मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड जिरो मेलम्ची : घरको तीन तलासम्म बाढीको लेदो, पीडितले सुनाए मध्यरातको कहालीलाग्दो यथार्थ

हेलिकोप्टरबाट उद्धार गरिएका राई भन्छन्– धन्न बाँचियो
बुधबार, ०२ असार २०७८, १८ : २४
बुधबार, ०२ असार २०७८

 सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहाल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।

स्थानीयवासी मच्छिन्द्र श्रेष्ठ बाढीले आफ्नो परिवारको उठीबास नै गराएको बताउँछन् । १० जनाको परिवार रहेका श्रेष्ठले ०७४ सालमा ऋण लिएर चार तले घर बनाएका थिए । मंगलबार लेदोसहित आएको बाढीले उनको घर डुबाएको छ ।

‘चार तले घरको एक तलामात्र देखिएको छ,’ रातोपाटीसँग उनले भने, ‘तीन तला पुरिएको छ ।’ करिब ४० लाख खर्च गरेर बनाएको घरको ऋणसमेत तिर्न बाँकी रहेको उनले सुनाए ।

‘अब त खाने, बस्ने नै ठेगान भएन,’ उनले भने, ‘कसरी गुजारा चल्छ होला ! केही सोच्नै सकेको छैन ।’

बाढी आउँदैछ भनेर हल्ला चल्न थालेपछि साँझ घर छाडेर आफूहरु सुरक्षित स्थानतिर गएकाले मानवीय क्षति हुन नपाएको उनले बताए ।

स्थानीयवासी नन्दाकुमारी श्रेष्ठ पनि बाढीले उठीबास लगाएको बताउँछिन् । उनले १० वर्षअघि जग्गा किनेर करिब ८ वर्षअघि घर बनाएको सुनाइन् ।

‘बैंकबाट ऋण लिएर घर बनाएको हो,’ उनले भनिन्, ‘त्यही घरमा एउटा सानो होटल गरेर गुजारा चलाउँदै आएका थियौं ।’

बाढीले घर डुबाएपछि ९ जनाको परिवारलाई कसरी गुजारा चलाउने भन्ने चिन्ता छ । ‘घरमा जानसक्ने अवस्था नै छैन, लेदो भरिएको छ,’ उनले भनिन्, ‘सामान पनि केही निकाल्न भ्याइएन, यस्तो होला भन्ने सोचेकै थिएन ।’

बाढीको यस्तो रुप होला र यतिसम्म बेहाल गराउला भनेर आफूहरुले कल्पना नै नगरेको उनले बताइन् । ‘पहिला पनि बाढी त आउँथ्यो,’ उनले भनिन्, ‘दुईचार घण्टा आउने हो, पहिलाको जस्तै त होला नि भनेर हिँडियो, घरसम्म बाढी आउँछ भनेर सोचेकै थिएनौँ ।’

अर्का स्थानीयवासी रन्जीतकुमार श्रेष्ठका अनुसार मंगलबार साँझ ६ बजेटबाट बाढी आउन थालेको थियो । तर राति १२ बजेर २० मिनेट जाँदा बाढीले धेरै क्षति पु¥याएको हो । 

‘त्यतिबेला बाढीले झोलुङ्गे पुल चुँडाल्यो, करिब १ बजेतिर ढलानको पुल पनि पल्टाइदियो,’ उनले भने ।

​बाढीको पूर्वसूचना बेलुकै पाएका कारण पनि ठुलो मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ । उनले भने, ‘थाहै नपाइ राति बाढी आएको भए बजार सखापै हुन्थ्यो, ठुलो मानवीय क्षति हुन्थ्यो । अहिले सम्पत्ति नाश भए पनि मानवीय क्षति हुन त पाएन नि ।’

धन्न बाँचियो : राजु राई

स्थानीयवासी राजु राई छतमा सुतेका थिए । मंगलबार बेलुका बजारमा बाढी आउने होहल्ला चलेको उनले पत्तो पाएनन् ।

झिसमिसेमा आँखा खुल्दा बजार पूरै लेदोसहितको बाढीमा डुबिसकेको थियो । उनले भने, ‘बाढीको पत्तो नै भएन, ढलान (छत)मा सुतिरहेको थिएँ, बिहान उठेर हेर्दा त बाढीले घेरिसकेछ ।’

घरको अधिकांश उचाई डुबेको अवस्था देख्दा एकपटक त कहाली लागेको उनले बताए । ‘सबैतिर पानी नै पानी छ, कता जाने ? त्यहीँ बसेँ,’ उनले भने, ‘मोबाइल पनि थिएन । मरिन्छ कि जस्तो लाग्यो ।’

धन्न बिहान सेना आएर हेलिकोप्टरबाट उद्धार गरेर आफूलाई बचाएको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप