प्रधानमन्त्रीको 'कुर्सी छाडेर' देउवाले दिन खोजेको सन्देश
काठमाडौं । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा केही फरक दृश्य देखियो । दुई जना पूर्व प्रधानमन्त्री (प्रचण्ड र नेपाल) र दुई जना पूर्वउपप्रधानमन्त्री (यादव र केसी) सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ । बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् ।
गठबन्धनका शीर्ष नेताहरू सबै समान रहेको सन्देश दिन प्रधानमन्त्री देउवा सोफामा बसेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी (तत्कालीन नेकपा) का आफू समान नेताहरूको अस्तित्व स्वीकार गर्न नसक्दा उत्पन्न परिस्थितिबाट देउवाले पाठ सिकेको देखिन्छ ।
ओलीले तत्कालीन नेकपामा प्रचण्ड र माधव नेपालले आफूहरूको अपमान हुने हर्कत देखाएको गुनासो गरेको सुनिन्थ्यो । नेकपामा ओलीले आफू बस्ने ठाउँबाट प्रचण्डको कुर्सी हटाइदिएको विषयले निकै चर्चा पाएको थियो ।
तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए । माधव नेपालले एमाले हुँदै नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो गरेको पाइन्छ ।
यो कुरालाई नजिकबाट नियालेका देउवाले प्रधानमन्त्री बस्ने कुर्सी छोडेर सम्मान भाव सन्देश दिन खोजेको देखिन्छ । संसदमा एक तिहाइ पनि सांसदको उपस्थिति नभएको अवस्थामा प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरको सहयोगमा देउवा प्रधानमन्त्री बनेका थिए । उनीहरूको साथ र सहयोग बिना सरकार टिक्ने अवस्था नभएकाले पनि देउवाले समानको व्यवहार देखाएको बुझ्न गाह्रो छैन ।
देउवाले दिन खोजेको सन्देशबारे काँग्रेसका एक जना पदाधिकारीले रातोपाटीसँग भने,'केपी ओलीजीले आफू सम्मानका प्रचण्डजी र माधवजीको मान राख्न नसक्दा दुई तिहाइको सरकार सकियो । यो कुरा प्रधानमन्त्रीज्यूले राम्रोसँग बुझ्नु भएको छ । काँग्रेसले राम्रोसँग बुझेको छ ।'
कसैको अपमान गरेर आनन्द दिने स्वभाव प्रधानमन्त्री देउवाका नरहेको उनको भनाइ छ । 'बेलाबेला झोक्किएपनि पार्टीभित्र र बाहिर कसैको अपमान गरेर आनन्द लिने उहाँको स्वभाव होइन । सबैको सम्मान राख्ने र समन्वयकारी स्वभावको मान्छे हो,' उनले देउवाको स्वभाव सुनाए । गठबन्धनको शीर्ष नेतासँगै सोफामा बसेर प्रधानमन्त्री देउवाले महत्त्वपूर्ण सन्देश दिएको उनको भनाइ छ ।
उनले भने,'गठबन्धनलाई सुदृढ र दिगो बनाउन प्रधानमन्त्रीज्यूले महत्त्वपूर्ण सन्देश दिनुभयो । यो सन्देश सरकार सञ्चालनमा पनि देखाउनु जरुरी छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण