सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जसपा विवाद : सर्वोच्चको आशमा महन्थ ठाकुर, हेड काउन्टबारे भोलि मात्र निर्णय

शनिबार, ०९ साउन २०७८, १७ : २०
शनिबार, ०९ साउन २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न 'हेड काउन्ट'का लागि निर्वाचन आयोगले एकताका समयमा गठित जसपाका कार्यकारिणी सदस्यहरूलाई आयोगमा उपस्थित हुन दिएको आदेश दिएको छ । यसका विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको छ ।

अदालतले निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अन्तरिम आदेश दिने आशाबारे ठाकुर पक्षको आज बसेको कार्यकारिणी समितिमा समेत छलफल भएको हो ।  आयोगले हेडकाउन्टका लागि बोलाएपछि अध्यक्ष ठाकुरले आज कार्यकारिणी समितिको बैठक बोलाएका थिए । बबरमहलमा बोलाइएको बैठकमा अधिकांश कार्यकारिणी सदस्यहरूले सोमबार निर्वाचन आयोग जाने कि नजाने जिज्ञासा राखेका थिए । अध्यक्ष ठाकुरले 'भोलि पाँच बजेसम्म सर्वोच्च अदालतको आदेशलाई पर्खौँ, जे आदेश दिन्छ, त्यसको आधारमा निर्णय लिनेछौँ' भन्ने जवाफ दिएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले रातोपाटीलाई बताए । 

उनले भने, 'हामीलाई विश्वास छ, निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अदालतले स्टे अर्डर जारी गर्छ । यदि दिएन भने त्यसपछि सोमबार के गर्ने भन्ने विषयमा आजको बैठकमा कुराकानी भएको छ ।’

सो मुद्दाको भोलि सर्वोच्चमा पेसी छ । सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठकले सोमबारका लागि एउटा निर्णय गर्ने बताइएको छ । भोलि चार बजेका लागि पुनः कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

आजको बैठकमा ठाकुर पक्षका १९ कार्यकारिणी सदस्यहरूमध्ये जनामध्ये गोविन्द चौधरी (रौतहट) र वृषेशचन्द्र लाल अनुपस्थित थिए । सधैँ बैठकमा अनुपस्थित हुँदै आएका राजकिशोर यादव भने आजको बैठकमा आएका थिए । उनी आएर एक छिन बैठकमा बसेको र ठाकुरसँग छुट्टै कुराकानी गरेर त्यहाँबाट निस्केको पार्टी स्रोतले जनाएको छ । 

​यता, बैठकमा सहभागी कार्यकारिणी सदस्य मनिष सुमनले भने आजको बैठक एजेन्डामा नै प्रवेश नगरेको बताउँदै भोलि चार बजेका लागि बैठकले केही निर्णय गर्ने सम्भावना रहेको प्रतिक्रिया दिए ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप