युवा नेताहरु बालुवाटार पुगेका थिए ।

नेताहरू डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार,  सरिता प्रसाईं, रामकृष्ण यादव बालुवाटार पुगेका थिए । देउवासँगको भेटपछि नेता परियारले रातोपाटीलाई बताए अनुसार युवा नेताहरूले महाधिवेशनको सुनिश्चितताका लागि देउवासँग भेटवार्ता गरेका थियो ।

उनले भने, 'महाधिवेशनको सुनिश्चितताका लागि सभापतिको तयार के छ ? अहिलेसम्म महाधिवेशनको खाका किन आउन सकेको छैन ? के मा अलमलमा भइरहेको छ भनेर हामीले सोधेका छौँ ।' महाधिवेशन हुने अवस्था नदेखिएको भन्दै पार्टीको वैधानिकताको बारेमा निर्वाचन आयोगसँग कुराकानी गर्ने देउवाले जवाफ दिएका थिए ।

'साथीहरूसँग छलफल गर्छु । जे हुन्छ, पार्टीमा सबैको सहमतिबाट निर्णय लिन्छु । कोरोना महामारीको बढेको छ । हाम्रो पहिलो प्राथमिकता जनताका जीउधनको सुरक्षा हो । पहिले त मान्छे बाँच्नुपर्छ,' देउवाको भनाइ उद्धृत गर्दै परियारले भने ।

महामन्त्री शशांक कोइरालाले मङ्सिरमा महाधिवेशन गर्ने भनेको देउवाले युवा नेतालाई सुनाएका थिए । तर युवा नेताहरूले भदौ १६ गतेअघि वडा अधिवेशन प्रारम्भ गर्नुपर्ने सुझाएका थिए । त्यसका लागि कार्यतालिका सार्वजनिक गर्न युवा नेताहरूको माग थियो । जवाफमा देउवाले साउन २८ गतेको केन्द्रीय समितिबाट सोही अनुसार कार्यतालिका आउने बताए ।

यस्तै युवा नेताहरूले सरकार सञ्चालनका विषयमा पनि सुझाव दिएका थिए । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ ल्याउने कुरा र कोरोना खोपलाई सरकारले दिएको प्राथमिकताले राम्रो सन्देश गएको युवा नेताहरूको भनाइ थियो । त्यसलाई कार्यान्वयन गर्न पनि उनीहरूले प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

उनीहरूले चाडै भूमि आयोग गठन गर्ने पनि सुझाव दिएका छन् । 'तपाईंकै पालामा विगतमा कमैया मुक्ति पनि गर्नुभयो । तपाईंकै पालामा हलिया मुक्ति पनि गर्नुभयो । अहिले लामो समयदेखि सुकुम्बासीको देशव्यापी समस्या छ । अधिकार सम्पन्न आयोग बनाएर यो समस्या यथाशीघ्र सुकुम्बासी समस्या समाधान गर्नुपर्छ । यति गर्न सक्दा पनि राम्रो हुन्छ,'  भेटमा परियारले भनेका थिए ।

बालुवाटारमा गगन थापाले  पूर्व सरकारका कारण जनतामा निराशा रहेकोले आशा जगाउने कार्य र निर्णय गर्न  देउवालाई सुझाव दिएका थिए।  ‘केपी ओली सरकारले जे जे गर्दा हामीले विरोध गर्‍यौ, जनताले विरोध गरे त्यो काम तपाईंको सरकारबाट पनि हुनुभएन ।  केपी ओलीकै गल्तीबाट हामीले अवसर पाएका छौँ । हामीलाई गल्ती गर्ने छुट छैन,' उनले भने ।

थापाले गठबन्धन र पार्टीको आन्तरिक विषय मिलाउने कुरामा जोड दिएका थिए । थापाले भने, केपी ओलीले पार्टी व्यवस्थापन गर्न नसक्दा सरकार पनि ढल्यो र पार्टी पनि यो अवस्थामा पुगेको छ । यस कुरामा प्रधानमन्त्रीले ध्यान दिन जरुरी हुन्छ ।

प्रधानमन्त्रीको काम कारबाहीबाट आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव गर्ने भन्दै अवसर र चुनौतीका बीचमा क्षमता देखाउने समय आएको थापाको भनाइ थियो । अन्य नेताहरूले पनि सोही आसयको सुझाव दिएका थिए ।

आफूहरूको सुझावलाई देउवाले सकारात्मक रूपमा लिएको परियारको भनाइ छ । देउवाले सल्लाह सुझाव दिनु र आवश्यक परे खबरदारी पनि गर्न युवा नेतालाई भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप