इटालीको भाग्य बदल्ने मान्चिनी
माइका रिचार्डस्
गत संस्करणको युरोकप चलिरहेका बेला इटालीलाई लिएर केही हल्लाखल्ला भएको थियो । यो विषय हामीले चासोका साथ नियालिरहेका थियौँ किनभने प्रिमियर लिगमा एउटा ठूलो पात्र आउँदैछन् भन्ने थाहा थियो ।
यो सबै हल्लाखल्ला इटलियन प्रशिक्षक एन्टोनियो कोन्टेबारे भएको थियो । उनले प्रतियोगिता सकिनुअघि नै चेल्सीको प्रशिक्षक बन्ने सहमति गरेका थिए । हामी उनको धैर्यता हेर्दै रमाइरहेका थियौँ ।
उनको टोलीले राम्रो फुटबल खेल्यो । उनको भूमिका र विगतको रेकर्डले पनि प्रिमियर लिगमा सफल हुनेछन् भन्ने सङ्केत गरेको थियो ।
मैले जब इटालीको खेल यस युरोकपमा हेरेँ अनि वर्तमान प्रशिक्षकलाई लिएर यस्तै हल्लाखल्ला किन भएनन् भनेर छक्क परेँ । प्रिमियर लिग क्लबहरूले यी प्रशिक्षकलाई आबद्ध गर्न सक्नेजति किन गरेनन् ?
मैले रोबर्टो मान्चिनीका विषयमा बोल्दा केही मानिसहरूले एकपक्षीय भएको आरोप लगाउनसक्छन् तर मेरो विचारसँग उनी र मेरो सम्बन्धको भने कुनै अर्थ छैन ।
तपाईं विश्वका एक उत्कृष्ट प्रशिक्षकलाई उनको उत्कृष्ट समयमा हेर्दै हुनुहुन्छ । र, यस्ता प्रशिक्षकलाई टोटेनह्याम र एभर्टनजस्ता क्लबले किन निशाना बनाएनन् भन्ने मलाई लाग्छ ।
राम्रा प्रशिक्षकबाट महान् प्रशिक्षकलाई केही कुराले अलग राख्छ भने त्यो खेलाडीमा सुधार ल्याउनसक्ने क्षमताले नै हो । म्यानचेस्टर सिटीमा मान्चिनी छिर्दै गर्दाको क्षण मलाई याद छ, उनी र मबीच आँखा जुधेन, किनकि हामी दुवै पूर्णतः फरक चरित्रका थियौँ । तर चाँडै नै यसले काम ग¥यो ।
उनका लागि खेल्न तपाईंले उनको ध्यानलाई विस्तृतमा बुझ्न सक्नुपर्छ । तपाईंले त्यही गर्नुपर्छ जे उनी चाहन्छन् किनभने तपाईंले त्यस्तो गर्नुभएन भने तपाईंले खेल्न पाउनुहुन्न ।
उनी निकै कठोर छन् । उनले तपाईंलाई मानसिक रूपमै चुनौती दिन्छन् । हाम्रो टोलीका केही खेलाडीहरूलाई लागेको थियो– यस्तो पद्धतिले त फेरि हामीलाई स्कुलमै फर्काउँछ ।
सिटीमा मान्चिनीले सबै बदले । दिउँसो मध्यान्हमा अभ्यास सारियो । क्यान्टिनमा हामीले खाने तरिका फरक थियो । खेलाडीहरूले प्लेटमा के राखेका छन् भनेर उनी हेर्दै हिँड्थे । सधैँ सलाद खाने यी व्यक्ति सधैँ राम्रो खानाको महत्त्व बुझाउँथे ।
काम बाहेकको समय कसले के गर्छ भन्नेमा उनलाई चासो हुँदैन थियो । तर किन धेरै मानिस बियर पिउन रुचाउँछन् भन्ने उनले कहिल्यै बुझेनन् ।
उनका लागि बियर पिउनु अर्कै ग्रहका मानिसको योजनाजस्तो थियो । उनी ५६ वर्षको उमेरमा पनि कस्ता छन्, यसैलाई हेरेर उनी स्वास्थमा कति ध्यान दिन्छन् भन्ने बुझ्न सकिन्छ ।
उनलाई तपाईं जिम गर्दै गरेको अवस्थामा देख्नुहुन्थ्यो । उनीसँग आफ्नो रोड बाइक थियो र कुद्न निस्कन्थेँ ।
उनले गर्ने ‘एब्स’ वर्कआउट थियो र उनी बक्सिङको अभ्यास गर्न पनि डर मान्दैन थिएँ । बढ्दो उमेरमा पनि सुगठित शरीर भएका मैले चिनेका उनीजस्ता अर्का व्यक्ति ग्रेमी सोउनेस (स्कटल्यान्डका पूर्वकप्तान) मात्रै हुन्, ६८ वर्षको उमेरमा पनि उनको शरीर दशौँ लाख डलरजस्तो बहुमूल्य देखिन्छ ।
मान्चिनी आफ्नो टोलीलाई माथिल्लो तहमा हेर्न चाहन्छन्, अपराजित हेर्न चाहन्छन् । यदि तपाईंले मान्चिनीको तरिकालाई पालना गर्नुभयो र उनीप्रति इमानदारी देखाउनुभयो भने उनी सधैँ तपाईंका पक्षमा खडा हुनेछन् । उनले कहिल्यै आफूलाई सहयोग गर्नेहरूलाई बिर्संदैनन् । इटालीको प्रशिक्षण टोलीमा पनि तपाईंले त्यो देख्नुहुन्छ ।
आफ्ना पुराना स्ट्राइकिङ पार्टनर गियान लुका भियल्लीसँगै उनी उभिएको देख्नु मेरा लागि ऐतिहासिक पाठ हो । मान्चिनीले हामी सबैलाई आफू उमेरमा छँदा उच्च स्तरको खेलाडी रहेको बताउँथे तर आफूलाई कहिल्यै अनटचेबल बनाउन सकेनन् । ‘तिम्रो टेक्निक कहाँ छ ?’ उनले हाँस्दै भन्थे ।
मेरो घुँडामा समस्या देखियो तर विशेषज्ञलाई देखाउनका लागि इटाली जानुपर्ने भयो । केही प्रशिक्षकका हकमा तपाईं घाइते हुनासाथ उनीहरूको नजर र मस्तिष्कबाहिर पुग्नुहुन्छ । तर म इटाली पुग्नासाथ मान्चिनीले फोन गरेर सोधेका थिए, ‘सबै ठीक छ ? केही आवश्यक छ ? आवश्यक पर्छ भने म त्यहाँ उडेर आउँछु ?’ उनले भनेका थिए । यस्तो असल स्वभावलाई मैले कहिल्यै बिर्सिएको छैन ।
तर यसलाई एकातर्फ राख्नुस्, अनि उनको रेकर्ड हेर्नुस् । उनले फियोरेन्टिना र लोजियोमा इटालियन कप जिते । इन्टर मिलानलाई तीन पटक सिरिए ए च्याम्पियन बनाए । गालातासारेबाट टर्कीस् कप जिते । अनि मैले म्यानचेस्टर सिटीको उपलब्धि त यहाँ उल्लेख नै गरेको छैन ।
उनी सर एलेक्स फग्र्युसनसँग हेड–टु हेड भए र जिते । हामी पहाड चढ्नसक्छौँ र अहिले तपाईंले क्लबमा देखिरहेको खुसी र सफलताको आधार बिछ्याउन सक्छौ भनेर मान्चिनीले नै हामीलाई विश्वस्त गराएका थिए । अन्य उत्कृष्ट प्रशिक्षकजस्तै उनी सधैँ ट्याक्टिकल्ली रूपमा खेलभन्दा अघि छन् र इटालीमा आफ्नो अवसरको मज्जा लिइरहनेछन् ।
यदि इङ्ल्यान्डले यो प्रतियोगिता जित्न सकेन भने मेरो हृदय इटालीको पक्षमा जानेछ ।
अघिल्लो विश्वकपमा छनोट हुन नसकेको, कुनै सुपर स्टार नभएको टोलीको भाग्य बदल्नका लागि पछिल्ला केही वर्ष मान्चिनीले जे गरेका छन्, त्यो अद्भूत छ ।
उनी किन माथिल्लो कोस्टकभित्र अटाउँछन् ? उनले यो फेरि एक पटक प्रमाणित गरेका छन् । म बुझ्न सक्दिनँ किन प्रिमियर लिग क्लबहरूले उनलाई यही तरिकाले हेरेनन् ? के हामी उनका उपलब्धिको सम्मान गर्छौं ? म यसमा ढुक्क छैन । तर उनीसँगै काम गरेकाले उनी पूर्णत ‘आउटस्ट्यान्डिङ छन्’ भन्नसक्छु ।
उनकै कारण इटाली फेरि एकपटक प्रतियोगिताको सम्भावित विजेताजस्तो देखिएको छ ।
(माइका रिचर्डस् इङल्यान्डका पूर्वखेलाडी हुन् । उनले २००५ देखि २०१५ सम्म १० वर्ष म्यानचेस्टर सिटीबाट खेलेका थिए । यो लेख बेलायती सञ्चारमाध्यम डेली मेलबाट अनुवाद गरिएको हो ।)