मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विपद्का बेला हेलम्बुमा पुगेन सरकार : जथाभावी चन्दा उठाउनेलाई कारवाही गर्ने प्रशासनको चेतावनी

प्रजिअको दावी, ‘हामीले पर्याप्त सामग्री पठाएका छौँ’
शनिबार, ०५ असार २०७८, १४ : २६
शनिबार, ०५ असार २०७८

मेलम्ची नदीमा आएको बाढीको विपत्तिले तहसनहस पारिरहेको हेलम्बु क्षेत्रमा ४ दिन बितिसक्दा पनि सरकारको मुख नदेखेको स्थानीयले गुनासो गरेका छन् । ​नदी छेउछाउ रहेका दर्जनौँ घर बाढीले बगाएको छ भने हेलम्बु क्षेत्रमा बाढीबाट झन्डै ३ सय ५० घरपरिवार प्रभावित भएको हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितले रातोपाटीलाई जानकारी दिइन् ।

असार १ गतेदेखि निरन्तर मेलम्चीमा आएको बाढीले निरन्तर क्षति पु-याइरहेको हेलम्बुमा गएराति आएको बाढीले ३ तले प्रहरी कार्यालय भवन र एउटा बिद्यालयको भवन ढालेको छ । स्थानीयहरु अस्थायी बसोबासका लागि त्रिपाल, पाल, खाद्यान्न लगायतको आशामा बसेपनि सरकारले अहिलेसम्म उपस्थिति नदेखाएको उपाध्यक्ष पण्डितले जानकारी दिइन् ।

उद्धारका लागि गएको नेपाली सेनाबाहेक अन्य सरकारी निकायको अनुहार हेलम्बुमा नदेखेको उनको भनाइ छ ।

केही सामाजिक संस्थाहरुले राहत ल्याएपनि पर्याप्त नभएको उनले बताइन् । अहिले हेलम्बु पुग्न ठाउँ ठाउँमा बाटो भत्किएका कारण गाडी जानसक्ने अवस्था नभएकोले हेलिकोप्टरबाट बाहेक अन्य माध्यमबाट राहत पु¥याउन समेत मुस्किल परेको छ । हेलम्बु क्षेत्रमा अहिलेसम्म बाढीबाट कति क्षति भयो एकिन गर्ने अवस्था नभएको उपाध्यक्ष पण्डितले बताइन् । उनले भनिन्, ‘एकैठाउँमा भए पो यति क्षति भयो भन्नु । बाढीले हरेक दिन ठाउँ ठाउँमा क्षति पु-याएरहेको छ । अहिले क्षतिको एकिन गर्ने अवस्था नै छैन ।’

घर गुमाएका परिवार यतिबेला माथिल्लो भागमा गएका छन् । तर उनीहरुलाई अस्थायी रुपमा बसोबास गराउन पनि मुस्किल छ । गाउँपालिका उपाध्यक्ष पण्डितले भनिन्, ‘यहाँ त बेहाल छ, न टेन्ट छ, न बस्ने ठाउँ छ । बिजुली बत्ती छैन, त्रिपाल, टेन्ट छैन । नदी छेउछाउमा हुनेहरु रातारात भागाभाग गर्नुपर्ने अवस्था छ । केहीलाई त्रिपाल र टेन्ट हालेर राखिएको छ ।’

नदीले घर भत्काएकाहरुलाई खाद्यान्नको समस्या रहेको छ भने पर्याप्त मात्रामा टेन्ट नभएका कारण अस्थायी बसोबासको व्यवस्था मिलाउन पनि समस्या भएको छ । विपत्तिको बेलामा पनि सरकारले सहयोग नगरेको  उपाध्यक्ष पण्डितको गुनासो छ । उनले भनिन्, ‘हेलम्बुको पानी काठमाडौं लाने बेलामा त सरकारले हामीलाई सोधेन । सरकारले हामीलाई के सहयोग गर्ला र ? राज्यले हेला गरेको ठाउँ हो हेलम्बु । मेलम्ची बाहेक अरु ठाउँको मतलब छैन ।’

स्थानीय भन्छन्, ‘सरकार आएन, गर्भवती महिलाको झन बिजोग हुने भो’

शुक्रबार मेलम्ची बाढीपीडित हेलम्बु गाउँपालिका १ तिम्बु, का आशा गुरुङ र उनका छिमेकीहरूले सहयोगको अपील गर्दै एक भिडियो सन्देश सार्वजनिक गरे । भिडियोमा उनीहरुले सहयोगका लागि अनुरोध गरेका छन् । आशा गुरुङ र उनका १० घर छिमेकी अहिले घर छोडेर नदीभन्दा माथिल्लो भागमा शरण लिन पुगेका छन् । विपत्तिको ४ दिन पुगिसक्दा पनि सरकारले नहेरेको उनीहरुको गुनासो छ ।


लबालिका भोकले तड्पिरहेको गुरुङले बताएकी छिन् । तिम्बुक्षेत्र अहिले सडक सञ्जालबाट सम्पर्क टुटेको छ भने नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध भएको छ ।

सो क्षेत्रमा केही महिलाहरु गर्भवती रहेको उनीहरुको प्रसूति हुने महिना पुगिसकेकोले उनीहरु आत्तिएर बसेका छन् । उनीहरुले तिम्बु क्षेत्रमा पुगेर सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् ।

तिम्बुका स्थानीय पासाङ घ्याल्बो लामाले सबैले मेलम्चीमा मात्र राहत दिने गरेपनि तिम्बुमा कोही नपुगेको बताए । तिम्बुका ११ घरधुरी पूरै विस्थापित भएको, बजारका अरु पनि भाग्नुपर्ने अवस्था रहेको बताए । तिम्बुका ५० घर अहिले जोखिममा रहेको उनीहरुको भनाइ छ ।

यसैबीच हेलम्बु गाउँपालिका स्थित चनौटेबाट ८ महिने गर्भवती महिलाको उद्धारका लागि सामाजिक सञ्जालमा अपिल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल भन्छन्, ‘हामीले पर्याप्त सामग्री पठाएका छौँ’

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने हेलम्बु क्षेत्रमा तत्कालका लागि पुग्ने गरी अत्यावश्यक सामग्री पठाएको दावी गरे । शुक्रबार बेलुकासम्म ३ फ्लाइट मार्फत खाद्यान्न, टेन्ट लगायतका सामग्री पठाएको उल्लेख गरे । उनले गाउँपालिका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेर सो ठाउँका लागि जे आवश्यक पर्छ त्यही सामग्री पठाइरहेको बताए । उनले भने, ‘बस्तीहरु छरिएर रहेको हुन्छ । संकटको बेलामा सबैतिर एकैसाथ पुग्न सकिँदैन । एकैठाउँमा सामान झा¥यो,  प्रभावित क्षेत्रमा तुरुन्त पुग्न बाटोको समस्या हुन सक्छ । सुरक्षाकर्मी खटिइरहेका छन् । राहत नपुग्ने भन्ने कुरा हुँदैन ।’

यसैवीच, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गर्र्दै हेलम्बु र मेलम्ची बाढी प्रभावित विस्थापितहरुलाई राहत दिन भन्दै आफूखुसी चन्दा संकलन नगर्न भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा र विपद्को समयमा अप्राकृतिक रुपमा बजार मूल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा कारवाही गर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ उपदफा १ को ख बमोजिम अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा र सोही ऐनको दफा १ को ख मा विपद्को समयमा अप्राकृतिक रुपमा बजारमूल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा वा गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

त्यसबारेको जानकारी गराउन नजिकको प्रहरी कार्यालयमा वा जिल्ला प्रशासन कार्यालयमा फोन गरी जानकारी गराउन भनिएको छ । 

प्रमुख जिल्ला अधिकारीले यसबारे प्रष्ट पार्दै भने, ‘हामीले सबैले राहत दिन नपाउने भनेका हैनौं, राहतका नाममा आफूखुसी पैसा उठाउन नपाउने भनेका हौँ । अहिले राहतका नाममा पैसा उठाउने र आफूखुसी बाँढ्ने काम भइरहेको छ । उनीहरुले एउटा प्रक्रिया अनुसार राहतका लागि सहयोग गर्न आवश्यक छ ।’

राहत वितरणमा सामाजिक संस्था सक्रिय

शुक्रबार हेलम्बु पुगेर राहत वितरण गर्नेले केही समूहले फोटो खिचेर लागेकोमा स्थानीयले चित्त दुखाएका छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यहाँका स्थानीयले एक बोरा चामल दिएर परिवार सबैजनाको फोटो खिचेर लगेको भन्दै आफूलाई गुनासो गरेको बताए । उनले सहयोग गर्दा मान्छेको स्वाभिमानसँग नखेल्न पनि आग्रह गरे ।

हेलम्बुमा राहतका लागि अहिले विभिन्न सामाजिक संस्थाहरु सक्रिय भएका छन्  ।

शुक्रबार नायिका श्वेता खड्का, हाम्रो टिम नेपाल, हन्ड्रेड ग्रुप लगायतको संस्थाको पहलमा काठमाडौंबाट हेलिकोप्टर मार्फत ११ लाख बराबरको खाद्य सामग्री, कपडा लगायतका सामग्री हेलम्बु पु¥याइएको थियो ।  उनीहरुले खाद्यान्न, पोर्टेबल सोलार,  टेन्ट, त्रिपाल, कार्टुन औषधी, स्लिपिङ ब्याग लायतका सामान पु¥याएका हुन् ।

यस्तै आशिका तामाङको पहलमा आशिका फाउन्डेसन, माओवादी केन्द्रको भातृ संगठन वाईसिएल लगायतले पनि हेलम्बुको तल्लो क्षेत्रमा खाद्यान्न लगायतको सहयोग पु¥याएका छन् ।

अहिले सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा पनि बाढी पहिरोको समस्या आएकोले सो क्षेत्रमा पनि राहत सामग्री पठाउनका लागि तयारी गरिरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप