बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका कार्यकारिणी सदस्य तानातानमा, महन्थद्वारा राजकिशोरलाई मन्त्रीको अफर

शनिबार, ०९ साउन २०७८, ०८ : ०५
शनिबार, ०९ साउन २०७८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गर्ने भएपछि अहिले दुवै पक्षमा सदस्यहरुको तानातान चल्न थालेको छ ।

जसपाको महन्थ ठाकुर पक्षसँग कार्यकारिणी समितिका २० जना सदस्यमात्र छन् । ठाकुर पक्षलाई बहुमत जुटाउन र उपेन्द्र यादवलाई आफ्नो पक्षमा रहेका सदस्य जोगाउन जरुरी रहेकै समयमा केही सदस्यहरु तानातानमा परेका हुन् ।

त्यसो त, ठाकुर पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत नरहेको र निर्वाचन आयोगले बहुमत रहेको पक्षलाई नै आधिकारिकता दिन सक्ने आँकलन गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ ।

आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन सूचित गरेको विरुद्ध अध्यक्ष ठाकुरकै तर्फबाट शुक्रबार रिट निवेदन पेस गरिएको हो ।तर, निर्वाचन आयोगले बोलाएको समयसम्म बहुमत जुटाउनका लागि पहल गर्ने रणनीतिलाई पनि ठाकुर पक्षले महत्व दिएको छ ।

जसपाका दुवै पक्षका नेताहरु आफ्ना विभिन्न च्यानल प्रयोग गरेर कार्यकारिणी समितिका सदस्यहरुसँग सम्पर्क गरिरहेका छन् । उपत्यका बाहिर रहेका कार्यकारिणी समितिका सदस्यहरुलाई काठमाडौं आउन भनिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक शनिबार ११ बजेका लागि राखेका छन् । त्यसमा सबैलाई अनिवार्य उपस्थित हुन भनिएको छ । अध्यक्ष ठाकुरका सहयोगी सत्येन्द्र मिश्रले जिल्लातिर रहेका कार्यकारिणी सदस्यहरुलाई सम्पर्क गरी काठमाडौं आउन आग्रह गरेका छन् ।

ठाकुर पक्षका नेता मुकेश मिश्रले आफूहरुसँग कार्यकारिणी समितिमा बहुमत रहेको दाबी गरे । ‘कोसँग बहुमत छ र कोसँग छैन भन्ने कुरा साउन ११ गते निर्वाचन आयोगमा तय हुन्छ ।’ तर पछिल्लो समय ठाकुर पक्षको साथ छोड्ने क्रम बढ्न थालेको छ । महन्थ ठाकुरकै पक्षमा रहेकी कार्यकारिणी सदस्य अमृता अग्रहरी हाल उपेन्द्र यादवको पक्षमा गइसकेकी छन् ।

राजकिशोर यादव, गोविन्द चौधरी, मनिष सुमन लगायतले पनि उपेन्द्र यादव पक्षतिर झुकाव राख्न थालेको बताइन्छ तर उनीहरु हालसम्म कसैको पक्षमा खुलेका छैनन् । स्रोतका अनुसार उनीहरु जहाँ जसपा हुन्छ, त्यहीँ आफूहरु रहने भन्दै निर्वाचन आयोगको फैसलाको प्रतीक्षामा छन् । आयोगले जुन पक्षलाई मान्यता दिन्छ, त्यही पक्षमा लाग्ने सोच बनाएर उनीहरु बसेको स्रोतको भनाइ छ ।

यता, महन्थ ठाकुर पक्षले राजकिशोर यादवलाई तान्न प्रयास गरिरहेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पटक पटक आफै गएर उनीसँग भेट गरेका छन् भने महन्थ ठाकुरले पनि आफ्ना मान्छे पठाएर कुरा गरेका छन् । यहाँसम्म कि, महन्थ ठाकुरले राजकिशोर यादवलाई मन्त्री बनाइदिने प्रस्तावसमेत गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार ठाकुर निकट युवा नेता ज्ञानेन्द्र झाले राजकिशोर यादवलाई फोन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटमा मन्त्री बनाउन अध्यक्ष ठाकुरका तर्फबाट प्रस्ताव गरेको जानकारी गराएका थिए । अध्यक्ष ठाकुरले यसबारे देउवासँग समेत कुराकानी गरिसकेको भन्दै राजकिशोर यादवलाई आफूतिर तान्न पहल गरेको बताइन्छ । ठाकुर पक्षको प्रस्तावबारे राजकिशोर यादवले भने कुनै प्रतिकृया दिन मानेनन् । 

यता, उपेन्द्र यादव पक्षलाई पनि आफूतिर रहेका कार्यकारिणी समितिका सदस्यलाई जोगाउन धौधौ भइरहेको छ । महन्थ ठाकुर पक्षले केही सदस्यलाई तान्न सक्ने भन्दै उपेन्द्र यादवले सबैप्रति निगरानी बढाएका छन् । उनले पनि आफ्ना पक्षका कार्यकारिणी सदस्यलाई शनिबारसम्म काठमाडौं आउन खबर पठाएका छन् ।

महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादव पक्षका नेताहरुसँग विभिन्न च्यानलबाट सम्पर्क गरिरहेका छन् । यद्यपि रातोपाटीसँग कुरा गर्दै महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य अनिलकुमार झाले आफूहरु नागरिकता लिएर निर्वाचन आयोग नजाने बताएका थिए ।

उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य

१.डा बाबुराम भट्टराई

२.उपेन्द्र यादव

३.अशोक राई

४.राजेन्द्रप्रसाद श्रेष्ठ

५.नवराज सुवेदी

६.परशुराम खापुङ

७.बाबुराम कार्की

८.रकम चेम्जोङ

९.रेणुकुमार यादव

१०.लालबाबु राउत

११.हिसिला यमी

१२.हेमराज राई

१३.गंगानारायण श्रेष्ठ

१४.रणध्वज कन्दङ्वा

१५.प्रकाश अधिकारी

१६ इस्तियाक राइ

१७.दुर्गा सोब

१८.परशुराम बस्नेत

१९.प्रशात सिंह

२०.भक्तबहादुर शाह

२१.सुशिल श्रेष्ठ

२२.विजयकुमार यादव

२३.रामसहाय यादव

२४.दानबहादुर विश्वकर्मा

२५.डम्बर वल्लव खतिवडा

२६.महेन्द्रराय यादव

२७.मृगेन्द्र कुमार सिंह

२८.नवलकिशोर साह

२९.रामनरेश यादव

३०.रमेशप्रसाद यादव

३१.गज्जाधर रोहित यादव

३२.अमृता अग्रहरी

महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य

१.महन्थ ठाकुर

२.राजेन्द्र महतो

३.शरतसिंह भण्डारी

४.अनिलकुमार झा

५.राजकिशोर यादव

६.सर्वेन्द्रनाथ शुक्ला

७.वृषेशचन्द्र लाल

८.गोविन्द चौधरी

९.जितेन्द्रप्रसाद सोनार

१०.लक्ष्मणलाल कर्ण

११.उमाकान्त चौधरी

१२.चन्दा चौधरी

१३.मनिष कुमार सुमन

१४.रेशम चाधैधरी

१५.राजकुमार लेखी

१६.केशव झा

१७.एकवाल अहमद

१८.निर्जला राउत

१९.रामकुमार ओझा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप