बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन सम्मेलन : अब अनलाइनबाट मतदान, प्रतिनिधि शुल्क शून्य

आइतबार, ०३ साउन २०७८, ०९ : ०३
आइतबार, ०३ साउन २०७८

विश्व सम्मेलनको नाममा करौँडो खर्चिँदै आएको गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले यसपटक परम्परा सच्याएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको विश्व सम्मेलन नेपालको तारे होटलमा हुँदै आएको थियो । सम्मेलनका क्रममा होटलमा विवाद, होहल्ला र तोडफोडको घटनासमेत बाहिरिने गरेका थिए । २०७६ असोजमा भएको विश्व सम्मेलनका क्रममा प्रतिनिधिले होटल हायातको फर्निचर नै तोडफोड भएपछि एनआरएनएको चर्को आलोचना भएको थियो ।

राजनीतिक पार्टीको आशीर्वादमा कुल आचार्य र कुमार पन्त प्यानल बनाएर चुनाव लडेको र मतदान प्रक्रियामा ढिलाइ गरेर धाँधली गर्न खोजेको आरोप लगाउँदै आक्रोशित एनआरएनएहरुले होटल परिसरमा राखिएका कुर्सी तोडफोड गरेका थिए । उनीहरू होहल्ला र नाराबाजीसँगै तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप नै गर्नुपरेको थियो । अध्यक्षमा निर्वाचित भएसँगै कुमार पन्तले निर्वाचन प्रणाली सुधार्ने र सबैको एनआरएनए बनाउने गरी सदस्यता शुल्क निःशुल्क गर्ने प्रतिबद्धता जनाएका थिए । उनको प्रतिबद्धताअनुसार हाललाई निर्वाचनमा भाग लिने प्रतिनिधिहरुको शुल्क नलिने निर्णय भएको छ । यद्यपि, निःशुल्क सदस्यताको विषयले भने अन्तिम रुप पाउन बाँकी नै छ ।

​शनिबार भर्चुअल माध्यमबाट भएको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले आगामी अक्टोबर २३ देखि २८ सम्म संघको १० औँ विश्व सम्मेलन गर्ने निर्णय भएको बताए । बैठकपछि प्रवक्ता डीबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा सम्मेलन (साधारणसभा) आयोजनाका लागि अध्यक्ष पन्तको संयोजकत्वमा आयोजक कमिटी गठन गर्ने निर्णय भएको उल्लेख गरिएको छ । उनका अनुसार अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरूको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय भएको छ ।

यस्तै विगतमा प्रतिनिधिले २ सय डलरसम्म शुल्क तिर्नुपर्नेमा अब यो नियम हटेको छ । यस्तै निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको प्रवक्ता क्षेत्रीले बताए ।

विश्वका ८३ देशमा ८० हजारको हाराहारीमा एनआरएनएका सदस्य रहेका छन् । सदस्यता शुल्क निःशुल्क गर्ने योजना कार्यान्वयनमा आएपछि सदस्य ह्वात्तै बढ्ने संघको विश्वास छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप